शरद्ऋतुमा हिमाल आरोहण : ३१६ आरोहीलाई अनुमति

September 21, 2014
१ करोड ४० लाख रोयल्टी सङ्कलन
असोज ४, काठमाडौं आगामी शरद्ऋतु (असोज– कात्तिक) सिजनका लागि नेपालका विभिन्न चुचुरो आरोहणको अनुमति लिने आरोहीको सङ्ख्या ३ सय नाघेको छ । नेपालका ६ हजारदेखि  अग्ला झण्डै एक दर्जन हिमालको आरोहणका लागि कुल ३ सय १६ आरोहीले अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन उद्योग महाशाखाले जानकारी दिएको छ ।

 आरोहण अनुमति लिनेमध्ये कुल  ३२ देशका आरोही रहेको महाशाखाका शाखा अधिकृत दीपेन्द्र पौडेलले  जानकारी दिए । अनुमति लिनेमध्ये ९९ जना महिला आरोही छन् ।उनका अनुसार आरोहीले अरनिको चुली (६,०३९ मी)देखि माउण्ट लोत्से (८,५१६ मी)सम्मको चुचुरोका लागि अनुमति लिएका हुन् । आइतवारसम्मको तथ्याङ्कअनुसार आरोहीबाट सरकारले रू. १ करोड ४० लाख रुपैयाँ आरोहण दस्तुर सङ्कलन गरेको छ । आगामी सिजनका लागि अनुमति लिने क्रमभर्खरै शुरू भएकाले यो सङ्ख्या अझ बढ्ने सक्ने उनको बताइएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म अनुमति लिनेमध्ये फ्रान्सेली नागरिक ३६ जना रहेका छन् । जर्मनीका ३२ जनाले पनि यस सिजनका लागि आरोहण अनुमति लिइसकेका छन् । बेलायत र अष्ट्रियाका १५/१५ जनासमेत नेपालका विभिन्न चुचुरो आरोहण गर्ने अभियानमा छन् ।

त्यसबाहेक टर्की, सिङ्गापुर, केन्या, फिनल्याण्डलगायत मुलुकका आरोहीले पनि अनुमति लिइसकेको महाशाखाले जानकारी दिएको छ । यस सिजनमा आरोहीबीच माउण्ट मनास्लुदेखि मकालु–१, अरनिको चुली, मुस्ताङ–१ जस्ता हिमालमाविशेष आकर्षण देखिएको छ । आइतवारसम्म अनुमति लिनेमध्ये जर्मनीका नागरिक एलेक्स (७४) वर्षीय सर्वाधिक उमेरका आरोही हुन् । उनले माउण्ट हिमलुङ (७,१२६) आरोहणका लागि अनुमति लिएको महाशाखाले जानकारी दिएको छ । अनुमति लिनेमध्ये जापानकी मिसिमा काहो (२१ वर्ष सर्वाधिककान्छी आरोही हुन् । उनले माउण्ट गाउगिरिको आरोहण गर्ने छिन् ।

शरद्ऋतुमा हिमाल आरोहण वसन्त (चैत–वैशाख)को तुलनामा सस्तो पर्छ । सरकारले यस सिजनमा आरोहण दस्तुर वसन्तको तुलनामा आधा कम लिँदै आएको छ । वसन्त ऋतुमा सगरमाथाबाहेक ८ हजारभन्दा अग्ला हिमाल आरोहण गर्न विदेशी नागरिकका लागि १ हजार ८ सय डलर रोयल्टी तोकिएको छ । सरकारले गतवर्ष आरोहण रोयल्टीमा गरेको परिमार्जन यस सिजनबाट विदेशीमा लागू हुने भएपछि आरोहीको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

Comments