‘ईयू’ प्रतिबन्ध हटाउन ‘आईकाओ’सँग सहकार्य गर्दै प्राधिकरण

January 19, 2015
  माघ ४, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले यूरोपेली युनियनबाट नेपाली वायुसेवामा लगाइएको प्रतिबन्ध फुकुवाका लागि अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)सँग सहकार्य गर्ने भएको छ । नेपाली हवाई सेवाको सुरक्षासम्बन्धी अध्ययनका लागि विदेशी विज्ञ ल्याउने र त्यसका लागि आईकाओले सहयोग गर्ने तयारी भइरहेको प्राधिकरणका महानिर्देशक रतीशचन्द्र लाल सुमनले जानकारी दिए । यी दुई निकायबीच ‘सेफ फण्ड’ खडा गर्ने र नेपाली वायुसेवाको सुरक्षासम्बन्धमा अध्ययन गर्नेसम्बन्धमा सम्झौताको तयारी भइरहेको छ ।

फण्डमा आईकाओका तर्पmबाट ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत योगदान गर्ने अनौपचारिक सम्झौता भए पनि रकम भने तय भइनसकेको महानिर्देशक सुमनले बताए । नेपाली वायुुसेवाको सुरक्षास्थिति अध्ययनका लागि विदेशी विज्ञ ल्याउने क्रममा सोही ‘फण्ड’ प्रयोग गर्ने प्राधिकरणको तयारी छ । ‘ती विज्ञले नेपाली वायुसेवामा रहेका कमीकमजोरी सूक्ष्म रूपमा पहिल्याउने छन्,’ सुमनले भने, ‘यो प्रयास यूरोपेली युनियनको प्रतिबन्धबाट हट्न सहयोगी साबित हुने अपेक्षा छ ।’

आगामी फेब्रुअरीभित्र यी दुई निकायबीच ‘सेफ फण्ड’ स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने योजना रहेको बताइएको छ । यूरोपेली युनियनले नेपाली वायुसेवामा औल्याउँदै आएका मुख्य कमजोरी पहिल्याउँदै त्यसको समाधानमा केन्द्रित हुने उद्देश्यले प्राधिकरणले आईकाओबाट सहयोग लिन लागेको हो । प्राधिकरणले आईकाओ तथा यूरोपेली युनियनको मापदण्ड पूरा गर्ने गरी धेरै पक्षमा सुधार गरे पनि दुर्घटना, यात्रु तथा चालक दलको मृत्यु सङ्ख्या हेरेर प्रतिबन्धलाई निरन्तरता दिइने गरेको सुमनको भनाइ छ । ‘अन्य क्षेत्रमा सुधार हुँदाहुँदै पनि हवाई दुर्घटनाको सङ्ख्या नघटेसम्म प्रतिबन्ध हट्ने सम्भावना हुँदैन,’ सुमनले भने, ‘त्यसकारण सुरक्षालाई पहिलो प्राथमिकता दिइएको छ ।’

पछिल्लोपटक गत मङ्सिर २० गते युनियनले नेपालसहित दर्जनौं मुलुकका वायुसेवामाथि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको थियो । गतवर्ष फेब्रुअरीमा नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले समेत प्रतिबन्ध निरन्तरताका लागि सहयोग गरेको सुमनको भनाइ छ । उनका अनुसार युनियनले वायुसेवा सञ्चालनसम्बन्धी विविध आठओटा प्रक्रियामा प्रश्न उठाउँदै आएको छ । त्यसमा ऐन, नियमावली, नियामक निकाय, दर्ता तथा अनुमतिपत्र, सेवाप्रदायक संस्था, जनशक्तिलगायतमा नेपालले युनियनको चित्त बुझाउन सकेको छैन ।

आयोगको प्रतिबन्धका कारण नेपालका कुनै पनि वायुसेवाले यूरोपमा उडान गर्न पाउँदैनन् । युनियनले नेपालमा दर्ता भएका विमानमा यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेसँगै त्यसले नेपाल आउने यूरोपेली पर्यटकमा मनोवैज्ञानिक असर पर्न सक्ने पर्यटन व्यवसायीहरूले गुनासो गर्दै आएका छन् ।

Comments