विमानस्थलमा पर्यटकले सास्ती भोग्नुपर्दैन

कात्तिक २५, काठमाडौं । १८औं सार्क सम्मेलनका लागि विशिष्ट अतिथिहरूको आगमन हुने बेला त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)मा पर्यटकले सास्ती भोग्नु नपर्ने भएको छ । विमानस्थलले पर्यटकको आगमन र बहिर्गमनका अवसरमा पर्यटकलाई कुनै पनि असर नपर्ने गरी व्यवस्था मिलाएको बताएको छ । सम्मेलनमा विशिष्ट अतिथिको सुरक्षासँगै पर्यटकको सुविधासमेत महत्त्वपूर्ण हुने भन्दै विशेष व्यवस्था मिलाइएको विमानस्थलस्थित सुरक्षा महाशाखालाई उद्धृत गर्दै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले जानकारी दिएको छ ।

विमानस्थल झरिसकेपछि र विमान उड्नुअघि पर्यटकले सास्ती भोग्नु नपरोस् भनी विशेष व्यवस्था मिलाउन आग्रह गरिएको नाट्टाका कोषाध्यक्ष नारायणप्रसाद गुरुङ कोनेले जानकारी दिए । नाट्टा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा व्यवस्थापन महाशाखाबीचको छलफलपछि पर्यटकका लागि छुट्टै व्यवस्था गरिएको बताइएको छ । हालै नाट्टाका प्रतिनिधिले सुरक्षा महाशाखा प्रमुखसँग भेट गरी ‘कि तीन दिनसम्म पर्यटक आगमन रोक्नुपर्ने, नभए नेपाल आएका पर्यटकले दुःख पाउन नहुने’ बताएका थिए ।

सुरक्षा महाशाखाका अनुसार पर्यटक ‘पिकअप’ र ‘ड्रप’का लागि टीआईए गएका सवारीलाई ‘गोल्डेन गेट’मा कुनै अवरोध हुनेछैन । सम्मेलन अवधिभर पर्यटक सवारीका लागि विमानस्थलको नवनिर्मित पार्किङस्थलमा व्यवस्था मिलाइएको छ । ती सवारीले पर्यटक ‘पिकअप’ र ‘ड्रप’ गरेपछि तुरुन्तै पार्किङस्थलमा फर्कनुपर्नेछ । पर्यटक विमानस्थलमा झरिसकेपछि परिचयपत्र बोकेको एकजना प्रतिनिधिले पर्यटक ‘रिसिभ’ गर्ने र पार्किङबाट सवारी मगाएर सम्बन्धित गन्तव्यमा जान सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

विशिष्ट अतिथिको आगमनका बेला हुने हवाई ट्राफिकलगायत साझा समस्याबाहेक विमानस्थल क्षेत्रभित्र पर्यटकले दुःख भोग्नुपरे त्यसबाट देशको छवि बिग्रने भन्दै नाट्टाले विमानस्थल व्यवस्थापनको ध्यानाकर्षण गराएको थियो । नेपालमा बढी पर्यटक आगमन हुने महीनामध्ये नोभेम्बर पनि एक हो । टे«किङ र पर्वतारोहण प्रयोजनका लागि यस मौसममा नेपाल आउने पर्यटकको चाप बढ्ने गर्छ । विमानस्थल कार्यालयले सार्क अवधिभर विमानस्थलमा सर्वसाधारणको आगमनमा कडाइ गरिएको बताएको छ । ‘भिजिटर पास’ लिएर आफन्त छाड्न र लिन जाने व्यवस्थासमेत सार्क अवधिभरका लागि स्थगित भएको छ । विमानस्थलमा सवारी चाप र मानिसको भीडभाडसमेत कम गर्ने विमानस्थलको योजना छ ।

Comments