यात्रुले विमानमा बढी छाड्ने सामान ‘मोबाइल’ र ‘पर्स’

April 14, 2015
  चैत ३०, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)मा अन्तरराष्ट्रिय उडानका क्रममा लगेज ढिला आउने र हराउने समस्या निकै पुरानो हो । वायुसेवा कम्पनी र विमानस्थलको लापरबाहीबाट यस्ता समस्या उत्पन्न हुने गर्छन् । तर, यात्रुकै लापरबाहीका कारण पनि विमानमा कतिपय सामान हराउने गरेको पाइएको छ । यात्रुले आपूmले लगाएको लुगाको खल्तीमा राख्न मिल्ने सामानहरू नै विमानबाट झर्ने क्रममा सीटमै छाड्ने गरेको देखिएको छ ।

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल टीआईएमा ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ) सेवा उपलब्ध गराइरहेको नेपाल एयरलाइन्सको ग्राउण्ड सपोर्ट विभागका अनुसार विमानमा यात्रुले सबैभन्दा बढी छाड्ने सामान मोबाइल र पर्स हो । त्यसपछि पेनड्राइभ, मुभी तथा स्टील क्यामरा, आइफोन–आइप्याण्ड, नोट तथा पासपोर्टजस्ता सामान विमानमा छाड्ने गरेका छन् ।

विभागले सन् २०१४ डिसेम्बर र सन् २०१५ जनवरीमा सङ्कलन गरेको एक तथ्याङ्कअनुसार यी २ महीनामा विमानबाट २५ ओटा मोबाइल फेला परेका थिए भने १९ ओटा पर्स भेटिएका छन् । सो अवधिमा यात्रुले विमानमा आइफोन, आइप्याड, ट्याब्लेटजस्ता सामान १० ओटा छाडेका थिए । विभागका कर्मचारीले विमानको क्याबिन सफा गर्ने क्रममा यस प्रकारका सामान भेट्ने गरेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । भेटिएका सामग्री सम्बन्धित वायुसेवा कम्पनीको जिम्मा लगाउने गरेकोसमेत नेपाल एयरलाइन्सको ग्राउण्ड सपोर्ट विभागले बताएको छ । अवतरणपछि विमानबाट झर्ने क्रममा यात्रुको सामान्य असावधानीका कारण यस्ता सामग्री विमानमै छुट्ने गर्छन् ।
पछिल्लो समय नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ सेवालाई स्तरीय बनाउन विविध प्रयास गरिरहेको बताएको छ । अन्तरराष्ट्रिय हवाई उड्डयन सङ्घ (आएटा)द्वारा निर्धारित मापदण्डअनुसार सेवालाई स्तरोन्नति गर्न भविष्यमा अपनाउनुपर्ने सुधारका कामबारे परामर्श दिन निगमले कम्पनीहरूबाट आवेदन माग गरेको थियो । ग्राउण्ड ह्याण्डलिङ सेवाबारे विशेषज्ञता सेवा उपलब्ध गराउन चारओटा कम्पनी इच्छुक देखिएको विभागले जानकारी दिएको छ । आवेदन प्राप्त कम्पनीमध्ये छनोट भएको एउटा कम्पनीले टीआईएमा ग्राउण्ड ह्याण्डलिङ सेवाको स्तरोन्नतिका लागि निगमलाई विशेषज्ञता सेवा उपलब्ध गराउनेछ । निगमका अनुसार विभागले ग्राउण्ड ह्याण्डलिङ सेवाकै लागि ४३ थान ब्यागेज ट्रलीसमेत थप गर्र्न लागेको छ । ब्यागेज आपूर्तिका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

Comments