‘एयरलाइन्स’ र ‘एयरक्राफ्ट’ थपिंदा व्यस्त गन्तव्यमा प्रतिस्पर्धा

December 16, 2014
मङ्सिर २९, काठमाडौं । नयाँ हवाई सेवाप्रदायक कम्पनी सौर्य एयरको आगमन तथा पुराना कम्पनीले नयाँ एयरक्राफ्ट सङ्ख्या बढाएसँगै आन्तरिक उडानका व्यस्त गन्तव्यमा प्रतिस्पर्धा बढेको छ । विशेषगरी पर्यटकीय गन्तव्य पोखरा र तराईका ठूला विमानस्थलमा उडान गर्न एयरलाइन्स कम्पनीबीच अहिले होडबाजी चलेको हो । जहाज सङ्ख्या कम हुँदा थुप्रै गन्तव्य गुमाएको नेपाल एयरलाइन्सले गत असार दोस्रो साताबाट नयाँ चिनियाँ जहाज ‘एमए ६०’ बाट व्यावसायिक उडान थालेको थियो । त्यसयता निगमले अधिकांश ठूला विमानस्थलमा उडान विस्तार गरिसकेको छ ।

यस्तै यसै महीनाबाट व्यावसायिक उडान थालेको सौर्य एयरलाइन्सले समेत व्यस्त तथा ठूला विमानस्थललाई लक्षित गर्दै गन्तव्य विस्तार गरेसँगै यी रूटमा प्रतिस्पर्धा बढेको हो । विराटनगरबाट उडान शुरू गरेको सौर्यले अहिले भैरहवामा पनि सेवा दिइरहेको छ । आउँदो पुस ३ गतेदेखि भद्रपुर दैनिक उडान गर्ने कम्पनीको योजना छ । आगामी २ महीनाभित्र दोस्रो जहाज भिœयाउने तयारीमा रहेको सौर्यले धनगढीमा समेत दैनिक उडानको तयारी भइरहेको बताएको छ । नेपाल एयरलाइन्स र सौर्य एयरलाइन्सको अनुपस्थितिमा तराईका अधिकांश गन्तव्यमा बुद्ध एयर, यती एयर र सीता एयरले सेवा दिइरहेका थिए । पोखरा, लुक्ला, भैरहवाजस्ता अन्य व्यस्त गन्तव्यमा भने सिम्रिक एयरलाइन्ससमेत प्रतिस्पर्धामा छ ।

एयर डाइनेष्टीले समेत अहिले काठमाडौं–पोखरा उडान गरिरहेको छ । गोमा एयरले निकट भविष्यमा काठमाडौं–पोखरा रूटमा उडान गर्ने योजना बनाएको छ भने नेपाल एयरलाइन्सले भैरहवा–पोखरा रूटमा उडान शुरू गर्ने बताएको छ । नेपाल आउने ९० प्रतिशत पर्यटक पोखरा पुग्ने भएकाले सो गन्तव्यमा कम्पनीहरू बढी आकर्षित हुने गरेको गोमा एयरका प्रमुख कार्यकारी निर्देशक मनोज केसी बताउँछन् । मानिसको आम्दानी बढ्नु र आर्थिक गतिविधि वृद्धि भएसँगै तराईका गन्तव्यमा कम्पनीहरूले यात्रुको अभाव भोग्नु नपर्ने उनको भनाइ छ । अत्याधुनिक र ठूलो (जेट इञ्जिनयुक्त) जहाजबाट सेवा प्रारम्भ गरेको सौर्य एयरले सबै गन्तव्यमा यात्रुबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताएको छ ।

कम्पनीका बजार प्रबन्धक मुकेश खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नयाँ एयर अपरेटर सर्टिफिकेट (एओसी)को मापदण्ड पूरा गर्दै मान्यता प्राप्त गर्ने सौर्य एयर पहिलो कम्पनी हो । ‘प्रतिस्पर्धी मूल्यमा सर्वोत्कृष्ट सेवा दिने हाम्रो लक्ष्य हो,’ उनले भने ।

अत्याधुनिक सुविधासँगै नयाँ कम्पनी प्रतिस्पर्धामा आएपछि पुराना कम्पनीलाई चुनौती थपिएको नियमित सेवा दिइरहेका कम्पनीहरू पनि स्वीकार्छन् । ‘नियामक निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्नुका साथै नियमित उडानमा रहेका कम्पनीले यात्रु रिझाउन अझ बढी सुधार गर्नुपर्ने हुन्छ,’ यती एयरका बजार प्रबन्धक रोशन रेग्मी भन्छन्, ‘तर, पुराना कम्पनीले कमाएको विश्वास र नियमित ग्राहकमा कुनै फरक पर्दैन ।’ एउटै गन्तव्यमा नयाँ कम्पनी थपिँदा यात्रुले बढीभन्दा बढी छनोटको अवसर पाउने उनको भनाइ छ ।

Comments