दुसित थानी पुनः नेपाल आउँदै

January 5, 2015
अन्नपूर्णसँग यसै साता सम्झौता हुने
पुस २०, काठमाडौं । पछिल्ला दिनमा नेपालको हस्पिटालिटी क्षेत्रमा विदेशी लगानी तथा ब्राण्ड भित्रने क्रमको नयाँ कडीमा थाइल्याण्डको हस्पिटालिटी कम्पनी ‘दुसित थानी पब्लिक लिमिटेड’ जोडिने भएको छ । दुसित थानीले दरबारमार्गस्थित होटल अन्नपूर्णको व्यवस्थापनको जिम्मा लिने भएको हो । सो सम्बन्धमा यी दुई पक्षबीच यसै साता एक सम्झौता हुँदै छ ।

झण्डै ६० वर्षे इतिहास बोकेको एशियाकै अग्रणी होटल ब्राण्डमध्येको एक सो कम्पनीले यसअघि पोखरास्थित फूलबारी रिसोर्टको व्यवस्थापन सम्हालेको थियो । तर, फूलबारी व्यवस्थापनबाट सहयोग नपाएपछि दुसित थानी फिर्ता गएको थियो ।

यो सम्झौतासँगै अन्नपूर्णसँग साझेदारी गर्ने दुसित थानी दोस्रो अन्तरराष्ट्रिय कम्पनी हुनेछ । यसअघि भारतको प्रतिष्ठित ब्राण्ड ‘ताज’ले होटलको व्यवस्थापनको जिम्मा लिएको थियो । सन् १९९० मा २५ वर्षका लागि साझेदारीको सम्झौता गरेको ताज तत्कालीन माओवादीले करोडौं रुपैयाँ माग गरेपछि सन् २००४ मा सुरक्षा कारण देखाउँदै होटलबाट बाहिरिएको थियो ।

त्यसपछि पनि अन्तरराष्ट्रिय चेन ब्राण्डसँग सहकार्य गर्न खोजिरहेको अन्नपूर्णले डेढ वर्षभन्दा बढीको प्रयासपछि दुसित थानीलाई नेपाल आउन राजी गराएको हो ।  दुसित थानीले थाइल्याण्डबाहेक दुबई, मनिला, माल्दिभ्स, आबुधावी, कायरोलगायत स्थानमा समेत लक्जरी होटल सञ्चालन गरिरहेको छ । थाइल्याण्डभित्र हुआ हिन, पताया, फुकेत, बैङ्ककजस्ता मुख्य पर्यटकीय क्षेत्रमा दुसित थानीका होटल सञ्चालनमा छन् । सन् १९६५ मा स्थापित होटल अन्नपूर्ण पनि नेपालकै पहिलो पाँचतारे होटलका रूपमा स्थापित छ ।

दुसित थानीले व्यवस्थापनको जिम्मा लिएसँगै सोही कम्पनीको मापदण्ड पूरा गर्ने गरी अन्नपूर्णको पूर्वाधार तथा अन्य संरचनामा परिवर्तन गरिने होटलकी सञ्चालिका सृजना राणाले जानकारी दिइन् । सबैभन्दा पहिले दुसित थानीले तोकेको आतिथ्य, खाना तथा परिकार तथा व्यवस्थापन प्रणालीको मापदण्ड पूरा गर्ने कार्य थालिने राणाको भनाइ छ । उनका अनुसार आगामी जुलाईबाट होटलमा दुसित थानीको मापदण्ड पूरा गर्ने गरी काम प्रारम्भ हुँदै छ ।

पछिल्लो समय नेपाली हस्पिटालिटी क्षेत्रमा विदेशी कम्पनी प्रवेश गर्ने क्रम बढ्दै गएको छ । नेपालका अधिकांश पाँचतारे होटललाई अन्तरराष्ट्रिय चेन ब्राण्डले व्यवस्थापन गरिरहेका छन् । निर्माणाधीन लक्जरी होटलहरूलाई समेत ठूला ब्राण्डले नै व्यवस्थापन गर्दै छन् । यसमध्ये ‘मारियोट’, ‘अलफ्ट’, ‘शेराटन’, ‘लीला ग्रूप’जस्ता बहुराष्ट्रिय ब्राण्डहरू नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्दै छन् । यसअघि पनि नेपालको हस्प्टिालिटी उद्योगमा अन्तरराष्ट्रिय ब्राण्डहरू नआएका होइनन् । सोल्टी होटलमा ओबेराय र एभरेष्टमा शेराटनले साझेदारी गरेका थिए । तर, अहिले सोल्टीसँग क्राउन प्लाजा जोडएको छ भने एभरेष्टमा कुनै चेन ब्राण्ड आबद्ध भइसकेको छैन ।

‘क्लार्क समूह’ले छाड्यो फूलबारी रिसोर्ट
पुस २०, काठमाडौं (अस) । पोखरास्थित ५ तारे रिसोर्ट फूलबारीलाई व्यवस्थापन गर्दै आएको भारतीय समूह क्लार्कले जिम्मेवारी छाडेको छ । व्यापारिक घराना अमात्य समूहले सञ्चालन गरेको रिसोर्टलाई गतवर्षको जनवरीदेखि क्लार्क समूहले व्यवस्थापन जिम्मा लिएको थियो । १५ वर्षको सम्झौतापछि व्यवस्थापन थालेको क्लार्कले काम शुरू गरेको १ वर्षभित्रै जिम्मेवारी छाडेको हो ।

Comments