निगमको ‘एमए६०’ जहाज अनिश्चित कालका लागि ग्राउण्डेड

August 27, 2014
  - चिनियाँ पाइलट घर फर्के
- चाडबाडका लागि अग्रिम बुकिङ प्रभावित

भदौ १०, काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ जहाज एमए६० को उडान अनिश्चित बनेको छ । पटकपटक ग्राउण्डेड हुँदै आएको सो विमान उडाइरहेका चिनियाँ पाइलट स्वदेश फर्किएपछि जहाजको उडान अनिश्चित बनेको हो ।

पछिल्लोपटक ग्राउण्डेड भएको विमानको आवश्यक उपकरण चीनबाट ल्याएर जडान गरिए पनि पाइलट फर्किएपछि विमान उडाउन नसकिने निगमस्रोतले जानकारी दिएको छ । सोही कारण निगमले आगामी चाडबाडका लागि अग्रिम टिकट बुकिङसमेत गर्न सकेको छैन । एमए६० ले नियमित उडान गर्ने–नगर्ने निश्चित नभएपछि टिकट बुकिङ गर्न नसकिएको स्रोतको भनाइ छ । निजीक्षेत्रका कतिपय वायुसेवा कम्पनीले भने चाडबाडका लागि अग्रिम बुकिङ शुरू गरिसकेका छन् ।

सो जहाज चिनियाँ पाइलटले न्यूनतम १ सय घण्टा उडाएपछि मात्र नेपाली पाइलटले उडाउने प्रावधान थियो । सो अवधिभित्र को–पाइलटका रूपमा नेपाली पाइलटले तालीम लिइरहेका थिए । तर, उडान शुरू गरेपछि पनि नियमित उडान गर्न नपाएपछि नेपाली पाइलटको उडान अवधि बढीमा ३५ घण्टासम्म मात्र पुगेको बताइएको छ । यस अवस्थामा नेपाली पाइलटले उडान गर्न नमिलेपछि जहाज अनिश्चित कालका लागि ग्राउण्डेड हुने भएको हो । चीनबाट नयाँ पाइलट नआएसम्म सो जहाजले उडान गर्न नसक्ने बताइएको छ । चीनले पुनः अर्को पाइलट पठाएपछि पनि उनको योग्यता प्राधिकरणले प्रमाणित गर्नुपर्छ ।

चीनले बेलैमा पाइलट नपठाएपछि यसअघि सो जहाजबाट सेवा सञ्चालनमा झण्डै २ महीना ढिलाइ भएको थियो । चीनमा अङ्ग्रेजी भाषा जान्ने पाइलटको अभाव छ । तर, नेपालमा कुनै पनि जहाज उडाउने पाइलटका लागि अङ्ग्रेजी भाषा जान्नु अनिवार्य छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले विमानस्थल टावरमा रहेका एयर कण्ट्रोलर (एटीसी)सँग अङ्ग्रेजी भाषामा कुराकानी गर्नुपर्छ । यो अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को नियम हो । नेपाल पनि आइकाओको सदस्य राष्ट्रमध्ये एक हो ।

Comments