दुई नेपाली एयरलाइन्स ‘विश्वकै असुरक्षित’

January 8, 2015
 
पुस २३, काठमाडौं । नेपाल वायुसेवा निगम र तारा एयर ‘हवाई सुरक्षा’को दृष्टिले विश्वमै कमजोर देखिएका छन् । ‘एयरलाइन्स रेटिङ्स डटकम’द्वारा जारी हवाई सुरक्षासम्बन्धी वार्षिक उड्डयन सर्वेक्षण प्रतिवेदनमा यी दुई नेपाली कम्पनी विश्वकै असुरक्षित एयरलाइन्सका रूपमा देखिएका हुन् । प्रतिवेदनका अनुसार उत्कृष्ट हवाई कम्पनीका लागि ‘सेभेन स्टार’रेटिङ गरिएकोमा विश्वभरबाट चारओटा एयरलाइन्सले सबैभन्दा कम ‘वान स्टार’ पाएका छन् । त्यसमध्ये नेपालका यी दुई कम्पनी परेका छन् ।

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक हो भने तारा एयर यती एयरलाइन्सको सहायक कम्पनी हो । ताराले दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ । दुर्गममा बढी उडान गरेकै कारण उनीहरूका विमान बढी दुर्घटनामा परेका छन् । रेटिङ कम्पनीले दुर्घटनालाई मात्र आधार मान्दा नेपाल एयरलाइन्स र ताराको नकारात्मक रेटिङ भएको हो । ‘वान स्टार’ पाउने अन्य दुई कम्पनी भने अफगानिस्तानको ‘काम एयर’ र काजकिस्तानको ‘स्कट एयर’ रहेका छन् ।

रेटिङका क्रममा सम्बन्धित देशको नियामक निकायले एयरलाइन्स कम्पनीबारे गरेको ‘अडिट रिपोर्ट’का साथै ‘अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)’, ‘फेडरल एभिएशन एडमिनिष्टे«शन’लगायतको प्रतिवेदनलाई समेत आधार मानिएको बताइएको छ । साथै एयरलाइन्सको दुर्घटना सङ्ख्यालाई आधार मान्दै यात्रु र चालक दलका सदस्यको मृत्यु भएका कम्पनीलाई कम स्टार दिएको छ ।

पछिल्लो पटक नेपाल एयरलाइन्सको विमान गत फेब्रुअरीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको निधन भएको थियो ।  नेपाल एयरलाइन्सलाई कम सुरक्षित कम्पनीका रूपमा सूचीकृत गरेसँगै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले सन् २००७ मा ‘बोइङ ७५७–२००’ विमान बिग्रिएपछि बोकाको बलि दिइएको घटनालाई स्मरण गरेका छन् ।

वेबसाइटका अनुसार नेपालको यती एयरलाइन्सले भने ‘टू–स्टार’ प्राप्त गरेको छ । यी तीनबाहेक नेपालका अन्य कम्पनीलाई रेटिङमा समावेश गरिएको छैन । रेटिङमा सबैभन्दा कमजोर देखिएका सबै एयरलाइन्स कम्पनी गत महीना युरोपेली युनियनको प्रतिबन्धसम्बन्धी रिपोर्टमा निरन्तर समावेश भएका हुन् । विश्वका ४ सय ४९ एयरलाइन्सलाई समावेश प्रतिवेदनमा ५० कम्पनीले ‘थ्रीस्टार’भन्दा कम रेटिङ प्राप्त गरेको बताइएको छ ।

‘क्वाण्टास’ विश्वकै सुरक्षित एयरलाइन्स
अष्टे«लियाली एयरलाइन्स कम्पनी ‘क्वाण्टास’ विश्वकै सुरक्षित एयरलाइन्सका रूपमा रेटिङको शीर्षस्थानमा रहेको छ । एयर न्यूजिल्याण्ड, ब्रिटिश एयरवेज, क्याथे प्यासिफिक, इमिरेट्स, इत्तिहाद एयरवेज, इभा एयर, फिनएयर, लुफ्थांसा र सिङ्गापुर एयरलाइन्स उत्कृष्ट १० सुरक्षित कम्पनीभित्र पर्न सफल भएका छन् । विश्वभरका १ सय ४९ कम्पनीले रेटिङमा ‘सेभेनस्टार’ प्राप्त गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Comments