नेपाल डिभिजन–२ मा उक्लियो

कात्तिक १२ काठमाडौं । आइसीसी विश्व क्रिकेट लीग डिभिजन थ्रीअन्तर्गत राउण्ड रोविन चरणको शीर्ष स्थानमा रहँदै नेपाल डिभिजन–२ मा उक्लिएको छ । बुधवार आयोजक मलेसियालाई डर्कवर्थ लुइस पद्धतीका आधारमा ३६ रनले हराउँदै नेपाल डिभिजन–२ मा उक्लिएको हो । प्रतियोगितामा खेलेका ५ खेलमध्ये ४ खेलमा जित हात पार्दै नेपालले ८ अङ्क जोड्न सफल रह्यो । समान अङ्क जोड्दै नेट रनरेटका आधारमा पछि परेको यूगाण्डासमेत डिभिजन टूमा उक्लिएको छ । यी दुई अब डिभिजन थ्रीको उपाधीका लागि भिड्नेछन् । डिभिजन टूमा उक्लिएका नेपाल र यूगाण्डाले सन् २०१५ जनवरी १७ देखि २४ सम्म नामिवियामा सञ्चालन हुने आइसीसी वल्र्ड क्रिकेट लीग डिभिजन–२ मा प्रतिस्पर्धा गर्नेछन् । डिभिजन–२ लाईसन् २०१९ मा सञ्चालन हुने आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताका रूपमा पनि लिइन्छ ।

  नेपाल डिभिजन–३ को अघिल्लो संस्करणको विजेता हुँदै डिभिजन–२ मा उक्लिएको थियो । बर्मूडमा सञ्चालन भएको प्रतियोगितामा यूगाण्डा उपविजेता बनेको थियो । दुबै टोलीले न्यूजिल्याण्डमा सम्पन्न सन् २०१५ को आइसीसी विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताको अन्तिम दुई स्थानमा रहेपछि दुबै टोली पुनः डिभिजन–३ खेलेका हुन् ।

  बुधवार मलेसियाको सेलेङ्गर टर्फ क्लवमा सम्पन्न खेलमा टस जितेको नेपालले मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कप्तानको सो फैसलालाई सफल सावित गर्ने क्रममा फेरी एक पटक नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । मलेसियाले ४३ दशमलव ३ ओभरमा अलआउट हुनुअघि १ सय ४२ रनमात्र जोड्न सक्यो । उसका लागि अनवार अरुदिनले सर्वाधिक ६९ रन जोडे । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट झारे । ९ ओभर बलिङ गरेका उनले ३ मेडन ओभर फ्याँक्दै मात्र २० रन दिएका थिए । भुवन कार्की र शक्ति गौचनको नाममा क्रमशः ३ र २ विकेट रह्यो ।

  जवाफी ब्याटिङमा उत्रिएको नेपालले २५ ओभरमा २ विकेट गुमाउँदै ८९ रन जोडेको स्थितीमा पानी पर्न थालेको थियो । त्यसपछि वर्षाले थप खेल हुन नसकेपछि नेपाल विजयी भएको हो । नेपालका नरेश बुढाएर ४२ र कप्तान पारस खड्का १ रन बनाएर अविजित रहे । ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले क्रमशः ३५ र ३ रन जोडेका थिए

Comments