सिचुआन एयरलाइन्सको नेपालमा पहिलो उडान आज

April 1, 2015
 
जहाजबाटै सगरमाथाको अवलोकन
चैत १७, काठमाडौं । चीन–नेपाल सीधा उडान गर्ने चौथो विमान सेवा कम्पनीका रूपमा सिचुआन एयरलाइन्सले बुधवार काठमाडौंका लागि पहिलो उडान गर्दै छ । दैनिक एक उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान अनुमति प्राप्त गरेको उक्त एयरलाइन्सको जहाज बिहान सवा १० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सिचुआनको नेपालस्थित साधारण सेल्स एजेण्ट (जीएसए) सोसाइटी ट्राभल सर्भिस प्रालिले जानकारी दिएको छ । एयरलाइन्सले गत फागुन अन्तिम साता नेपाल उडानको मिति तय गरेको थियो ।

सिचुआनले चीनको सिचुआन प्रान्तको राजधानी छेङ्दुलाई नेपालको राजधानी काठमाडौंसँग सीधा उडानमार्फत जोड्दै छ । काठमाडौं उडानका क्रममा हिमालयन रूट प्रयोग गर्ने एयरलाइन्सको जहाज चीनको ल्हासा तथा स्वशासित क्षेत्र तिब्बत हुँदै बिहान १०ः१० मा त्रिभुवन विमानस्थल अवतरण गर्ने कार्यक्रम छ । सिचुआनले ‘एयरबस ए ३१९’ जहाजमार्फत नेपालमा दैनिक उडान गर्नेछ । उडानका क्रममा एयरलाइन्समा यात्रारत यात्रुले विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेत अवलोकन गर्नसक्ने बताएको छ ।

पहिलो उडानका लागि अधिकांश टिकट विक्री भइसकेको ट्राभलका अपरेशन म्यानेजर समीर आलमले जानकारी दिए । उक्त एयरलाइन्सले छेङ्दु–काठमाडौंका लागि एकतर्फी भाडा करबाहेक १ हजार ७ सय युआन तोकेको छ । दुईतर्फी भाडा भने १ हजार ५ सय युआन निर्धारण गरिएको एयरलाइन्सले जानकारी दिएको छ । उडानका क्रममा सिचुआनको जहाजले ल्हासालाई ‘ट्राञ्जिट’ बनाउने जीएसए सोसाइटी ट्राभलले जानकारी दिएको छ । काठमाडौंबाट छेङ्दुका लागि ११ः१० मा उडान गर्ने एयरलाइन्सको योजना छ । सिचुआनले एयरबस कम्पनीका ‘ए३१९’, ‘ए३२०’, ए३३०’लगायत मोडलमार्पmत विश्वका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । एयरलाइन्ससँग अहिले ९३ ओटा जहाज छन् ।

चीनबाट नेपाल आउने पर्यटक तथा व्यापारिक प्रयोजनका लागि यात्रा गर्ने यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै पछिल्लो समय चिनियाँ वायुसेवा कम्पनीहरू काठमाडौं उडानका लागि आकर्षित भइरहेका छन् । सिचुआनको सेवा प्रारम्भ भएसँगै चिनियाँ वायुसेवा कम्पनीको सङ्ख्या ४ पुगेको छ । अहिले एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्नले नेपालमा नियमित उडान गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स तथा चिनियाँ र नेपाली कम्पनीको संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्सले समेत नेपाल–चीन उडानको तयारी गरिरहेका छन् ।

गतवर्ष नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौतापछि दुई देशबीचको नियमित यात्रु उडान सङ्ख्यामा अत्यधिक वृद्धि गरेको थियो । सम्झौताअनुसार यस वर्ष दुई मुलुकका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता ६३ ओटा उडान गर्न सक्छन् । आगामी वर्ष (सन् २०१६) प्रतिहप्ता उडान क्षमता ७० पुग्दै छ ।

Comments