मानसरोवर जाने भारतीय पर्यटकलाई डलर दिइनुपर्ने माग

August 19, 2014
 योजना पेश गर्नुहोस् : गभर्नर
भदौ २, काठमाडौं । कैलाशयात्राका नाममा हरेक वर्ष ठूलो रकमको अवैध कारोबार हुने गरेको भन्दै सो यात्रामा जाने पर्यटकले डलर बोक्नुपर्ने माग उठेको छ । विशेषगरी भारतीय पर्यटकको आकर्षण रहेको सो तीर्थस्थलमा वार्षिक ३० हजारभन्दा बढी तीर्थयात्रु पुग्ने अनुमान छ । नेपाल राष्ट्र बैङ्कको नीतिअनुसार नेपालबाट चीन जाने भारतीय तीर्थयात्रुले डलर लैजान पाउँदैनन् । नेपाली यात्रुलाई भने कुनै रोकावट छैन । भारतीय रुपैयाँ चीनमा चल्दैन । सोहीकारण नेपाली टुर व्यवसायी तथा तीर्थयात्रुले समस्या भोग्दै आएको बताइन्छ ।

भारतीय रुपैयाँलाई डलरमा सटही गर्दा पर्यटकले लैजाने रकम र कारोबारको यथार्थ विवरण पत्ता लगाउन सकिने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्सका अध्यक्ष डीबी लिम्बूले बताए । यसबाट पर्यटकबाट बढी रकम लिएर ठगी गर्ने अवस्थासमेत नरहने उनले दाबी गरे । कैलाश–मानसरोवर यात्रामा जाने पर्यटकको सुविधालाई ध्यानमा राखी यस्तो माग गरिएको उनको भनाइ छ ।

भारतीय पर्यटकले नेपालको बाटो भएर मानसरोवर जाँदा डलर सटही गरी लैजान पाउनुपर्ने व्यवस्थाको माग गर्दै नाट्टाले हालै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका अवसरमा गभर्नरसमक्ष कैलाश–मानसरोवर यात्रामा जाने पर्यटकको लगत तथा अन्य विवरण राख्न डलर सटही आवश्यक रहेकोबारे स्पष्ट पारिएको लिम्बूले बताए । उनका अनुसार भेटमा गभर्नर डा. खतिवडाले नेपाल राष्ट्र बैङ्क सो मागप्रति सकारात्मक रहेको बताएका थिए । सो कार्यका लागि योजना पेश गर्नसमेत उनले सुझाव दिएका छन् । नाट्टाले सुझाव पेश गर्न एक टुर एण्ड ट्रान्सपोर्ट कमिटीलाई जिम्मा पनि दिइसकेको बुझिएको छ । अन्य मुद्रा विनिमयलाई डलरमा साट्दा सो यात्रामा क्रममा वैधानिक रकम मात्र कारोबार हुने नाट्टाको भनाइ छ । यसबाट राज्यले करलगायत सुविधासमेत प्राप्त गर्ने लिम्बूले बताए ।

अहिले मानसरोवर जाने अधिकांश यात्रुले नेपालको मार्ग प्रयोग गर्दै आएका छन् । अवैध चलखेल तथा कारोबारका कारण नेपालको यात्रा महँगो पर्ने स्थिति आए यात्रु चीनको मार्ग भएरै सो तीर्थस्थल पुग्ने सम्भावना भएकाले बेलैमा मानसरोवर यात्रालाई व्यवस्थित गर्नुपर्ने नाट्टाको भनाइ छ ।

Comments