नदीमाथिका गैरकानूनी गतिविधि रोक्ने तयारी

October 19, 2014
कात्तिक १, काठमाडौं । पर्यटन विभाग र नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले र्‍याफ्टिङका लागि छुट्ट्याइएका विभिन्न नदीमाथि हुँदै आएका गैरकानूनी पर्यटकीय गतिविधि रोक्ने तयारी थालेका छन् । सरकारी निकायमा दर्ताविनै नदीमाथि र्‍याफ्टिङ  व्यवसाय सञ्चालन गरिरहेका व्यक्ति तथा कम्पनीमाथि कारबाही थालिएको नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए । नाराले गत सोमवार विभागका महानिर्देशक तुलसीप्रसाद गौतमसँग भेट गरी नदीमाथि हुँदै आएका गैरकानूनी गतिविधि रोक्न आग्रह गरेको थियो । जवाफमा गौतमले स्थानीय प्रहरी प्रशासन र काठमाडौंबाट पर्यटक प्रहरी लगाएर भए पनि गैरकानूनी व्यक्ति र कम्पनीमाथि तत्काल कारबाही थाल्ने बताएका थिए ।

‘पर्यटन विभागमा दर्ता भएका कम्पनीले सरकारलाई कर तिर्ने, ठमेललगायत महँगो स्थानमा कार्यालय सञ्चालन गरी थुपै्रलाई रोजगारी सृजना गर्दै आएका छन्,’ दाहालले भने, ‘तर पर्यटकीय मौसममा नदीमाथि दर्ताविना नै सञ्चालित कम्पनीका डुङ्गा धेरै देखिन्छन् ।’ सरकारले नेपालका १६ ओटा नदीलाई र्‍याफ्टिङका लागि खुला गरेको छ । त्यसमध्ये ठूला शहरबाट नजीक पर्ने त्रिशूली, भोटेकोशी, कालिगण्डगीलगायत नदीमा गैरकानूनी कम्पनीका डुङ्गा बढी चल्ने नाराको भनाइ छ ।

लाइसेन्सविनाका कम्पनीमार्फत र्‍याफ्टिङ नजान आग्रह
नाराले लाइसेन्सविनाका कम्पनीबाट र्‍याफ्टिङमा पर्यटक नपठाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । यस्ता कम्पनीमार्फत र्‍याफ्टिङमा जाँदा सम्भावित दुर्घटनापछि जिम्मेवारी लिने आधिकारिक निकाय नहुने नाराको भनाइ छ । पर्याप्त सुरक्षा प्रबन्ध नहुने यस्ता व्यक्ति तथा कम्पनीले क्षणिक लाभका लागि व्यवसाय सञ्चालन गरिरहेको दाहालले बताए ।

नाराका अनुसार अहिलेसम्म ६१ ओटा कम्पनीले र्‍याफ्टिङका लागि अनुमति लिइसकेका छन् । नाराले विभागबाट अनुमति लिएका कम्पनीको डुङ्गामा चिनारीस्वरूप नम्बर लेख्न थालेको छ । विभागबाट दर्ता नम्बर लिएको आधारमा डुङ्गामा नम्बर लेख्ने काम जारी रहेको दाहालले बताए । नाराले नम्बरअङ्कित डुङ्गाबाट मात्र र्‍याफ्टिङ गर्न पर्यटकलाई आग्रहसमेत गरेको छ । साथै र्‍याफ्टिङका लागि मूल्यमा हुने मनोमानी नियन्त्रण गर्न नाराले व्यवसायीबीचमा न्यूनतम मूल्य तोकेको बताइएको छ । पर्यटकलाई र्‍याफ्टिङमा समेत लैजाने होटलहरूको सुविधालाई ध्यानमा राख्दै सो मूल्य सार्वजनिक नगरिएको नाराको भनाइ छ । न्यूनतम मूल्य सार्वजनिक गर्दा बढी विभिन्न सुविधासहित पर्यटकलाई र्‍याफ्टिङमा लैजाने होटललाई असर पर्न सक्ने दाहालले बताए ।

Comments