अधिकांश भिसा आवेदन अनलाइनबाट

January 2, 2015
 स्थलमार्गमा सन् २०१५ भित्र शुरू गर्ने तयारी
पुस १७, काठमाडौं । नेपाल प्रवेशका लागि भिसा लिन चाहने अधिकांश विदेशी नागरिकले ‘अनलाइन’बाट आवेदन दिन थालेका छन् । सन् २०१४ जनवरीदेखि अध्यागमन विभागले भिसा आवेदनका लागि अनलाइन सुविधा कार्यान्वयनमा ल्याएको थियो । अहिले नेपाल प्रवेशका लागि दिइएका भिसा आवेदनमध्ये ७० प्रतिशत अनलाइनबाट प्राप्त हुने गरेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अनलाइन आवेदनमा अभ्यस्त नभएका, त्यसको प्रक्रिया थाहा नपाएका र हतारमा आउनेहरूले मात्र हस्तलिखित आवेदन पेश गर्ने गरेका छन् । अनलाइन आवेदनको प्रयोगबाट विभाग र पर्यटक दुवैको समय र खर्च बचत हुने उनले बताए ।

विभागले हाल हवाई मार्ग प्रयोग गरी नेपाल भित्रने पर्यटकका लागि मात्र अनलाइन आवेदनको सुविधा उपलब्ध गराएको छ । सो कार्यका लागि पहिलो चरणमा काठमाडौंस्थित विभागको केन्द्रीय कार्यालयमा एउटा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ५ ओटा मेशिनमार्पmत भिसा उपलब्ध गराइरहेको छ । घरमा बसीबसी आवेदन दिन सकिने भएपछि यसको उपयोग बढी हुने गरेको विभागको भनाइ छ ।

अनलाइनमार्पmत दिइएको आवेदन नम्बर ‘इण्ट्री’ गर्नासाथ प्राप्त हुने विवरणका आधारमा पर्यटकलाई भिसा उपलब्ध गराइन्छ । ढकालका अनुसार त्रिभुवन विमानस्थल र कार्यालयमा विभिन्न बैङ्कका काउण्टर राखिएका छन् । अनलाइन आवेदन दिएका पर्यटकले सोही काउण्टरमा पैसा तिरे पुग्छ ।

विमानस्थलमा पर्यटकको सहयोगका लागि विभागले २ जना कर्मचारीसमेत खटाएको छ । विभागले आप्mनो सेवालाई ‘स्मार्ट’ बनाउने तथा कागजको प्रयोग घटाउँदै वातावरणमैत्री सेवा दिने उद्देश्यले अनलाइन भिसा आवेदन प्रारम्भ गरेको थियो । आवेदन दिएको १५ दिनसम्म सो आवेदन सिष्टममा सुरक्षित हुने प्रविधि विभागसमक्ष छ । अत्याधुनिक प्रविधिको अभावमा अनलाइनबाटै ‘पेमेण्ट’ सुविधा भने भिœयाउन नसकेको विभागले बताएको छ ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि समेत सन् २०१५ भित्र अनलाइन आवेदनको सुविधा ल्याउने तयारी विभागको छ । महानिर्देशक ढकालले भने, ‘अर्थ मन्त्रालयबाट बजेट प्राप्त भयो भने सन् २०१५ भित्र स्थलमार्गका नाकामा समेत अनलाइन आवेदन सुविधा उपलब्ध हुन्छ ।’ अहिले कूटनीतिक र सरकारीबाहेक सबै प्रकारका भिसाका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ । कूटनीतिक र सरकारी भिसाका लागि भने परराष्ट्र मन्त्रालयमार्पmत आवेदन दिनुपर्छ ।

Comments