August 12, 2014
साउन २६, सिन्धुपाल्चोक । सरकारले सुनकोशी पहिरोबाट पीडित परिवारको
पुनर्वासको व्यवस्थाका लागि प्रक्रिया शुरू गरेको छ । सोसम्बन्धी विवरण
बुझाउन सोमवार जिल्लास्तरीय एक समिति गठन गरिएको छ । समितिले २१ दिनभित्र
पुनर्वासको व्यवस्था गर्नुपर्ने परिवारको विवरण सङ्कलन गरी पेश गर्नेछ ।
राहत र उद्धारसँगै पीडित परिवारलाई अस्थायी र दीर्घकालीन बसोवासको
व्यवस्थाका लागि उपाय खोज्न थालिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी
गोपाल पराजुलीले बताए ।
सोमवार भवन डिभिजन कार्यालयका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी तथा अन्य सरकारी निकायका प्रमुखहरूबीचको उपस्थितीमा बैठक बसेको थियो । बैठकले नेपाली सेनाले शुरू गरेको वैकल्पिक मार्ग निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसैगरी, उत्पादन बन्द भएका जलविद्युत् आयोजनाबाट जतिसक्दो चाँडो उत्पादन शुरू गर्न आवश्यक कदम चाल्ने निर्णय गरिएको पराजुलीले बताए । उनका अनुसार हाल जलविद्युत् आयोजनाको पोल गाड्ने काम शुरू भइसकेको छ ।
राहत रकम ३१ लाख नाघ्यो
सुनकोशी पहिरोबाट पीडित परिवारका लागि व्यावसायिक हाउस, स्वयम् सेवी सङ्घसंस्था र सर्वसाधारणबाट सोमवार दिउँसोसम्म कुल ३१ लाख १५ हजार नगद सङ्कलन भएको छ । स्थानीय निकायले देशका विभिन्न स्थानबाट प्राप्त राहत र जिन्सी सामानको सङ्कलन गरी सो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । स्वयम् सेवीबाट प्राप्त जिन्सी सामानका कारण पीडितलाई उपलब्ध गराउन सामान खरीद गर्नु नपरेको सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिए । स्थानीय निकायले पीडितलाई चार वर्गमा विभाजन गरी राहत वितरण गरिरहेको बताएको छ । काठमाडौं, पोखरा तथा मुलुकका अन्य स्थानबाट राहत सामग्री बोकेका दर्जनांै सवारीसाधन घटनास्थल पुग्ने गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
११ जना आन्तरिक पर्यटक हराइरहेको आशङ्का
सुनकोशी पहिरोमा परी निधन भएकामध्ये ११ जनाको अझै सनाखत हुन सकेको छैन । ती मानिस घुमघामका लागि सो स्थानमा पुगेका या टाढाका पाहुना हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । घटनामा बाह्य पर्यटक परेको भने जानकारी छैन ।
राहत वास्तविक पीडितसम्म पुगेन
स्थानीय निकायको सक्रियतामा वितरण भएको राहत वास्तविक पीडितसम्म पुग्न नसकेको देखिएको छ । सोमवार नेपाल पर्यटन पत्रकार मञ्चको टोलीद्वारा गरिएको स्थलगत अध्ययनका क्रममा खाडीचौर बजारमा मागेर जीविका चलाउने सन्तबहादुर विकलाई स्थानीय गाविस सचिवको सिफारिशमा घटनामा मृत्यु भएकाले पाउनेसरह राहत उपलब्ध गराइएको पाइयो । आफूले मागेर जीविका चलाउने बजार नै पहिरोले लगेपछि राहत लिन आएको उनको प्रतिक्रिया थियो । उता, राहत सङ्कलन तथा वितरण केन्द्रमा भेला भएका पीडित परिवारले भने सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्दै थिए । उद्धारमा भएको ढिलाइले रोग फैलन सक्ने उनीहरूको आशङ्का छ । सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी कट्टेलले भने वास्तविक पीडितसम्म राहत पु¥याउन हरसम्भव प्रयास भइरहेको दाबी गरे ।
Comments
Post a Comment