अन्तरराष्ट्रिय उडानमा निगमको ध्यान भारत र चीनतर्फ

January 28, 2015 
- पहिलो उडान भारतको नयाँ दिल्लीमा
- नेपाल आइपुग्ने पहिलो एयरबसको नाम ‘सगरमाथा’
 माघ १३, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले अन्तरराष्ट्रिय उडानलाई छिमेकी मुलुक भारत र चीनतर्फ केन्द्रित गर्ने भएको छ । एयरबस कम्पनीबाट खरीद गरिएका ‘न्यारो बडी’ साइजको जहाज प्राप्त भएपछि निगमले उडान विस्तार गर्न लागेका ५ गन्तव्यमध्ये ४ गन्तव्य यी दुई मुलुकमा पर्छन् । त्यसमध्ये भारतको तीन (नयाँ दिल्ली, बैङ्लोर र मुम्बई) र चीनको एक (ग्वाङझाउ) रहेका छन् । अन्य एक भने संयुक्त अरब इमिरेट्सको दुबई रहेको छ । भारतका तीन गन्तव्यमा निगमले यसअघि उडान गरिसकेको छ भने ग्वाङझाउ भने नयाँ गन्तव्य हो । निगमले ‘ब्राण्डन्यू’ जहाजबाट पहिलो उडान भारतको नयाँ दिल्लीमा गर्ने योजना बनाएको छ । दोस्रो जहाज प्राप्त भएपछि भारतको मुम्बईमा समेत उडान विस्तार गर्ने योजना निगमको छ ।

ती दुई मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर वृद्धि भइरहेकाले निगमले अन्तरराष्ट्रिय उडानलाई छिमेकी मुलुकका शहरमा विस्तार गर्न लागेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । दुबई भने वैदेशिक रोजगारीमा जाने र फर्कने नेपालीका लागि प्रमुख गन्तव्य मानिन्छ । मलेशिया, कतार (दोहा), हङकङलगायत नेपाली यात्रुको बढी चाप हुने गन्तव्यमा भने निगमले हालको बोइङ जहाजबाट उडान गरिरहेको छ । निगमले एयरबस कम्पनीबाट माघ अन्तिम साता पहिलो एयरबस प्राप्त गर्दै छ । यसअघि माघ २४ गते काठमाडौं आइपुग्ने समय तालिका तोकिएको भए पनि सो जहाज आउने तालिका एक/दुई दिन फरक पर्नसक्ने निगमको भनाइ छ । 

नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमले जहाज अभावमा गन्तव्य गुमाउँदै गएपछि भारत र चीनका विभिन्न शहरमा विदेशी कम्पनीले काठमाडौंबाट सेवा दिइरहेका छन् । ती गन्तव्यमा निगमको उडान प्रारम्भ भएसँगै हवाई भाडामा समेत उल्लेख्य कमी आउने निगमको भनाइ छ ।

‘निगमले उडान शुरू गरेपछि भाडादर प्रतिस्पर्धी हुनेछ,’ शर्माले भने, ‘यसको फाइदा यात्रुले पाउनेछन् ।’

यसैबीच एयरबस ए३२०–२०० मोडलको पहिलो एयरबसले नेपाली नाम ‘सगरमाथा’ पाएको छ । दोस्रो जहाजलाई ‘लुम्बिनी’ नाम दिइएको छ । निगमले अन्तरराष्ट्रिय उडान गर्ने ठूला नेपाली जहाजलाई अन्तरराष्ट्रिय पहिचान दिने नेपाली सम्पदाको नाम दिँदै आएको छ । आन्तरिक उडानमा प्रयोग हुने ठूला जहाजले ताल र साना जहाजलाई चराको नाम पाउने गरेका छन् ।

Comments