ऐनको अधुरो व्याख्याले पर्यटकलाई सास्ती

September 11, 2014
भदौ २५, काठमाडौं  - नेपालका कतिपय ऐनमा पर्यटकसम्बन्धी अधुरो व्याख्याका कारण पर्यटकले सास्ती भोगिरहनु परेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । विशेषगरी ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ ले आन्तरिक पर्यटकका सम्बन्धमा कुनै व्याख्या नगर्दा समस्या उत्पन्न भइरहेको उनीहरूको भनाइ छ । पछिल्लो समय नयाँ नयाँ गन्तव्यको विकास र विस्तारसँगै नेपालमा आन्तरिक पर्यटन फस्टाएको छ । ती पर्यटकको सुविधाका लागि कतिपय ट्राभल तथा होटल व्यवसायीले पर्यटक बससेवा सञ्चालन गरिरहेका छन् । तर, सवारी ऐनमा आन्तरिक पर्यटकसम्बन्धी स्पष्ट व्याख्या नहुँदा यस्ता पर्यटकले सास्ती भोगिरहनु परेको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका अध्यक्ष डीबी लिम्बूले बताए ।

सो ऐनमा ‘विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न दर्ताको प्रमाणपत्र प्राप्त सार्वजनिक सवारी’लाई पर्यटक सवारीका रूपमा व्याख्या गरिएको छ । ऐनअनुसार यस्ता सवारीमा हरियो नम्बर प्लेट राख्नुपर्छ । ऐनको सोही व्याख्याका कारण हरियो नम्बर प्लेटको सवारीसाधनले नेपाली पर्यटक बोक्दा कतिपय स्थानमा सास्ती भोग्नुपरेको व्यवसायीहरूको भनाइ छ । ‘यातायातमा यसै पनि ठूलो सिण्डिकेट छ,’ उनले भने, ‘त्यसमाथि ऐननै बाझिएपछि निहुँ खोज्नेलाई सजिलो भएको छ ।’ अर्कोतर्फ कालो नम्बर प्लेटमा सवार विदेशी पर्यटकलाई समेत बीच बाटोमै झार्नेजस्ता गतिविधि हुने गरेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

सो ऐन संशोधनका लागि पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको व्यवसायीहरूको गुनासो छ । ‘हामीले २०६० सालदेखि यो समस्या उठाइरहेका छौं,’ अध्यक्ष लिम्बूले भने, ‘तर, कुनै पनि निकायबाट सुनुवाइ भएको छैन ।’ यसअघि पर्यटन ऐन २०३५ मा पनि आन्तरिक पर्यटकसम्बन्धमा कुनै व्याख्या गरिएको थिएन । सो ऐनमा पर्यटक भन्नाले ‘विदेशी मुलुकबाट नेपाल राज्यमा आउने गैरनेपाली नागरिक’ भएको उल्लेख छ । तर, सो ऐनमाथि २०५५ सालमा भएको दोस्रो संशोधनले भने नेपाली पर्यटकलाई समेत सम्बोधन गरेको छ ।

ऐनहरू नै एकआपसमा बाझिएको अवस्थामा दुई निकायबीचको समन्वयमा संशोधन गर्नुपर्ने पर्यटन व्यवसायीहरूको माग छ । ऐनमा बाझिएका प्रावधानका सम्बन्धमा व्यवसायीले हरेक सरकारका पालामा परिर्वतन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमार्पmत निरन्तर दबाब दिए पनि सुनुवाइ नभएको लिम्बूले बताए ।

टर्मिनल अभावले सास्ती
पर्यटक बसका यात्रु तथा गन्तव्य बढे पनि बस टर्मिनलको अभावले पर्यटकले सास्ती भोग्नु परिरहेको बताइएको छ । काठमाडौंमा सरकारले कान्तिपथस्थित सडकलाई बिहान ७ बजेसम्मका लागि यात्रु चढाउने स्थलका रूपमा तोकिदिएको छ । अर्को पर्यटकीय शहर पोखराको टर्मिनलसमेत टेण्डरमार्पmत खोसिएपछि देशभर पर्यटक बस टर्मिनल अभाव रहेको नाट्टाको भनाइ छ । सो संस्थाले यसअघि पनि पर्यटक बसका लागि स्थायी टर्मिनलको माग गर्दै आइरहेको थियो ।

Comments