‘राष्ट्रिय शान्ति तथा शहीद पार्क’ सञ्चालन यसै वर्षभित्र

December 30, 2014
  - महत्त्वपूर्ण पर्यटकीय गन्तव्य
- झण्डै ४३ करोड लगानी
पुस १४, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामध्ये एक ‘राष्ट्रिय शान्ति तथा शहीद पार्क’ चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सरकारले गोकर्णमा निर्माणाधीन सो पार्क आव २०७१/७२ भित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेको थियो । यो पार्क मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहप्रवक्ता दामोदर भण्डारीले बताए ।

निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीको असावधानीका कारण भौतिक संरचना निर्माणमा ढिलाइ भए पनि निर्धारित समयमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । कम्पनीले भने निर्माण सामग्रीको अभावका कारण समस्या भोग्नुपरेको बताउँदै आएको छ । ‘निर्धारित समयमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ मन्त्रालयका सहप्रवक्ता भण्डारीले भने,’ दुई÷तीन महीना तलमाथि हुन सक्छ ।’

पार्क ४२ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण हुँदै छ । सरकारले देश निर्माणका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा सो पार्क बनाउने निर्णय गरेको थियो । सञ्चालनमा आएसँगै सो पार्क विदेशी राष्ट्रप्रमुख तथा अन्य अतिथिले नेपालप्रति सम्मान गर्ने ‘राष्ट्रिय गन्तव्य’ बन्ने मन्त्रालयको भनाइ छ । सरकारले आव २०६८/६९ को नीति तथा कार्यक्रममार्फत सो पार्क निर्माण गर्ने घोषणा गरेको थियो ।

शान्ति तथा शहीद पार्क ६ सय ५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा पार्कको भौतिक संरचना निर्माण जारी छ । पार्कमा ‘शहीद स्मारक’, ‘शहीद प्रतिमास्थल’, ‘शान्ति स्तम्भ’, ‘सङ्ग्रहालय’, ‘निजामती स्मारक’, ‘मनोरञ्जन स्थल’, ‘पिकनिक स्पट’, ‘भ्यू टावर’लगायत संरचना बनिरहेका छन् ।

पार्कक्षेत्रभित्र पर्ने धार्मिक स्थलको समेत संरक्षण गर्ने परियोजनाको लक्ष्य छ । ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका वातावरणविद्हरूको समेत प्रतिमा पार्कमा रहनेछ । पार्कलाई स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने केन्द्रका रूपमा विकास गरिने उपसचिव भण्डारी बताउँछन् । ‘पार्क सञ्चालनमा आएसँगै गोकर्ण क्षेत्र राजधानीभित्रको आकर्षक पर्यटकीय गन्तव्य बन्नेछ,’ उनले भने । पार्कसम्म पुग्न पक्की सडकको समेत सुविधा उपलब्ध छ ।

मन्त्रालयअन्तर्गतको ‘द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजना’अन्तर्गत सो परियोजना कार्यान्वयन भइरहेको छ । शान्ति पार्कलाई केन्द्र मानी राजधानीभित्रै अन्य पाँच स्थानमा समेत हरित पार्क बनाउने मन्त्रालयको योजना छ । ती पार्क बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मदन भण्डारी र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्नेछन् । साथै, विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार, तराई मधेश, थरुहट आन्दोलन र माओवादी युद्धका शहीदहरूको सम्झनामा पनि पार्क बनाउने निर्णय मन्त्रालयले यसअघि नै गरेको थियो ।

Comments