सहकार्यका ठोस क्षेत्र पहिचान गरिँदै


February 4, 2015
 
संयुक्त पर्यटन प्रवर्द्धनमा नेपाल–भारतको सक्रियता

माघ २०, काठमाडौं । नेपाल–भारत संयुक्त पर्यटन प्रवद्र्धनका लागि दुवै देशको सक्रियता बढेको छ । सार्क सम्मेलनका अवसरमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न ‘पर्यटनका लागि द्विपक्षीय सहकार्य बढाउने सम्झौता’पछि सरोकारवालाहरू सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित भएका हुन् । यसैक्रममा दुवै देशका पर्यटनसम्बद्ध सङ्घसंस्थाको प्रतिनिधित्व सम्मिलित कार्यदलबीच भारतको नयाँ दिल्लीमा संयुक्त बैठकको तयारी भइरहेको छ ।

फेब्रुअरी १९ र २० तारिखमा संयुक्त कार्यदलको बैठक आयोजना गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए । हालै, राजधानीमा आयोजित एक कार्यक्रममा सचिव श्रेष्ठले सो बैठक संयुक्त पर्यटन प्रवद्र्धनका लागि देखापर्ने नीति–कार्यक्रम तय गर्न तथा दुवै देशबीच रहेका अन्तरहरू हटाउन फलदायी हुने विश्वास गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट भाग लिने कार्यदल गठनको तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार कार्यदलमा निजी तथा सरकारी दुवै क्षेत्रको प्रतिनिधित्व हुनेछ । ‘थुप्रै सम्भावना भए पनि नेपाल र भारतबीच पर्यटन प्रवद्र्धनका लागि आजसम्म ठोस संयन्त्र थिएन,’ गौतमले भने, ‘सो कार्यदल एउटा फोरमका रूपमा स्थापित हुनेछ ।’

नयाँ दिल्ली बैठकपछि नेपाल र भारतका पर्यटन व्यवसायीबीच सेवा आदानप्रदानका ठोस क्षेत्रको पहिचान हुने विश्वास गरिएको छ । ‘यसले पर्यटकीय क्षेत्रको ‘लिङ्केज’का साथै होटल, ट्राभल–ट्रेकिङका लागि संयुक्त प्रवर्द्धन गर्न सकिने क्षेत्रहरू तय हुनेछन्,’ गौतमले भने ।

नेपाल–भारत कार्यदलको संयुक्त बैठकमा दुवै मुलुकले एकअर्काका नागरिकलाई भ्रमणका लागि प्रेरित गर्ने, पर्यटनसँग सरोकार राख्ने निकायबीच सीधा सम्पर्क स्थापित गर्ने, पर्यटनसँग सम्बन्धित सूचना र तथ्याङ्कहरू आदानप्रदान गर्ने, मानव–संसाधनको विकास र आदानप्रदानमा सहकार्य गर्ने विषयमा छलफल गर्ने बताइएको छ । यसैगरी, पर्यटन र होटल उद्योगमा लगानी विस्तार, टुर अपरेटर्सहरूबीच भ्रमणको आदानप्रदान, विभिन्न ट्राभल मेला र प्रदर्शनीमा सहभागिता तथा दिगो पर्यटनका लागि सहकार्य गर्ने सम्बन्धमा समेत बृहत् छलफल गर्ने कार्यक्रम राखिएको छ । नेपाल र भारतबीच हवाई सम्पर्क वृद्धि गर्न नेपाललाई भारतका कम्तीमा ३० ओटा विमानस्थलबाट सीधा जोड्ने प्रस्तावसमेत गरिएको छ ।

पर्यटनमा द्विपक्षीय सहकार्य बढाउने सम्झौता भएसँगै नेपाल–भारतबीच केही क्षेत्र भने कार्यान्वयनमा आइसकेका छन् । त्यसमध्ये, काठमाडौं–नयाँदिल्ली सीधा बस सेवा, भारतीय पर्यटकका लागि नेपालमा ५ सय र १ हजार रुपैयाँको भारतीय नोट चलाउन अनुमति तथा नेपाल–भारतका विभिन्न तीन शहरबीच भगिनी सम्बन्ध स्थापना मुख्य हुन् ।
 
भारतको प्राथमिकता ‘बुद्धिष्ट सर्किट’मा
संयुक्त पर्यटन प्रवर्द्धनका लागि बुद्धिष्ट सर्किट उच्च प्राथमिकतामा रहेको र सो दुवै देशका लागि फलदायी हुने दाबी गरिएको छ । बुद्ध सर्किटको विकासका लागि भारतले बृहत् योजनासहित काम गर्ने चाहना व्यक्त गरिरहेको छ । सोही प्रयोजनका लागि भारतले विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहयोगमा बुद्धिष्ट सर्किटको ‘सर्वे’समेत गरिसकेको छ । भारत सरकारले ‘पवित्र सर्किट’को नाममा कम्तीमा ७ दिनको भ्रमण प्याकेज सञ्चालन गर्ने सकिने कार्ययोजना बनाएको छ । सो प्याकेजमा नेपालको लुम्बिनी भ्रमणलाई एक दिन छुट्ट्याइएको छ ।

Comments