विदेशीलाई घटेको हिमाल आरोहण रोयल्टी जनवरी १ देखि कार्यान्वयन

December 21, 2014
पुस ५, काठमाडौं । सरकारले हिमाल आरोहणमा लाग्ने रोयल्टीमा गरेको कटौती अङ्ग्रेजी नयाँ वर्षसँगै कार्यान्वयनमा आउने भएको छ । विदेशी आरोहीको हकमा सन् २०१५ जनवरी १ देखि घटेको शुल्क लिएर आरोहण अनुमति दिन शुरू गर्ने सरकारको तयारी छ । ‘विदेशी आरोहीले नयाँ आरोहण अनुमति लिँदा जनवरी १ देखि कटौतीपछि कायम भएको शुल्क तिरे पुग्छ,’ पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने । सरकारले गत माघ अन्तिम साता हिमाल आरोहणमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । नेपाली आरोहीले भने २०७० को फागुन १ गतेदेखि नै सो सुविधा पाउँदै आएका छन् ।

आरोहण शुल्क कम भएसँगै हिमाल आरोहणमा आउने विदेशी आरोहीको सङ्ख्या अझ बढ्ने सरकारको अपेक्षा छ । अहिले प्रत्येक सिजनमा औसत ३० भन्दा बढी दलले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने गरेको विभागको तथ्याङ्क छ । पछिल्लो २ वर्षको तथ्याङ्कअनुसार हिमाल आरोहण अनुमति रोयल्टीबापत औसत वार्षिक रू. ३५ करोड सङ्कलन हुँदै आएको छ ।

घटेको शुल्कअनुसार अब प्रत्येक विदेशी आरोहीले वसन्त ऋतु (चैत–वैशाख)मा ‘नर्मल रूट’बाट सगरमाथा आरोहण गर्दा ११ हजार डलर (झण्डै रू. ११ लाख) तिरे पुग्छ । यसअघि सो शुल्क प्रतिव्यक्ति २५ हजार डलर (झण्डै रू. २५ लाख) थियो । शरद् ऋतुमा भने ५ हजार ५ सय डलर (झण्डै ५ लाख ५० हजार) तिर्दा पुग्छ ।
वर्षा ऋतुमा नर्मल रूटबाट सगरमाथा आरोहण गर्नेहरूका लागि प्रतिव्यक्ति २ हजार ७ सय ५० डलरमात्र तोकिएको छ । सगरमाथाको अन्य रूटबाट आरोहण गर्ने विदेशी आरोहीको हकमा शरद् र वर्षा ऋतुका लागि क्रमशः ५ हजार र २ हजार ५ सय डलरमात्र रोयल्टी शुल्क तोकिएको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि पनि घटेको शुल्कमा अनुमति लिन सकिने विभागको भनाइ छ ।

सगरमाथाबाहेक ८ हजार मिटरभन्दा अग्ला अन्य हिमालका लागि रोयल्टी शुल्क वसन्त ऋतुका लागि मात्र १ हजार ८ सय डलर तोकिएको छ । मध्य र सुदूरपश्चिमका हिमाल आरोहण गर्नेहरूले भने कुनै पनि रोयल्टी तिर्नु पर्दैन । नेपालका ७ सय ९२ हिमालमध्ये हाल ३ सय १० हिमाल आरोहणका लागि खुला गरिएको छ ।

त्यसमध्ये ३३ हिमाल नेपाल पर्वतारोहण सङ्घअन्तर्गत पर्छन् । सङ्घले समेत आरोहण रोयल्टीबापत घटेको शुल्क नै लिनेछ । यसैबीच, यसअघि अनुमति लिएर आरोहण नगरेका टोलीहरूको शुल्क भने फिर्ता नहुने बताइएको छ । गत वैशाखमा सगरमाथाको पहिलो क्याम्प नजिक गएको हिमपहिरोमा १६ जना शेर्पाको निधन भएपछि कतिपय समूह आरोहण स्थगित गरेर फर्किएका थिए । उनीहरूले अनुकूल समय मिलाएर आगामी सिजनमा सगरमाथा चढ्न सक्ने निर्णय सरकारले गरेको थियो । ‘जम्मा भइसकेको राजस्व भने फिर्ता हुँदैन,’ गौतमले भने ।

Comments