पर्यटन प्रवर्द्धन भारतमा केन्द्रित गर्दै होटल व्यवसायी

March 22, 2015
  ‘लिभ टुरिजम’ सुविधा पाउने कर्मचारी लक्षित प्रवर्द्धनात्मक कार्यक्रमको योजना
चैत ७, काठमाडौं । मुख्य पर्यटकीय मौसममा समेत भारतीय पर्यटक आगमन बढ्न नसकेको तथ्याङ्क सार्वजनिक भइरहेका बेला होटल व्यवसायी पर्यटन प्रवर्द्धनका लागि भारततर्फ लाग्ने भएका छन् । भारत सरकारले आफ्ना कर्मचारीले प्राप्त गर्ने बिदा पर्यटन (लिभ टुरिजम)को गन्तव्य सूचीमा नेपाललाई समेत समावेश गर्ने प्रस्ताव गरेको छ । भारतमा झण्डै ६८ लाख कर्मचारीले ‘लिभ टुरिजम’का लागि भ्रमण अनुमति प्राप्त गर्छन् । उनीहरूलाई सरकारले मार्च/अप्रिलमा सो सुविधा उपलब्ध गराउँछ । भारत सरकारको उक्त निर्णयबाट फाइदा लिन नेपालका सरोकारवाला आफै सक्रिय हुनुपर्ने भन्दै होटल व्यवसायी पर्यटन प्रवर्द्धनका लागि भारततर्पm केन्द्रित हुन लागेको होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष अमरनाथ शाक्यले जानकारी दिए ।

भारत सरकारले बिदा पर्यटन अनुमति (एलटीसी) नीतिमा परिमार्जन गर्दै कर्मचारी बिदा मनाउन नेपालसहित भूटान, माल्दिभ्स र श्रीलङ्कासमेत जान सक्ने प्रस्ताव गरेको थियो । अहिले भारतका कर्मचारीलाई बिदा पर्यटनको सुविधा उपयोग गर्दा भारतभन्दा बाहिर जाने अनुमति छैन । ‘भारतबाट अन्य पर्यटकसँगै ठूलो सङ्ख्यामा बिदा मनाउन निस्कने कर्मचारीलाई नेपाल आकर्षित गर्न सकिन्छ,’ शाक्यले भने, ‘सोही मौकालाई उपयोग गर्न हान भारतका विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनका कार्यक्रम आयोजना गर्ने योजनामा छ ।’

हानले आप्mना क्षेत्रीय च्याप्टरहरूलाई परिचालन गर्दै छिमेकी मुलुकका प्रमुख शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको हानका कार्यकारी निर्देशक प्रवेश अर्यालले जानकारी दिए । ‘कोलकाता, सिलगुडी, गोरखपुरलगायत नजीकका शहरमा क्षेत्रीय च्याप्टरलाई परिचालन गरिनेछ,’ उनले भने, ‘दिल्ली, मुम्बईलगायत ठूला शहरमा भने नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुनेछन् ।’ सो अवसरमा ‘रोड शो’जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्ने होटल व्यवसायीहरूको योजना छ । तुलनात्मक रूपमा सस्तो गन्तव्यका रूपमा चिनिने नेपालले लिभ टूरिजमको सुविधा प्राप्त गर्ने कर्मचारीको ५ प्रतिशत अंशमात्र भित्र्याउन सके त्यो नेपालका लागि पर्याप्त हुने व्यवसायीहरूको ठम्याइ छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार पछिल्ला महीनामा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । ‘एकातिर भारतीय पर्यटकलाई विश्वमा नयाँ–नयाँ गन्तव्य प्राप्त हुँदै गए,’ कार्यकारी निर्देशक अर्याल भन्छन्, ‘अर्कोतिर हामीले छिमेकी मुलुकमा पर्याप्त प्रचार गर्न नसक्दा पर्याप्त सम्भावना भए पनि नेपाल आकर्षक गन्तव्य बन्न सकेन ।’ नेपालमा भारतीय पर्यटकको केही अंश क्यासिनो खेल्न आउने गरेको थियो । क्यासिनो बन्द भएपछि भारतीय पर्यटक आगमनमा केही असर पुगेको होटल व्यवसायीहरूको गुनासो छ ।

Comments