लगानी विस्तार गर्दै ‘ट्रञ्ज वाटर सिष्टम’

March 25, 2015
चैत १०, काठमाडौं । चितवन र नवलपरासी जिल्लामा गत १ वर्षदेखि ‘आर्सेनिक’ तथा ‘आइरनमुक्त’ पिउने पानी उत्पादन गर्न थालेको स्वीस वाटर ट्रिटमेण्ट कम्पनी ‘ट्रञ्ज वाटर सिष्टम’ले नेपालमा लगानी थप गर्ने योजना सार्वजनिक गरेको छ ।

नेपालका दुई जिल्लामा खोलिएका तीनओटा ‘नेक्सस सेण्टर’/‘वाटरसप’को अवधारणा सफल भएको भन्दै उत्साहित कम्पनीले गत शनिवार ‘विश्व पानी दिवस’को अवसर पारी थप लगानी गर्न इच्छुक रहेको घोषणा गरेको हो । कम्पनीले लगानी रकम भने खुलाएको छैन । ‘ट्रञ्ज वाटर सिष्टम’ले नेपाललगायत विभिन्न मुलुकमा पिउने पानीसँगै सरसफाइमा प्रयोग हुने सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ । उक्त कम्पनीले नेपालमा ‘मादी आक्पा ड्रप’, ‘आक्पा ड्रप मनारी’ र ‘आक्पा ड्रप परासी’ ब्राण्डमा पिउने पानीको उत्पादन तथा विक्री गर्दै आएको छ ।

नेपालको तराई क्षेत्रमा मानव स्वास्थ्यका लागि हानिकारक आर्सेनिक र फलाम तŒवयुक्त जमीनमुनिको पानी पिउन बाध्य बस्तीका मानिसले आप्mनो कम्पनीको उत्पादन बढी रुचाएको कम्पनीको भनाइ छ । कम्पनीले स्थानीय समुदायको सहभागितामा ‘वाटर ट्रिटमेण्ट प्लाण्ट’ स्थापना गरी सहुलियत मूल्यमा शुद्ध पिउने पानी उपलब्ध गराइरहेको दाबी गरेको छ ।

कम्पनीलाई स्वीट्जरल्याण्डको ‘स्वीस ब्लूटेक ब्रिज’नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराउँछ । नेपालमा भने ‘ट्रुञ्ज वाटर सिष्टम’ले स्थानीय साझेदार संस्थाहरूको प्रत्यक्ष सहभागितामा सामग्री उत्पादन तथा विक्री वितरण गर्ने गर्छ । कम्पनीले यी दुई जिल्लाका तीन स्थानमा झण्डै ५०/५० लाख रुपैयाँ लागतमा ‘नेक्सस सेण्टर’÷‘वाटरसप’ स्थापना गरेको छ । सो सेण्टरमा स्थानीय साझेदारको २० प्रतिशत अंश रहेको बताइएको छ ।

ऊर्जाका लागि सोलार प्रविधि जडान गरेको कम्पनीको नेक्सस सेण्टरमा शुद्ध खानेपानीसँगै सरसफाइमा प्रयोग हुने सामग्री, चिस्यान, इण्टरनेटलगायत सुविधा उपलब्ध हुन्छन् । शुद्ध पिउने पानी र सरसफाइमा प्रयोग हुने सामग्री उत्पादन र विक्रीमा यस प्रकारको विकासको मोडलबाट स्थानीयले प्रत्यक्ष रोजगारी पाउनुका साथै स्थानीय उत्पादनको खपतमा समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।

नेक्सस सेण्टरको अवधारणा नेपालमा सफल भएको विश्लेषण गर्दै नेपालकै थप स्थान र विश्वका अन्य मुलुकमा समेत लगानी विस्तारको योजना रहेको कम्पनीले बताएको छ । उक्त कम्पनीले यस प्रकारको मोडल भारत, पाकिस्तान, केन्या, फिलिपिन्सलगायत मुलुकमा समेत प्रयोगमा ल्याइसकेको छ

Comments