November 23, 2014
मङ्सिर ६, काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल
(हान)को त्रैमासिक बैठकमा भाग लिन सडक यात्रामार्फत केही समयअघि पोखरा
जाँदा काठमाडौं–पोखरा रूटमा देखिएका केही भोजनालयको नामले व्यवसायीको ध्यान
आकर्षित गर्यो । प्रायशः हवाई मार्गबाट आवतजावत गर्ने कतिपय व्यवसायी
राजमार्गका भोजनालयमा काठमाडौंका चर्चित होटलसँग नाम जुधाइएको पहिलोपटक
देख्दै थिए । त्यसपछि हानको पोखरा बैठकको एक एजेण्डा नै राजमार्गमा नाम
जुध्ने समस्याबाट पर्यटकमा पर्ने नराम्रो सन्देशसम्बन्धमा तय भयो ।
हानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवेश अर्यालका अनुसार पोखरा बैठकबाट फर्किएलगत्तै उनीहरूले सो समस्याबारे उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयबाट सो पत्रको जवाफ भने प्राप्त भइसकेको छैन ।
पर्यटकमा नकारात्मक सन्देश
सामान्यतया नेपाली ग्राहकले होटल या भोजनालयको नामलाई त्यत्ति धेरै महŒव दिँदैनन् । तर, विदेशी पर्यटकमा नामले ठूलो महŒव राख्छ । काठमाडौंका स्तरीय होटलमा वास बसेका पर्यटकले राजमार्गमा यात्रारत रहँदा सामान्य भोजनालयको नाम सोही होटलसँग जुधेको देख्दा नकारात्मक सन्देश जाने हानका महासचिव विनायक शाह बताउँछन् । ‘उनीहरू सो भोजनालयलाई पनि तारे होटलकै एक शाखाका रूपमा लिन्छन्,’ उनी भन्छन्, ‘यसले पर्यटक झुक्याउँछ ।’
हानका अनुसार राजमार्गमा सबैभन्दा बढी देखिने नाम ‘सोल्टी’ हो । कतिपय स्थानमा हायात होटलको नामसमेत राखेको पाइएको छ । चितवनको कुरिनटारनजीक यी दुई होटलको नाममा खुलेका भोजनालय देखिएका छन् । भैरहवामा ‘¥याडिशन रिसोर्ट’का नाममा एक स्तरीय होटलसमेत सञ्चालनमा छ ।
होटल आफैले ‘रिपोर्ट’ गर्दैनन्
राजमार्ग तथा उपत्यकाबाहिरका विभिन्न स्थानमा तारे होटलको तुलनामा कमसल सेवासहित सञ्चालित भोजनालय र गेष्ट हाउसको नाम जुधेकोसम्बन्धमा स्वयम् होटलले भने कुनै उजुरी गरेका छैनन् । नाम जुधेर समस्या परेकोसम्बन्धमा मन्त्रालय र छाता सङ्गठन हानमा आजसम्म कुनै गुनासो प्राप्त नभएको सम्बन्धित निकायले जानकारी दिएका छन् ।
पोखरा बैठकपछि भने व्यवसायीले यस विषयमा आवाज उठाउन थालेका छन् । सोही निर्णयसँगै मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको सीईओ अर्यालले बताए । सामान्यतया अति सामान्य होटल र भोजनालयसँग आप्mनो नाम जुधाउँदा कुनै असर नपर्ने महसूस गरेपछि होटलले उजुरी नगरेको हुन सक्ने उनको अनुमान छ । ‘बढी पर्यटक आवतजावत गर्ने स्थानमै नाम जुध्न थालेपछि भने व्यवसायी सतर्क हुन थालेका छन्,’ अर्यालले भने ।
कसरी जुध्छन् नाम ?
नयाँ होटल काठमाडौंको हकमा पर्यटन विभाग, भुकृटीमण्डपमा दर्ता हुनुपर्छ । अधिकांश ठूला र तारे होटल विभागमै दर्ता हुने गरेका छन् । विभागमा नाम दर्ता गर्दा नाम जुध्ने सम्भावना नरहने अधिकारीहरू बताउँछन् । तर, जिल्लाको हकमा भने होटल र भोजनालयहरू साना उद्योगका रूपमा स्थानीय प्रशासनमा दर्ता हुन्छन् । त्यस अवस्थामा जिल्लाको ‘रेकर्ड’मा तारे होटलको नाम उल्लेख नहुँदा अधिकांश नाम जुध्ने गरेको बताइन्छ ।
सोही समस्या नदोहोरियोस् भनी व्यवसायीहरूले जुनसुकै स्थानको होटल भए पनि विभागमै दर्ता गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘सरकारी निकाय ‘डाटा–बेस’ प्रविधिमा सञ्चालन हुने हो भने यस प्रकारको समस्या रहँदैन,’ अर्याल भन्छन्, ‘नयाँ व्यवसायीबाट प्रस्तावित नाम कम्प्युटरमा राख्नासाथ जुधे–नजुधेको पत्ता लाग्ने हो भने यो समस्या रहँदैन ।’
विभाग पनि पूर्ण डिजिटल प्रविधिबाट कार्यालय सञ्चालन गर्ने तयारीमा छ । विभागका महानिर्देशक तुलसीप्रसाद गौतमका अनुसार आगामी २ वर्षभित्र सो परियोजना कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।
Comments
Post a Comment