नेपालमा पहिलोपटक ‘होम स्टे ट्रेक’ सञ्चालन

November 11, 2014
कात्तिक २४, काठमाडौं । मौलिक संस्कृति, भौगोलिक विविधता तथा स्थानीय खानाका पारखी विदेशी पर्यटकले नेपालमा २ साता लामो ‘होम स्टे ट्रेक’को आनन्द लिन पाउने भएका छन् । ‘एस द हिमालय ट्रेकिङ’ले तत्कालका लागि काठमाडौंदेखि गोर्खा जिल्लाका विभिन्न ग्रामीण इलाकालाई समेटेर ट्रेक शुरू गरेको जानकारी दिएको छ । नेपालमा कुनै पनि कम्पनीबाट होम स्टे बसाइसहितको ट्रेक सञ्चालन गरिएको यो पहिलो हो । कम्पनीले १ हजार २ सय १० डलर (झण्डै रू. १ लाख २० हजार) प्रतिव्यक्ति मूल्यमा सो अवधिको ट्रेक सञ्चालनमा ल्याएको हो । २ देखि ४ जनासम्मको समूहमा जानेलाई ६ सय ६० डलरको प्याकेज उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५ भन्दा बढी समूहमा जानेले भने प्रतिव्यक्ति ५ सय ५० डलरमै सो यात्रा गर्न सक्नेछन् ।

१३ दिन लामो प्याकेजअन्तर्गत पर्यटकले कम्तीमा ८ रात ‘होम स्टे’मा बिताउन पाउनेछन् । सफा र सुन्दर गाउँमा पर्यटकलाई स्थानीय परिवारसँगै बस्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । होम स्टेमा रहँदा खानाका रूपमा दाल, भात, तरकारी, अचार, गुन्द्रुक, ढिँडोलगायत स्थानीय परिकार उपलब्ध हुनेछ । ट्रेक अवधिमा पर्यटकले स्थानीयको हरेक गतिविधिको प्रत्यक्ष अवलोकन गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार काठमाडौंका विभिन्न सम्पदाको अवलोकनसँगै शुरू हुने ट्रेकको तेस्रो दिन पर्यटक गोर्खाको खत्रीस्वाँरा गाउँमा पुग्नेछन् । सो गाउँ काठमाडौंबाट ७ घण्टाको सवारी र दुईघण्टे पैदल यात्रापछि पुगिन्छ । यात्राका क्रममा पर्यटक खत्रीस्वाँरासँगै अर्वाङ गाउँ, पिथे, मान्बु, मङ्गलटार र आरुपोखरीमा वास बस्नेछन् ।

मान्बु र आरुपोखरीमा दुई रात बिताउने सक्ने गरी यात्रा व्यवस्था मिलाइएको छ । आरुपोखरीपछि आरुघाटसम्म पैदल आएका पर्यटकलाई त्यसपछि भने सवारीसाधनमार्फत काठमाडौं फिर्ता गर्ने कम्पनीको योजना छ ।

‘होम स्टे ट्रेक’कै लागि नेपाल आएका पर्यटकलाई काठमाडौंमा रहँदा तीनतारे स्तरको होटलमा रहने व्यवस्था गरिनेछ । काठमाडौंदेखि गाउँसम्मको सवारी, स्थानीय स्तरमा रहँदा लाग्ने खाना खर्च, स्थानीय शुल्क तथा गाइड खर्च शुल्कमै समावेश गरिएको छ । गाउँ बसाइको अन्तिम रात मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा काठमाडौं बसाइको अन्तिम रात पर्यटकलाई ‘टिपिकल’ नेपाली परिकार उपलब्ध गराउने योजना कम्पनीको छ । ‘होम स्टे ट्रेक’बाट स्थानीय जनताको आर्थिक अवस्थामा सुधार हुनुका साथै मौलिक परम्परा र संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।

Comments