January 12, 2015
पुस २७, काठमाडौं । बन्द अवस्थामा रहेका क्यासिनो सञ्चालनमा आएसँगै यसअघि
त्यहाँ कार्यरत सबै मजदूरले बक्यौता रकम प्राप्त गर्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्य, क्यासिनो
सञ्चालक र मजदूर सङ्गठनका नेतृत्वबीच हालै भएको छलफलमा मजदूरले पाउनुपर्ने
बक्यौता रकम तिर्न सञ्चालक सहमत भएका हुन् । सो सहमतिलाई सरकारले ‘क्यासिनो
नियमावली २०७०’मा गरिरहेको संशोधनमा समेट्ने आश्वासन मन्त्री अमात्यले
दिएका छन् ।
यो सहमतिबाट पुनः सञ्चालनमा आउने क्यासिनोको नियमित सञ्चालनमा सहयोग पुग्ने अपेक्षा सरोकारवालाको छ । सरकारले क्यासिनोको चुक्ता पूँजी २५ करोड रुपैयाँबाट १५ करोड रुपैयाँमा झार्दै ‘क्यासिनो नियमावली २०७०’मा संशोधन प्रक्रिया अन्तिम अवस्थामा पु¥याएसँगै बन्द क्यासिनो पुनः सञ्चालनको वातावरण बन्दै गएको हो । ‘यो सहमतिले लामो समयसम्म बन्द क्यासिनो चलाउन सहज हुनेछ,’ क्यासिनो सञ्चालक सङ्घका सदस्य प्रसन्नमान श्रेष्ठले भने ।
अहिले १० ओटा क्यासिनोमा झण्डै ११ हजार मजदूर कार्यरत रहेको बताइन्छ । उनीहरूलाई कम्पनीहरूले सञ्चयकोष, कल्याणकारी कोष, स्वास्थ्य बीमा, तलब, उपदानलगायत शीर्षकमा करोडौं रुपैयाँ तिर्न बाँकी छ । ‘सबै क्यासिनोमा कार्यरत मजदूरले पाउनुपर्ने रकम अब सुनिश्चित भएको छ,’ सोल्टी होटलस्थित क्यासिनो माजोङ, टे«ड युनियन काङ्ग्रेसका महासचिव प्रेम खनालले भने, ‘संशोधित क्यासिनो नियामावली’लाई मजदूरमैत्री बनाउने प्रयास भएको छ ।’ मजदूर सङ्गठनहरूका अनुसार सबै क्यासिनोले मजदूरलाई झण्डै ८० करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ ।
सरकारले २०७० साउनमा ‘क्यासिनो नियमावली २०७०’ जारी गरेको थियो । नियमावलीले क्यासिनोको आर्थिक दायित्व अत्यधिक बढाएको भन्दै सञ्चालकहरूले क्यासिनो नवीकरण गरेका थिएनन् । राज्यलाई तिर्नुपर्ने राजस्व नतिरेको तथा समयमै नवीकरण नगरेको भन्दै सरकारले गत वैशाखमा सबै क्यासिनोलाई अवैध घोषणा गरी बन्द गराएको थियो । क्यासिनो बन्द भएसँगै त्यहाँ कार्यरत मजदूर अहिले पनि बेरोजगार छन् ।
संशोधित क्यासिनो नियमावली १५ दिनभित्र सरकारले क्यासिनोको
चुक्ता पूँजीमा रू. १० करोड कटौतीसहित क्यासिनो नियमावलीको तेस्रो संशोधन १५ दिनभित्र जारी गर्ने आश्वासन दिएको छ । मन्त्रालयले तयार पारेको पछिल्लो मस्यौदामा मजदूरको बक्यौता रकम र लाभकर खारेजीका विषय थप गर्न सञ्चालकहरूले मन्त्री अमात्यलाई आग्रह गरेका थिए । अमात्यले थप प्रावधानसहित संशोधित नियमावली १५ दिनभित्र ल्याउने आश्वासन दिएको सदस्य श्रेष्ठले जानकारी दिए । ‘नियमावली आएको १ साताभित्र अधिकांश क्यासिनो सञ्चालनमा आउँछन्,’ उनले भने ।
क्यासिनोमा रकम जित्ने खेलाडीबाट २५ प्रतिशत लाभकर काट्दा गर्दा विदेशी पर्यटक क्यासिनो खेल्नकै लागि नेपाल नआउने भन्दै सञ्चालकहरूले सो प्रावधान हटाउनुपर्ने माग गर्दै आएका छन् । नियमावलीका अन्य बुँदामा भने सञ्चालकहरूले सहमति दिइसकेका छन् । चुक्ता पूँजी घटाउने सम्बन्धमा अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको पर्यटन मन्त्रालयले नियमावली संशोधन अन्तिम चरणमा पुगेको बताएको छ ।
Comments
Post a Comment