पर्यटकीय गाउँलाई ट्रेकिङ कम्पनीको निशुल्क सेवा

‘दीगो पर्यटन’प्रति निजी क्षेत्रको चासो
अच्युत पुरी
भदौ १६, काठमाडौं । पर्यटकीय गतिविधिमार्फत स्थानियको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित सञ्चालित निजी क्षेत्रका टे«किङ कम्पनीहरूले दीगो पर्यटकीय गतिविधिमा जोड दिन थालेका छन् । अधिंकाश ग्रामिण क्षेत्र रहेको नेपालमा सोही क्षेत्रलाई पर्यटकीय ‘प्रडक्ट’ बनाउनु पर्ने भन्दै कम्पनीहरू दीगो पर्यटनतर्फ आकर्षित हुन थालेका हुुन् । ‘हामीले पर्यटकीय क्षेत्र भन्दै प्रचार गर्ने स्थानका स्थानिय बासिन्दालाई पर्यटनतर्फ आकर्षित गर्न नसके त्यो विकास दीगो हुदैन, ठमेलस्थित म्याप नेपालका कार्यकारी निर्देशक भक्तराम लामिछानेले भने, ‘त्यसैले दीगो पर्यटनमा जोड दिइएको हो ।’ म्याप नेपालले विभिन्न जिल्लाका ग्रामिण भेगमा होम–स्टे सञ्चालनमा सहयोग गर्दै आएको छ । कम्पनीले अत्यावश्यक पूर्वाधार निर्माण तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि निशुल्क परामर्शसमेत उपलब्ध गराउँदै आएको निर्देशक लामिछानेले बताए ।
ग्रामिण क्षेत्रलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाएका कम्पनीहरू होम–स्टे अवधारणालाई सबैभन्दा उपयुक्त माध्यम मान्दै आएका छन् । तर, कम्पनीहरूले नियमित पर्यटक उपलब्ध गराउन नसक्दा तथा स्थानियलाई पर्यटकीय सेवाबारे राम्रो जानकारी दिन नसक्दा सो अवधारणाले अपेक्षाकृत सफलता पाउन सकेको छैन । दीगो पर्यटनमा जोड दिने केही कम्पनीहरूले भने आफूले शुरू गरेको होमस्टेमा निशुल्क पूर्वाधारसमेत उपलब्ध गराइरहेको निर्देशक लामिछानेले बताए । म्याप नेपालले होम–स्टे शुरू गरेको गाउँमा पर्यटक तथा स्थानियले नुहाउने प्रयोजनका लागि सोलार प्यानलसमेत जडान गरिदिएको बताइएको छ । कम्पनीले उपलब्ध गराउने निशुल्क परामर्श तथा तालीमलगायत कार्यक्रमलाई कोरियाली सहयोग नियोग (कोइका), तारागाउँ विकास समिति, नेपाल पर्यटन बोर्डलगायतले सहयोग उपलब्ध गराउँदै आएका छन् ।
पर्यटकको बसाई अवधि लम्ब्याउन, स्थानिय बासिन्दाको आर्थिक स्थितीमा सुधार र मुलुकको आर्थिक अवस्था सुधार गर्न पर्यटन क्षेत्रको दीगो विकास आवश्यक ठानेका केही कम्पनीमात्र यस क्षेत्रमा सक्रिय छन् । ती कम्पनीहरू सस्टेनेवल टूरिजम नेटवर्क (एसटीएन) नेपालमा आवद्ध भई विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । दीगो, उत्तरदायि र वातावरणमैत्री पर्यटनबीना यस क्षेत्रबाट दीर्घकालिन रूपमा लाभ लिन नसकिने यस्ता कम्पनीहरूको भनाइ छ । कतिपय कम्पनीहरूले स्थानिय उत्पादनको विक्रि वितरणका लागि राजधानीमा पसलसमेत सञ्चालन गरिदिएका छन् । म्याप नेपालले ठमेलमा मितिनी सप तथा क्याफे सञ्चालन गरिरहेको जानकारी दिएको छ । कम्पनीहरूले आफूले प्रवद्र्धन गर्ने गाउँको पोस्टर, प्रचार सामग्री र मेलाहरूमा स्टल राखी प्रचारप्रसारसमेत गर्दै आएका छन् ।

Comments