November 4, 2014
कात्तिक १७, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को दोस्रो ‘ब्राण्ड
न्यू’ चिनियाँ जहाज ‘वाई–१२ई’ काठमाडौं अवतरण गरेको छ । चीन सरकारबाट
अनुदानमा प्राप्त सो जहाज यसअघि गत असार मसान्तभित्रै नेपाल आइपुग्ने
तालिका थियो । चीनले अङ्ग्रेजी भाषामा दक्ष पाइलट उपलब्ध नगराएका कारण
निर्धारित समयमा जहाज नेपाल ल्याउन नसकिएको निगमको भनाइ छ । १८ सीट
क्षमताको सो जहाजलाई नेपाली नाम ‘कोइली’ दिइएको छ । कोइलीमार्फत मध्य तथा
सुदूरपश्चिमस्थित दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने निगमको योजना छ ।
सो जहाज चीनले गत असार २२ गते नै नेपाललाई हस्तान्तरण गरेको थियो ।
चीनले अनुदानस्वरूप उपलब्ध गराएका दुई जहाजमध्ये ५६ सीट क्षमताको ‘एमए–६०’ गत वैशाखमै नेपाल ल्याइएको थियो । सो जहाजमार्फत निगमले हाल विराटनगर, भद्रपुर, भैरहवा, धनगढीलगायत सुगम क्षेत्रमा नियमित उडान गरिरहेको छ । एमए–६० लाई ‘रारा’ नेपाली नाम दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोइलीलाई ‘९–एकेएस’ कलसाइन नम्बर दिएको छ । प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्राप्त हुनासाथ वाई–१२ बाट व्यावसायिक उडान शुरू गर्ने निगमको योजना छ । विमानले नेपाली प्रमाणपत्र प्राप्त गरिसकेका कारण एओसी प्राप्त हुनासाथ उडान शुरू हुने निगमको भनाइ छ । सो विमानलाई टङ्गोका पेनियटा मायाभियाले प्रशिक्षक पाइलटका रूपमा उडाउने छन् ।
विमान काठमाडौं ल्याउने क्रममा क्याप्टेन रोबर्ट्स ल्याम्बर्टस र क्याप्टेन मारिया एभिचन्र्दोन्कले उडाएका थिए । विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, निगम सञ्चालक समितिका अध्यक्ष शिवशरण न्यौपाने, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई, निगमका महाप्रबन्धक मदन खरेललगायत अधिकारीले स्वागत गरेका थिए ।
नेपाल–चीनबीचको जहाज खरीद सम्झौताअनुसार चीन सरकारको सहुलियत ऋण सहयोगमा नेवानिले थप चारओटा जहाज प्राप्त गर्दै छ । त्यसमध्ये एउटा ‘एमए–६०’ र तीनओटा ‘वाई–१२ई’ हुनेछन् । ती जहाज कात्तिक १३ गतेभित्र नेपाल पठाइसक्ने तालिका कम्पनीले निगमलाई दिएको थियो । नेवानिका पाइलटले चिनियाँ जहाज चलाउने तालीम नलिएको र चिनियाँ पाइलटमा अङ्ग्रेजी भाषाको समस्याका कारण निगमले समस्या भोग्दै आएको बताइएको छ ।
भविष्यमा आउने चार विमानमध्ये एउटा ‘एमए–६०’ र तीनओटा ‘वाई–१२ई’ रहेका छन् । नेवानिले भिœयाएका ‘ब्राण्ड न्यू’ जहाजहरू चीनको एभिक इण्टरनेशनलले उत्पादन गरेको हो । निगमका अनुसार ‘वाई–१२ई’ जहाजमार्फत सन् १९८२ मा प्रथम उडान भएको थियो । सो उडान सफल भएसँगै कम्पनीले सन् १९८५ बाट व्यावसायिक उत्पादन थालेको थियो ।
Comments
Post a Comment