क्यासिनो माजोङ सञ्चालनको तयारी

February 13, 2015
विद्यमान नियमावलीबाटै क्यासिनो सञ्चालन
माघ २९, काठमाडौं । झण्डै १ वर्षदेखि बन्द क्यासिनोहरू विद्यमान नियमावलीअनुसार सञ्चालनको प्रक्रियामा आउन थालेका छन् । लाजिम्पाटस्थित होटल साङ्ग्रिलामा ‘द मिलेनियर्स क्लब एण्ड क्यासिनो’ सञ्चालनमा आएको छ भने सोल्टी होटलस्थित क्यासिनो माजोङले सञ्चालनको तयारी गरिरहेको छ । ‘द मिलेनियर्स क्लब एण्ड क्यासिनो’ हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रूपले नेपाली कम्पनी ह्याप्पी वल्र्डमार्फत लगानी गरेको छ । कम्पनीले गत माघ १९ गते एक कार्यक्रम गर्दै क्यासिनो सञ्चालनमा आएको जानकारी दिएको थियो ।

सोल्टीस्थित क्यासिनो माजोङले सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट इजाजत लिइसकेको विभागले जानकारी दिएको छ । ‘आन्तरिक राजस्व विभागबाट करसम्बन्धी विषय टुङ्गो लगाएपछि सञ्चालन गर्ने गरी सोल्टी होटलस्थित क्यासिनोले इजाजत लिएको छ,’ पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने, ‘हामीले आन्तरिक राजस्व विभागलाई समेत यससम्बन्धमा जानकारी गराइसकेका छौं ।’

माजोङ स्रोतका अनुसार हाल ‘ट्रायल’को रूपमा क्यासिनो खुल्न थालिसकेको छ । लामो समय बन्द रहेको क्यासिनोका कर्मचारीलाई कामप्रति अभ्यस्त गराउन अनौपचारिक रूपमा सञ्चालन गरिएको बताइएको छ । माजोङले निकट भविष्यमै औपचारिक उद्घाटनको तयारी गरिरहेको छ ।

यी दुवै क्यासिनोले विद्यमान नियमावलीअनुसार नै सञ्चालनको इजाजत प्राप्त गरेका हुन् । ‘क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीहरू राज्यको नियम मान्दै इजाजतका लागि आउन थालेका छन्,’ उनले भने, ‘क्रमशः यो क्रम बढ्नेछ ।’ लामो समयदेखि सञ्चालनमा रहेका क्यासिनोहरू सरकारले २०७० सालमा ल्याएको क्यासिनो नियमावलीअनुसार दर्ता प्रक्रियामा नआएपछि अवैध घोषित भएका थिए ।

सरकारले क्यासिनो नियमावली २०७० मा उल्लेख क्यासिनोको चुक्ता पूँजी रू. २५ करोडबाट रू. १५ करोडमा झार्ने गरी नियमावली संशोधनको तयारी गरे पनि त्यसले गति लिन सकेको छैन । नियमावली संशोधनको प्रक्रिया अहिले पनि जारी रहेको महानिर्देशक गौतमले जानकारी दिए । सरकारले क्यासिनो व्यवसायलाई उद्योगको मान्यता प्रदान गरेसँगै क्यासिनोमा वैदेशिक लगानी बढ्न थालेको छ । थप दुई कम्पनीले नयाँ क्यासिनो सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृति लिइसकेका छन् ।

Comments