‘गोल्डेन ट्रायङ्गल’बाहिर ठूला होटल परियोजना

January 27, 2015
माघ १२, काठमाडौं । नेपालको ‘गोल्डेन ट्रायङ्गल’का रूपमा स्थापित काठमाडौं उपत्यका, कास्की र चितवनबाहेक पछिल्लो समय अन्य स्थानमा समेत होटल व्यवसायमा ठूलो लगानी आउने क्रम बढेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो १ वर्षमा रूपन्देही, काभ्रे, पाल्पा, मोरङ, बाँके, मुस्ताङलगायत जिल्लामा होटल स्थापना गर्ने गरी अर्बौं रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

त्यसमध्ये काठमाडौंमा पाँचतारे होटल सञ्चालन गरिरहेको सोल्टी हस्पिटालिटी लिमिटेडले बाँकेमा सेवा बिस्तार गर्दै छ । सोल्टी सिविक्रम होटल्स एण्ड रिसोर्टका नाममा सञ्चालन हुने सो होटलको निर्माण शुरू भइसकेको छ । सोल्टी हस्पिटालिटी लिमिटेड, सोल्टी इण्टरप्राइजेज र सिविक्रम  प्रालिको साझेदारीमा बन्न लागेको सो होटलमा रू. ४४ करोडभन्दा बढी लगानी गर्ने योजना सम्बन्धित कम्पनीले छ । चारतारे सो होटलले ९९ बेड रहनेगरी अनुमति लिएको छ । सोल्टीले बाँकेसहित कास्की र भैरहवामा समेत होटल सञ्चालनको योजना बनाएको छ ।

यस वर्ष मुस्ताङमा दुई ठूला होटल निर्माणका लागि उद्योग विभागबाट अनुमति लिइएको छ । शतप्रतिशत नेपाली लगानी रहने ती होटलमा ५४ करोड रुपैयाँभन्दा बढी लगानी हुँदै छ । विभागका अनुसार ‘मुस्ताङ माउण्टेन होम’का नाममा मार्फा गाविसमा खुल्ने होटलमा २९ करोड ४० लाख रुपैयाँ लगानी हुँदै छ । सो होटलमा ४४ बेड रहने छ । मुस्ताङकै लोमान्थाङमा खुल्न लागेको ‘रोयल मुस्ताङ रिसोर्ट’मा २४ करोड ५० लाख रुपैयाँ लगानी हुने बताइएको छ ।

पहाडी जिल्ला पाल्पामा १७ करोड २५ लाख रुपैयाँ लगानीसहित स्तरीय रिसोर्ट निर्माण हुने भएको छ । ‘हिलसाइड रिसोर्ट’का नाममा सञ्चालन हुने रिसोर्ट ४५ बेड क्षमताको हुने बताइएको छ । उपत्यकाबाट नजिक रहेको काभे्र जिल्लामा समेत लगानीकर्ताको  आकर्षण देखिएको छ । सामान्यतया औद्योगिक र पर्यटकीय गन्तव्यका रूपमा परिचित स्थानहरूमा होटलका ठूला परियोजना आउने तयारीमा छन् ।

लगानी विस्तारको यस प्रवृतिले मुलुकमा पर्यटन क्षेत्रको दीर्घकालीन विकासलाई सहयोग पु¥याउने होटल व्यवसायीहरू बताउँछन् । उपत्यका र कास्कीबाहेक अन्य स्थानमा खुल्ने होटल र रिसोर्टमा अधिकांश नेपाली व्यवसायीले लगानी गर्दै छन् । भविष्यमा सम्भावित बजार देखेका स्थानमा व्यवसायीहरूले लगानीको प्रतिबद्धता देखाएका हुन् ।
काभ्रेमा क्यासिनो
सरकारले क्यासिनोलाई उद्योगको मान्यता दिँदै वैदेशिक लगानी खुला गरेपछि पछिल्लो समय नयाँ क्यासिनो दर्ता हुन थालेका छन् । अघिल्लो महीना दुई नयाँ क्यासिनो उद्योग विभागमा दर्ता भएका छन् । त्यसमध्ये काभ्रे धुलिखेलमा भेगास सिटी इण्टरटेनमेण्टका नाममा क्यासिनो सञ्चालन हुने भएको छ । क्यासिनोमा नेपाली र विदेशी साझेदारीमा रू. १ अर्बभन्दा बढी लगानी हुने बताइएको छ । साथै, प्राइड इण्टरटेन्मेण्ट एण्ड रिक्रिएशन प्रालिका नाममा काठमाडौंमा सञ्चालन हुने क्यासिनोमा भने शतप्रतिशत नेपाली लगानी रहने बताइएको छ । उद्योगको मान्यता प्राप्त गरेसँगै क्यासिनोहरू पाँचतारे होटल परिसरभन्दा बाहिर पनि सञ्चालन हुन सक्छन् ।

Comments