‘होम स्टे अनुसन्धान केन्द्र’ बन्दै घलेगाउँ

November 3, 2014
 कात्तिक १६, काठमाडौं । होम स्टे कार्यक्रमका लागि दक्षिण एशियाकै नमूना गाउँ मानिने लमजुङको घलेगाउँ ‘होम स्टे अनुसन्धान केन्द्र’का रूपमा स्थापित बन्न थालेको छ । घलेगाउँमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा होम स्टे सञ्चालन गर्न चाहने मानिसको आगमन बढेको स्थानीयले जानकारी दिएका छन् । ‘यहाँ बिदा मनाउने, साहसिक पर्यटनमा रमाउने मात्र होइन, घलेगाउँबाट प्रदान गरिने सेवासुविधाबारे बुझ्ने मानिसको समेत आगमन ह्वात्तै बढेको छ,’ घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेले भने, ‘यो गाउँ राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रका लागि अनुसन्धान स्थल बन्दै छ ।’ २०५७ सालबाट होम स्टे कार्यक्रम प्रारम्भ भएको घलेगाउँमा हाल २६ ओटा घरले नियमित सेवा दिइरहेका छन् भने ३४ ओटा घर होम स्टेका लागि योग्य छन् । समितिका अनुसार घलेगाउँले हाल दैनिक १ सय २० जनासम्म पाहुनालाई सेवा दिन सक्ने क्षमता राख्छ ।

होम स्टे सिक्दै ‘सल्यान गाउँ’
कास्की जिल्लास्थित सल्यान गाविसमा होम स्टे कार्यक्रम सञ्चालन गर्ने स्थानीयको एक टोलीले घलेगाउँको स्थलगत अध्ययन गरेको छ । ‘खुम्बिला संरक्षण प्रतिष्ठान’को समन्वयमा सञ्चारकर्मीसहितको सो टोलीले घलेगाउँको स्थलगत अध्ययन गरेको हो । विशेषगरी विदेशी पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको सल्यान गाउँलाई घले गाउँभन्दा व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष जिङ्बाजाङ्बु शेर्पाले बताए । पर्याप्त भौतिक पूर्वाधार पुगिसकेको सो गाउँ विदेशी पर्यटकका नजरमा नमूना बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । सल्यान गाउँले २ वर्षअघि  होम स्टे कार्यक्रम शुरू गरेको हो ।

भारतीय सेनामा भर्ना हुनुपर्ने परम्पराका कारण युवा विदेशिएका कारण घलेगाउँले सेवाको गुणस्तर कायम राख्न निकै मेहनत गर्नुपरेको बताइन्छ । ‘यहाँ हरेक गतिविधि आमा समूहमार्फत भइरहेको छ,’ सचिव घलेले भने, ‘युवा सक्रिय हुने गाउँमा होम स्टे अवधारणा निकै सफल हुन्छ ।’ युवालाई होम स्टे कार्यक्रममा आकर्षित गर्न सके सल्यान गाउँसमेत नमूना बन्न सक्ने सुझाव घलेगाउँका स्थानीयको थियो ।

स्वदेशी पर्यटकको आकर्षण होम स्टेमा
नेपालको होम स्टे कार्यक्रममा आन्तरिक पर्यटकको आकर्षण देखिएको छ । नेपालकै नमूना मानिने घलेगाउँ पुग्नेमध्ये स्वदेशी पर्यटकको सङ्ख्या ९० प्रतिशतभन्दा बढी रहेको समितिको तथ्याङ्कमा उल्लेख छ । सचिव घलेका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा २३ हजारभन्दा बढी पर्यटक घलेगाउँमा पुगेका थिए । त्यसमध्ये विदेशी पर्यटकको सङ्ख्या ७ सयको हाराहारीमा मात्र थियो । गाउँमा पुग्ने विदेशी पर्यटक होम स्टेमा भन्दा आफ्नै क्याम्पमा बस्दा स्थानीयले उल्लेख आम्दानी गर्न नसक्ने स्थानीयको भनाइ छ । घलेगाउँमा नेपाली पर्यटकले एक रातका लागि प्रतिव्यक्ति ८ सय रुपैयाँदेखि माथिको मूल्यमा खाना–खाजासहितको आतिथ्य प्राप्त गर्छन् । स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमका लागि भने छुट्टै शुल्क तिर्नुपर्छ । लमजुङको सदरमुकाम बेंशीशहरबाट ३२ किलोमिटर टाढा पर्ने घलेगाउँ झण्डै ३ घण्टाको सडक यात्रामार्फत पुग्न सकिन्छ ।

Comments