क्षमता बढाउँदै गोदावरी भिलेज रिसोर्ट

September 18, 2014
१ वर्षभित्र ३१ डिलक्स रूम थपिने
असोज १, काठमाडौं - ललितपुरस्थित गोदावरी भिलेज रिसोर्टले क्षमता वृद्धि गर्ने भएको छ । १ सय रोपनी क्षेत्रफलमा पैmलिएको रिसोर्टले आगामी १ वर्षभित्र कोठा सङ्ख्या १ सय पुर्‍याउन लागेको छ । रिसोर्टले हाल ६९ कोठाबाट सेवा सञ्चालन गरिरहेको रिसोर्टका विक्री तथा बजार प्रबन्धक सुशीलकुमार अर्यालले जानकारी दिए । १० देखि २ सय जनासम्म क्षमताका ६ ओटा हल सञ्चालनमा रहेको रिसोर्टमा महत्त्वपूर्ण राजनीतिक बैठक तथा विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय सम्मेलन हुँदै आएका छन् । सन् २०१५ को मुख्य पर्यटकीय सिजनसम्म सञ्चालनमा ल्याउने गरी क्रमशः क्षमता अभिवृद्धि गर्न लागिएको रिसोर्टको भनाइ छ । थपिन लागेका सबै कोठा सुविधासम्पन्न ‘डिलक्स’ मोडलका हुने बताइएको छ । बजार मूल्यअनुसार लगानी गर्ने र आवश्यकताअनुसार कोठा थप गर्दै जाने रिसोर्टको योजना छ ।

यसैबीच रिसोर्टले छिट्टै सुविधासम्पन्न हेल्थ क्लब सञ्चालनमा ल्याउने भएको छ । प्रबन्धक अर्यालका अनुसार रिसोर्टले बढीमा ३ महीनाभित्र योगा रूम, स्पा रूम, नेचुरल थेरापी, टेनिसलगायत सुविधासमेत थप गर्दै हेल्थ क्लब सञ्चालन गर्नेछ । अहिले रिसोर्टमा स्वीमिङ पुल, स्पालगायत सुविधा भने उपलब्ध छन् । रिसोर्टले ‘कर्पोरेट’ तथा ‘हाइ प्रोफाइल कष्टमर’लाई सेवा दिइरहेको बताएको छ । मजदूर आन्दोलनका कारण ७७ दिन बन्द भएको रिसोर्टले व्यवस्थापन र मजदूर युनियनबीच सहमति भएपछि यसै साताबाट पुनः सेवा सुचारु गरेको हो ।

रिसोर्ट बन्द भएसँगै मुख्य पर्यटकीय सिजनका लागि बूकिङ गर्न नसकेको रिसोर्टमा सेवा सुचारु भएसँगै ग्राहकको आगमन बढिरहेको रिसोर्टका सञ्चालक प्रवीण आचार्यले जानकारी दिए । ‘सानो निहुँमा रिसोर्ट बन्द हुँदा हामीले ऐतिहासिक महत्त्व बोकेको यस रिसोर्टको ’गुडविल’ गुमाउनुपर्‍यो,’ आचार्यले भने, ‘अबको लक्ष्य गुमेको गुडविल पुनः प्राप्त गर्नु हो ।’ रिसोर्टका सबै कर्मचारी आफ्नै परिवारका सदस्यजस्तै भएकाले रिसोर्ट बन्द हुँदा पनि व्यवस्थापन वक्तव्यबाजीमा नउत्रिएको उनको भनाइ छ । रिसोर्टले बन्द अवधिमा झण्डै रू. ३ करोडबराबरको आम्दानी गुमाउनु परेको बताएको छ । यसअघि रिसोर्टले मासिक ८० देखि ९० लाख रुपैयाँ आम्दानी गर्दै आएको प्रबन्धक अर्यालले जानकारी दिए । सन् १९९६ अक्टोबरबाट सञ्चालनमा आएको रिसोर्टमा १ सय ५० भन्दा बढी नेपाली कर्मचारी कार्यरत छन् ।

रिसोर्टमा चाडबाड विशेष प्याकेज
रिसोर्टले एकमहिने चाडबाड विशेष प्याकेज सञ्चालन गर्ने भएको छ । हाल नेपाली ग्राहकका लागि करसहित ४ हजार रुपैयाँमा कोठा उपलब्ध गराइरहेको रिसोर्टले घटस्थापनादेखि तिहारको भाइटीकासम्म प्रत्येक जोडीका लागि रू. ३ हजार ९ सय ९९ मा प्याकेज उपलब्ध गराउने बताएको छ । रिसोर्टका अनुसार सो मूूूल्यमा ब्रेकफाष्ट, इनहाउस डिजेलगायत सुविधा उपलब्ध हुनेछन् । सो प्याकेज विदेशी ग्राहकका लागि पनि उपलब्ध हुने बताइएको छ । साथै, रिसोर्टले दशैं आगमनको स्वागत गर्दै एकदिने चङ्गा चेट तथा लिङ्गे पिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय मौलिक संस्कृतिको संरक्षणका लागि आगामी असोज ११ गते सो कार्यक्रम आयोजना गर्न लागिएको अर्यालले जानकारी दिए ।

Comments