आतिथ्य उद्योगमा चिनियाँ लगानीकर्ताको आकर्षण

January 7, 2015
पछिल्लो ९ महीनामा १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता
पुस २२, काठमाडौं । नेपालमा विमानस्थल, वायुसेवा लगायत ठूला पर्यटन पूर्वाधारमा लगानी विस्तार गरिरहेको चीनले आतिथ्य क्षेत्रमा आफ्नो उपस्थिति आक्रामक रूपमा बढाइरहेको छ । उद्योग विभागको हालैको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा होटल तथा रेष्टुराँ व्यवसायमा चिनियाँ लगानी आउने क्रम ह्वात्तै बढेको छ । नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै चिनियाँ लगानीकर्ता होटल र रेष्टुराँ व्यवसायतर्फ आकर्षित भइरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

विभागका अनुसार पछिल्लो ९ महीनामा चिनियाँ लगानीकर्ताको नाममा ३४ ओटा नयाँ होटल तथा रेष्टुराँ दर्ता भएका छन् । ती उद्योगमा झण्डै १ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरिएको छ । अघिल्लो वर्षभरि २१ ओटा नयाँ होटल र रेष्टुराँमा मात्र चिनियाँ लगानीको प्रतिबद्धता आएको थियो ।  सो वर्ष ६६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।

हस्पिटालिटी उद्योगमा लगानी बढ्नु राम्रो भए पनि चिनियाँ लगानीका होटल र रेष्टुराँबाट राज्यले भने पर्याप्त फाइदा लिन नसक्ने होटल व्यवसायीहरूको भनाइ छ । ‘उनीहरू भाषा, खाना, परिकारलगायतमा समस्या देखाउँदै चिनियाँ पर्यटक आफ्नै होटलमा राख्छन्,’ होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष अमरमान शाक्यले भने, ‘आफ्नै मान्छेलाई रोजगारी दिन्छन् र चिनियाँ पर्यटकले नेपालमा गर्ने खर्च चीन मै फिर्ता लैजान्छन् ।’

चिनियाँ लगानीकर्ताले अहिले ठमेल क्षेत्रमा मात्र झण्डै दुई दर्जन होटल तथा रेष्टुराँ भाडामा लिएर सञ्चालन गरिरहेको बताइन्छ । चिनियाँ पर्यटक पुग्ने मुख्य पर्यटकीय क्षेत्रमा चिनियाँ लगानीका होटल र रेष्टुराँको सङ्ख्यासमेत बढ्दै गएको छ । विभागको तथ्याङ्कअनुसार चिनियाँ लगानीकर्ताले काठमाडौं, ललितपुर, पोखरा, काभ्रेदेखि रूपन्देहीसम्म होटल र रेष्टुराँ दर्ता गरेका छन् । स्वदेशी र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा होटल खोल्दामात्र नेपाली हस्पिटालिटी उद्योगले लाभ प्राप्त गर्ने व्यवसायीहरू बताउँछन् ।

यस वर्ष नयाँ दर्ता भएका चिनियाँ लगानीका अधिंकाश होटल र रेष्टुराँमा १ करोड रुपैयाँभन्दा माथि लगानीको प्रतिबद्धता व्यक्त भएको छ । ती होटल र रेष्टुराँले १ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सक्ने पनि बताइएको छ । यस प्रतिबद्धताअनुसार १ हजारभन्दा बढी बेड र झण्डै २ हजारले रेष्टुराँका सीट बढ्नेछन् । विभागका अनुसार चिनियाँ लगानीकर्ताको आकर्षण साना र मध्यम खालका होटल–रेष्टुराँतर्फ बढी छ । उनीहरूले पर्यटकस्तरको हस्पिटालिटी सेवालाई मात्र प्राथमिकता दिएका छन् ।

चीनले नेपाली पर्यटन उद्योगका अधिकांश क्षेत्रमा आप्mनो उपस्थिति बढाइरहेको छ । नेपालमा निर्माणाधीन मुख्य दुई अन्तरराष्ट्रिय विमानस्थल (गौतमबुद्ध र पोखरा)को जिम्मा चिनियाँ कम्पनीले प्राप्त गरेका छन् । राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमका लागि सहुलियत ऋणमा ४ विमानसमेत चीनले उपलब्ध गराउँदै छ । सोही मुलुकले अनुदानमा उपलब्ध गराएका दुई विमान नेपाल वायुसेवा निगमलाई उपलब्ध गराइसकेको छ ।

Comments