काण्डैकाण्डमा पर्यटन उद्योग : प्रमुख सरोकारवाला निकाय नेतृत्वविहीन

April 8, 2015
 
चैत २४, काठमाडौं । अख्तियार दुरुपयोग, आन्तरिक विवाद तथा असहयोगका कारण पर्यटन उद्योगका कतिपय नियामक निकाय र कम्पनीहरू सङ्कटमा फसेका छन् । नेपाल पर्यटन बोर्डमा आर्थिक हिनामिना, अनियमिततालगायत शीर्षकमा रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै दुई दर्जन व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोर्डका बहालवाला सदस्य, कायममुकायम कार्यकारी प्रमुख तथा अधिकांश उच्चपदस्थ कर्मचारी सो सूचीमा परेपछि पर्यटन क्षेत्रका कतिपय निकाय नेतृत्वविहीन बन्न पुगेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमन, बोर्डका कार्यकारी प्रमुख सुवास निरौला तथा वरिष्ठ निर्देशक नन्दिनी लाहे (थापा)लगायत अन्य वरिष्ठ निर्देशक, निर्देशक र प्रबन्धकहरू भ्रष्टाचार काण्डमा मुछिएपछि ती निकाय नेतृत्वविहीन बन्न पुगेका हुन् । यस्तै राजनीतिक हस्तक्षेप तथा आन्तरिक विभागको असहयोगका कारण महाप्रबन्धक मदन खरेलले पनि राजीनामा दिएपछि मुलुकको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगम पनि अहिले नेतृत्वविहीन अवस्थामा छ । तर, खरेलले भने स्वास्थ्य समस्यालाई कारण देखाउँदै राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपाली एभिएशन क्षेत्रको प्रमुख नियामक निकाय हो । साथै, सो निकायले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित मुलुकभरका आन्तरिक विमानस्थल सञ्चालन गर्दै आएको छ । सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको नेपाल पर्यटन बोर्डको मुख्य जिम्मेवारी राष्ट्रिय–अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन गर्नु हो । सोही प्रयोजनका लागि बोर्डले नेपाल भ्रमणमा आउने हरेक पर्यटकबाट सेवाशुल्क सङ्कलन गर्दै आएको छ । नेपालको अन्तरराष्ट्रिय प्रवद्र्धन कमजोर भएपछि नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको निजीक्षेत्रले गुनासो गर्दै आएका छन् ।

नेपालको एक मात्र ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानमा नेपालको प्रतिनिधित्व गर्नुका साथै आन्तरिक उडानअन्तर्गत दुर्गम र सुगम दुवै गन्तव्यमा सेवा पुर्‍याउँदै आएको छ । सरोकारवाला निकाय प्रमुखविहीन हुन पुग्दा ती निकायबाट हुने नीति निर्णयमा असर पुग्न थालेको कर्मचारीहरूको गुनासो छ । सरकारले कार्यवाहक प्रमुख नतोक्दासम्म प्रमुखको हैसियतमा हुने सबै कामकाज ठप्प हुने र ती निकायले लिएका कतिपय लक्ष्य पूरा नहुने कर्मचारीहरूको चिन्ता छ ।

बोर्ड सञ्चालनका लागि उपसमिति
बोर्डका वर्तमान अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ तथा बोर्ड सदस्यहरूले भावी रणनीतिबारे आइतवारदेखि छलफल थालेका छन् । मन्त्रालयका अनुसार बोर्डले ‘आगामी दिनमा के गर्ने’ भन्ने सम्बन्धमा छलफल शुरू भएको हो । बैठकले बोर्ड सञ्चालनका लागि बोर्ड सञ्चालन उपसमिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको नेतृत्व भने निजीक्षेत्रलाई दिने निर्णय बोर्डले गरेको छ । संयोजक, सदस्यहरू र सदस्यसचिव रहने उपसमितिको सदस्यसचिव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रहनेछन् । बोर्डमा निजीक्षेत्रबाट प्रतिनिधित्व गर्ने नवनियुक्त सदस्यद्वय राजेन्द्र सापकोटा र घनेन्द्रबहादुर श्रेष्ठ तथा विभिन्न निकायका अन्य ४ जना सदस्य मात्र बाँकी छन् ।

Comments