रुसी एयरक्राफ्ट किन्दै ‘विश्व एयरवेज’

February 24, 2015
फागुन ११, काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने योजनासहित गत जेठमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको ‘विश्व एयरवेज’ले भारतमा जारी ‘एरो इण्डिया २०१५’का अवसरमा पाँचओटा नयाँ जहाज खरीद गर्ने भएको छ । एयरवेज र रसियाली विमान निर्माता कम्पनी ‘सुखोइ सिभिल एयरक्राफ्ट’बीच पाँचओटा ‘सुखोइ सुपरजेट १००’ मोडलको जहाज खरीद गर्नेसम्बन्धी आशयपत्र (एलओएल)मा हस्ताक्षर भएको सुखोइलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विश्व एयरवेजले समेत आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एयरक्राफ्ट खरीद गर्नेसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको पुष्टि गरेको छ । ९३ सीट क्षमताका ती जहाजमध्ये पहिलो जहाज सन् २०१७ सम्म आउने गरी सम्झौता भएको एयरवेजले उल्लेख गरेको छ ।

सो कम्पनी हालसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भने दर्ता प्रक्रियामा नआएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयमा दर्ता भएपछि कुनै पनि कम्पनीले उडान सञ्चालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्छ । प्राधिकरणका अनुसार नेपालमा कम्पनी दर्ता गरेर लाइसेन्स होल्ड गरेर बस्ने तर, जहाज नल्याउने प्रवृत्ति देखिएको छ । तर, विश्व एयरवेज भने लाइसेन्सको प्रक्रियामा नआउँदै जहाजको जोहो गर्ने मनसायमा देखिएको छ ।

नागरिक उड्डयनबारे अन्तरराष्ट्रिय अनुसन्धान र विश्लेषण गर्दै आएको संस्था कापा, सेण्टर फर एभिएशनका अनुसार विश्व एयरवेजले सन् २०१४ मा ‘फार्नबोरो एयर शो’का अवसरमा दुईओटा एयरबस ‘ए३२०–२००’ मोडलका जहाज खरीद सम्झौता गरेको थियो । प्रारम्भमा यी दुई एयरबसबाट उडान गर्ने योजना बनाइरहेको विश्व एयरवेज नेपालबाट एओसी प्राप्त गर्ने प्रक्रियामा रहेको कापाले उल्लेख गरेको छ । 

विश्व एयरवेज सिङ्गापुरमा बस्ने नेपालीहरूले लगानी गरेको ‘विश्व होल्डिङ’ नामक कम्पनीको सहायक कम्पनी हो । सिङ्गापुरस्थित विश्व होल्डिङलाई आशिषमान श्रेष्ठले नेतृत्व गरेका छन् । जहाज खरीद सम्झौताको आशयपत्रमा समेत एयरवेजका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एयरवेजले भारतसहित चीन, जापान, मलेसिया, साउदी अरेबिया, इङल्याण्डलगायत गन्तव्यमा उडान गर्ने योजना बनाएको बताएको छ । एयरवेज विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपाली र नेपाल आउने पर्यटकको प्रमुख आकर्षण रहेको गन्तव्यबाट उडान गर्ने तयारीमा रहेको बताइएको छ । सञ्चालनमा आएसँगै एयरवेजमार्फत यात्रु तथा कार्गो दुवै प्रकारका उडान हुनेछन् ।

Comments