गौतम बुद्ध विमानस्थलको स्तरोन्नति ‘फूलपाती’को दिन शुरू

अच्युत पुरी 
साउन २२, काठमाडौं 
राष्ट्रिय गौरवका आयोजनामध्ये एक भैरहवास्थित गौतम बुद्ध विमानस्थलको स्तरोन्नति कार्य आउँदो दशैंको फूलपातीको साइत पारी शुरू गरिने भएको छ । आन्तरिक उडानमा प्रयोग भइरहेको सो विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउने सरकारी योजना छ । गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाअन्तर्गत हाल निर्माण कम्पनी छनोट प्रक्रियामा रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सातओटा कम्पनीको प्रस्ताव परेको थियो । त्यसबाट निर्माण कम्पनीको छनोट भएपछि निर्माण कार्य प्रारम्भ हुने बताइएको छ ।
झण्डै ९ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो विमानस्थलको शिलान्यास फूलपातीको दिन गर्ने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले सार्वजनिक गरेका छन् । नेपाल पर्यटन पत्रकार मञ्चको आयोजनामा गत मङ्गलवार पोखरामा आयोजित फेवाताल संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत मन्त्री आचार्यले सो सार्वजनिक गरेका हुन् । सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै विमानस्थलको निर्माण, स्तरोन्नति तथा सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षको बजेटमार्फत ठूलो रकम छुट्ट्याएको उनको भनाइ छ । 
एशियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालन हुने सो आयोजनाका लागि पाँच चिनियाँ तथा दुई स्पेनी कम्पनीको प्रस्ताव परेको थियो । आयोजनाका लागि तीन दर्जन कम्पनीले प्रस्ताव फारम लगेकोमा सातओटा कम्पनीले मात्र बुझाएका थिए । आर्थिक तथा प्राविधिक दुवै दुष्टिले उपयुक्त ठहरिने एक कम्पनीले विमानस्थल निर्माणको जिम्मा पाउने आयोजनाले जानकारी दिएको छ । प्राप्त प्रस्ताव सम्बन्धमा एशियाली विकास बैङ्कले समेत अध्ययन गरिरहेको बताइएको छ । साउन महीनाभरमा निर्माण कम्पनी छनोट हुने आयोजनाको विश्वास छ । सो विमानस्थलको स्तरोन्नति कार्य सन् २०१७ सेप्टेम्बरमा सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारी योजना छ । 
अहिले १ हजार ५ सय मिटर रहेको सो विमानस्थलको धावनमार्ग स्तरोन्नतिपछि ३ हजार मिटर फराकिलो बन्नेछ । यसबाहेक विमानस्थलमा ६ ओटा ‘पार्किङ वे’, टर्मिनल भवन, पार्किङ, ट्याक्सी वेलगायत भौतिक संरचनासमेत निर्माण हुने बताइएको छ । त्यसबाहेक अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक उपकरण खरीदका लागि छुट्टै बोलपत्र आह्वान गर्ने प्राधिकरणको योजना छ । विमानस्थल बोइङ ७७७, एयरबस ३४० सिरिजसम्मका जहाज अवतरण गर्न मिल्ने गरी निर्माण हुँदै छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार निर्माण गरिने सो विमानस्थललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा लिइएको छ ।

Comments