December 30, 2014
पुस १४, काठमाडौं । अङ्ग्रेजी नयाँवर्ष नजिकिएसँगै राजधानीका तारे होटल र
रिसोर्टहरूमा चहलपहल बढेको छ । यसै अवसरमा ती होटल र रिसोर्टहरूले विभिन्न
‘अफर’ र प्याकेज’समेत उपलब्ध गराउने भएका छन् । क्रिसमस, नयाँवर्षजस्ता
पर्वलाई नेपालमा पनि धुमधामका साथ मनाउने प्रचलन बढेसँगै यस मौसममा पर्यटक
आगमनमा समेत सुधार हुन्छ । राजधानीका अधिकांश तारे होटलमा ‘न्यू इयर इभ’का
अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदै छन् । कतिपय होटलले कम समयावधिको
अफर र प्याकेजसमेत सार्वजनिक गरेका छन् ।
होटल साङ्ग्रिला एण्ड रिसोर्टले काठमाडौं र पोखरामा विशेष कार्यक्रमका साथ नयाँवर्षलाई स्वागत गर्दै छ । होटलले दुवै स्थानमा साङ्गीतिक प्रस्तुतिको तयारी गरिरहेको छ । होटलले आकर्षक ‘डोर प्राइज’सहित ‘गाला डिनर’ उपलब्ध गराउँदै छ । कुपण्डोलस्थित समिट होटलले पनि इभका अवसरमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । समिटमा प्रतिव्यक्ति ३ हजार ५ सय र प्रतिजोडीका लागि ६ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
डिसेम्बर ३१ का लागि बौद्ध, तारागाउँस्थित हायात होटलमा विभिन्न तीनओटा अफर उपलब्ध छन् । होटलका अनुसार ‘दिवा’, ‘इभ’ र रातको बसाइका लागि ती अफर ल्याइएको छ । होटलस्थित ‘क्याफे’, ‘रक्स रेष्टुराँ’ र ‘रक्स बार’मा छुट्टाछुट्टै इभेण्ट हुने बताइएको छ । सो दिन होटलमा प्रतिव्यक्ति ९ हजार ९ सय रुपैयाँमा डिनर र थप ९ हजार रुपैयाँमा एक जोडीका लागि कोठा उपलब्ध हुनेछ ।
उता, गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले पनि थुप्रै सेवासहितको ‘न्यू इयर प्याकेज’ सार्वजनिक गरेको छ । ‘न्यू इयर इभ’ विशेष कार्यक्रमका लागि प्रतिजोडी ९ हजार ९ सय ९९ रुपैयाँको टिकट उपलब्ध गराएको रिसोर्टमा सो रात बिताउने जोडीले २० हजार ९ सय ९९ रुपैयाँमा कोठा प्राप्त गर्छन् । सो मूल्यमा ‘डिनर’, डिङ्क्स, डोर प्राइज, ब्रेकफाष्ट, स्टीम, साउना, जाकुजी, योगालगायत सुविधा राखिएको छ ।
दरबारमार्गस्थित याक एण्ड यतीले नयाँवर्षकै अवसर पारेर ‘सनराइज रेष्टुराँ’, ‘पियानो लाउञ्ज एण्ड बार’ र चिम्नी फाइन डाइनिङ रेष्टुराँमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै छ । सोल्टीमोडस्थित होटल सोल्टीले नयाँवर्षको पूर्वसन्ध्यामा ६० प्रकारका परिकारसहितको मेनु समावेश ‘स्पेशल गाला डिनर’ उपलब्ध गराउँदै छ । होटलले बढीमा प्रतिव्यक्ति ६ हजार रुपैयाँ सम्ममा टिकट उपलब्ध हुने बताएको छ । दरबारमार्गस्थित अर्को पाँचतारे होटल अन्नपूर्णमा समेत विशेष कार्यक्रम आयोजना हुने भएको छ । सो कार्यक्रमका लागि प्रतिजोडी १४ हजार र प्रतिव्यक्ति ८ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । कुपण्डोलस्थित होटल हिमालयले पनि नयाँवर्षको पूर्वसन्ध्यामा विशेष कार्यक्रम राखेको छ ।
लाजिम्पाटस्थित ¥याडिशन होटलले ‘द काउण्टडाउन बिगन’ नाममा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रमका लागि प्रतिव्यक्ति ५ हजार ९ सय ९९ र प्रतिजोडी ९ हजार ९ सय ९९ रुपैयाँ टिकट शुल्क राखिएको छ । गोदावरीस्थित गोदावरी भिलेज रिसोर्टले पनि नयाँवर्षको पूर्वसन्ध्यालाई लक्षित गर्दै विभिन्न सुविधासहितको प्याकेज सार्वजनिक गरेको छ । रिसोर्टमा एक जोडीका लागि ११ हजार ९ सय ९९ रुपैयाँको प्याकेज उपलब्ध गराइएको छ ।
हरेक पाँचतारे होटलले ‘न्यू इयर इभ’का लागि साङ्गीतिक प्रस्तुति समावेश गरेका छन् । सो अवसरमा नेपाली तथा विदेशी ब्याण्डले ती होटलहरूमा साङ्गीतिक प्रस्तुति दिँदै छन् । बानेश्वरस्थित एभरेष्ट होटलमा भारतबाट आएका कलाकारले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । होटलले प्रतिव्यक्ति ७ हजार ५ सय र प्रतिजोडी १४ हजार रुपैयाँ टिकट शुल्क तोकेको छ ।
बत्तीसपुतलीस्थित द्वारिकाज होटलले ‘शिशिर प्याकेज’का नामका दुईमहीने अफर ल्याएको छ । होटलका अनुसार १ डिसेम्बरदेखि ३१ जनवरीसम्म सो अफर कायम रहनेछ । ३ रात ४ दिनको सो अफरको मूल्य प्रतिजोडी ९ सय ५५ अमेरिकी डलर राखिएको छ ।
Comments
Post a Comment