१८औं सार्क सम्मेलन : पाँचतारे होटललाई ‘एक्स्ट्रा बिजनेश’

November 7, 2014
 
 
कात्तिक २०, काठमाडौं । झण्डै ८ सय जना विदेशी पाहुना सहभागी हुने १८औं सार्क सम्मेलनका अवसरमा ४ दिन नेपालका अधिकांश पाँचतारे होटलको चहलपहल ह्वात्तै बढ्दै छ । सार्क सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितको प्रतिनिधि, पर्यवेक्षक राष्ट्रका प्रतिनिधि र सञ्चारकर्मी गरी सो सङ्ख्यामा विदेशी पाहुना नेपाल आउने परराष्ट्र मन्त्रालयको अनुमान छ । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेका अनुसार कुनै मुलुकबाट १५ देखि २० जना र कुनैबाट ५० देखि ७० जनासम्म डेलिगेट्स सम्मेलनमा उपस्थित हुँदै छन् । उनीहरू सबैलाई पाँचतारे होटलमा राख्ने व्यवस्था मिलाइएको छ । नेपालका अधिंकाश होटलले ‘बिजनेश’ प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । ‘यो सम्मेलनले होटलहरूलाई एक्स्ट्रा बिजेनश प्रदान गर्नेछ,’ होटल सङ्घ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्याल भन्छन्, ‘सबै होटललाई बाँडेर दिइएका कारण विवाद उत्पन्न हुन पाएको छैन ।’

सम्मेलन अवधिभर सोल्टीमोडस्थित सोल्टी होटल केन्द्रमा रहनेछ । सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख बस्ने सो होटलमा ‘सार्क स्वीट रूम’को व्यवस्था छ । होटलले अघिल्लो सार्क सम्मेलनअगावै निर्माण गरेको आधा दर्जन कोठा राष्ट्र तथा सरकार प्रमुखको बसाइमा प्रयोग गर्दै छ । सोल्टीमा सदस्य राष्ट्रका विशिष्ट अतिथिसहित अन्य प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । सो होटलमा डाक्टर, नर्स र एम्बुलेन्ससहितको मेडिकल टोलीसमेत खटाउने आयोजकको तयारी छ । सोल्टीमा सार्क सम्मेलन सचिवालयको समेत व्यवस्था हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार दरबारमार्गस्थित याक एण्ड यती होटलमा पर्यवेक्षक राष्ट्रका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । उनीहरू नोभेम्बर २५ देखि २८ सम्म सो होटलमा रहनेछन् । सञ्चारकर्मी तथा अन्य सहभागी भने दरबारमार्गस्थित होटल अन्नपूर्ण, लाजिम्पाटस्थित ¥याडिशन होटल र नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा रहने व्यवस्था मिलाइएको छ । ¥याडिशनमा मिडिया सेण्टरसमेत राख्ने तयारी आयोजकको छ ।

परराष्ट्रमन्त्री पाण्डेका अनुसार सदस्य राष्ट्रका कूल १३ जना डेलिगेट्सको खर्च सरकारले बेहोर्दै छ । अन्य पाहुनाले भने हस्पिटालिटी खर्च आफै बेहोर्नुपर्नेछ । तर नेपाल आउने सबै पाहुना रहने व्यवस्था भने आयोजकले नै मिलाइदिनेछ ।

तोकिएका होटलमा विशेष मूल्यमा कोठा उपलब्ध हुने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी ‘डेलिगेट्स’ तथा ‘मिडिया ह्याण्डबूक’मा उल्लेख छ । मन्त्रालयले १ सय डलरभन्दा कम मूल्यमा कोठा उपलब्ध हुने जानकारी सदस्य राष्ट्रहरूलाई दिइसकेको बताइएको छ । पर्यटकीय मौसम भएका कारण सक्दो छिटो होटल बुक गर्न ह्याण्डबूकमार्पmत सुझाव दिइएको छ । यस मौसममा नेपालका अधिकांश पाँचतारे होटलको अकुपेन्सी ९० देखि शतप्रतिशतसम्म पुग्ने गरेको तथ्याङ्क छ ।

सम्मेलनपछि माउण्टेन फ्लाइटको योजना
सम्मेलनमा सहभागी इच्छुक डेलिगेट्सलाई ‘माउण्टेन फ्लाइट’मा लैजाने तयारीसमेत गरिएको छ । मन्त्री पाण्डेका अनुसार २८ तारीख बिहान जान चाहने पाहुनालाई त्यस्तो व्यवस्था गरिनेछ । त्यसबाहेक पाहुनालाई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण गराउने मन्त्रालयको योजना छ ।

Comments