नेपाल–श्रीलङ्का : सीधा हवाई सम्पर्क पुनः जोडिँदै

December 24, 2014
पुस ८, काठमाडौं । नेपाल र श्रीलङ्काबीच हवाई सम्पर्क पुनःस्थापित हुने सम्भावना बढेको छ । श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी ‘मिहिन लङ्का’ले काठमाडौं–कोलम्बो रूटमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएपछि यस्तो सम्भावना बढेको हो । मन्त्रालयका उपसचिव प्रमोद नेपालले कम्पनीका तर्पmबाट आवश्यक सबै कागजात प्राप्त भएपछि सरकारले अन्तिम निर्णय गर्ने बताए । मलेशियाली समाचार संस्था बर्नामाले सो रूटमा सन् २०१५ मार्चदेखि उडान शुरू हुनसक्ने उल्लेख गरेको छ । मन्त्रालयका अनुसार मिहिन लङ्काले यस रूटमा दैनिक उडान गर्ने प्रस्ताव गरेको छ । मिहिन श्रीलङ्काको ‘लो कष्ट एयरलाइन्स कम्पनी’ हो ।

यी दुई मुलुकबीच सीधा हवाई सम्पर्क स्थापित भएमा श्रीलङ्काबाट नेपाल भ्रमणमा ठूलो सङ्ख्यामा आउने पर्यटक प्रत्यक्ष लाभान्वित हुनेछन् । मन्त्रालयका अनुसार सन् २०१२ मा झण्डै ७० हजार श्रीलङ्काली पर्यटकले नेपाल भ्रमण गरेका थिए । गतवर्ष भने श्रीलङ्काबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा निकै कमी आएको थियो । गतवर्ष ३२ हजार ७ सय ३६ श्रीलङ्काली पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए ।

अहिले अधिकांश श्रीलङ्काली पर्यटक स्थलमार्गबाट नेपाल आउने गरेका छन् । उनीहरूले भैरहवा नाका प्रयोग गर्छन् । ‘यी दुई मुलुकबीच सीधा हवाई सम्पर्क स्थापित हुनसके पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्छ,’ नेपालले भने, ‘तर, उडान शुरू गर्न कम्पनीका तर्पmबाट सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ ।’ बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलङ्काका अधिकांश पर्यटक धार्मिक भ्रमणमा लागि नेपाल आउने गर्छन् । उनीहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो ।

श्रीलङ्कामा गृहयुद्ध सकिएसँगै नेपाल र श्रीलङ्काबीच हवाई सेवा पुनःस्थापना गर्ने विषयमा छलफल भएको थियो ।

त्यसै क्रममा दुई मुलुकबीच सन् २००९ मै हवाई सेवा सम्झौता भए पनि अहिलेसम्म उडान भने शुरू हुन सकेको थिएन । काठमाडौं–कोलम्बो रूटमा नेपाल वायुसेवा निगमले यसअघि उडान गरिसकेको छ । श्रीलङ्कामा गृहयुद्ध चर्किएसँगै निगमको उडान स्थगित भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूबीच नेपाल आकर्षक गन्तव्यका रूपमा स्थापित भइरहेको छ ।

यसैबीच, मलेसियाली एयरलाइन्स कम्पनी मालिन्दोले आगामी फेब्रुअरी ६ बाट काठमाडौं–क्वालालाम्पुर दैनिक उडान शुरू गर्ने भएको छ । कम्पनीले १ सय ८० सीट क्षमताको बोइङ ७३७–८०० बाट उडान गर्ने घोषणा गरेको छ । काठमाडौं मालिन्दोको १८औं अन्तरराष्ट्रिय गन्तव्य हो । दक्षिण एशियामा भने मालिन्दोको गन्तव्य ८ पुगेको छ ।

Comments