थानकोट–चन्द्रागिरि केबलकार दशैंअघि

रिसोर्ट, इच्छापुरेश्वर महादेव मन्दिर र ‘भ्यू टावर’ पनि बन्दै
कात्तिक २७, काठमाडौं । २०७२ सालको दशैंअघि नै काठमाडौं उपत्यकावासीले घरनजीकै केबलकार चढ्ने अवसर पाउने भएका छन् । सो अवधिभित्र सञ्चालनमा आउने गरी अहिले ‘चन्द्रागिरि केबलकार’ निर्माण भइरहेको छ । थानकोटदेखि चन्द्रागिरि डाँडासम्मको झण्डै २ किलोमिटर दूरीमा हाल केबलकार निर्माण भइरहेको छ । तीन चरणमा निर्माण सम्पन्न भइसक्ने सो केबलकारको पहिलो चरणको काम दशैंअघिसम्म सक्ने गरी भइरहेको चन्द्रागिरि केबलकारका एक सञ्चालकले जानकारी दिए ।

केबलकार मार्फत थानकोटबाट चन्द्रागिरि डाँडा ९ मिनेटमै पुग्न सकिने बताइएको छ । यसअघि केबलकार नयाँ वर्ष २०७२ को अवसर पारी सञ्चालनमा ल्याउने योजना बनाइएको थियो । तर, केही समयअघि निर्माण सामग्रीको आपूर्तिमा भएको अवरोधका कारण निर्धारित समय सार्नु परेको उनको भनाइ छ । उनका अनुसार अहिले केबलकारको माथिल्लो स्टेशन (चन्द्रागिरि)मा स्वच्छन्द निर्माण सेवा र तल्लो स्टेशनमा सीई कन्ष्ट्रक्शनले निर्माण कार्य गरिरहेका छन् ।

चन्द्रागिरि केबलकारको निर्माण कार्यको पहिलो चरणमा केबलकारसँगै चन्द्रागिरि डाँडामा रिसोर्ट, रेष्टुराँ, मन्दिर (इच्छापुरेश्वर महादेव) र ‘भ्यू टावर’समेत बन्दै छ । दोस्रो चरणमा चन्द्रागिरिमै तीनतारेस्तरको होटल निर्माण हुने बताइएको छ । तेस्रो चरणमा थानकोटमा फनपार्क र चन्द्रागिरि डाँडामा बगैंचा निर्माण गर्ने योजना रहेको ती सञ्चालकले जानकारी दिए । ती सबै परियोजना सम्पन्न गर्न कुल २ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजना आईएमई समूह, भाटभटेनी सुपरमार्केटलगायतको लगानीमा निर्माण भइरहेको छ । चन्द्रागिरि केबलकार निर्माणका लागि सिटीजन्स बैङ्कको अगुवाइमा नेपाल इन्भेष्टमेण्ट, ग्राण्ड बैङ्क, सिद्धार्थ बैङ्क र प्रभु बैङ्कले कर्जा लगानी गरेका छन् ।

सबै उमेरसमूहका मानिसलाई आकर्षित गर्न सक्ने गरी केबलकार निर्माण हुने सञ्चालकको दाबी छ । ‘फनपार्क, मन्दिर, रिसोर्ट र होटलले बच्चादेखि वृद्ध उमेरसम्मका मानिसलाई आकर्षित गर्नेछ,’ उनले भने, ‘यो एउटा प्याकेज परियोजना हो, जहाँ मनोरञ्जनदेखि सबै सुविधा उपलब्ध हुनेछन् ।’ परियोजनाको पहिलो चरण सम्पन्न भएपछि झण्डै २ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ । सम्पूर्ण काम पूरा भएपछि भने ५ सयभन्दा बढीले रोजगारी पाउने ती सञ्चालकले जानकारी दिए । नेपालमा हाल चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित केबलकारले नियमित सेवा दिइरहेको छ ।

Comments