साउनबाट चरिकोटमा पर्यटक बस सञ्चालनमा आउँदै

June 29, 2014
 
- काठमाडौं–चरिकोट र जनकपुर–चरिकोट रुटमा बस चल्ने

- रू. ६ करोड लगानीका १० ओटा बस सञ्चालन
असार १५, काठमाडौं । पर्यटक आगमनको दृष्टिले नेपालको पाँचौ गन्तब्यका रूपमा स्थापित दोलखा सदरमुकाम चरिकोटका लागि पहिलो पटक पर्यटक बस सञ्चालनमा आउने भएको छ । क्षेत्रिय होटल सङ्घ (हान, दोलखा) को पहलमा आगामी साउनदेखि पर्यटक बस सञ्चालनमा आउन लागेको बताइएको छ । स्थानिय होटल व्यवसायीको संयुक्त लगानीमा १० ओटा पर्यटक बस सञ्चालनमा ल्याउन लागेको हान, दोलखाका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । उनका अनुसार बस सञ्चालनका लागि व्यवसायीले झण्डै रू. ६ करोड लगानी गर्दैछन् । पर्यटक बस काठमाडौं–दोलखा र दोखला–जनकपुर रुटमा सञ्चालन हुनेछ ।
जनकपुरबाट दोलखास्थित पलाञ्चोक भगवती, भिमसेनस्थानलगायत धार्मिक स्थलमा आउन चाहने पर्यटक हाल काठमाडौं आउनु पर्ने बाध्यता छ । एउटै अञ्चल भएपनि निकै टाढाको गन्तब्य लाग्ने अवस्था हटाउन पर्यटक बस उपयोगी हुने हान दोलखाको भनाइ छ । ‘नयाँ आर्थिक वर्षसँगै दोलखा आउने पर्यटकले ‘पर्यटक बस’को सेवा उपयोग गर्न पाउनेछन्,’ कार्कीले भने । चरिकोटमा होटल व्यवसाय फस्टाएसँगै स्थानिय व्यवसायीले पूर्वाधारमा लगानी गर्ने योजना बनाएका हुन् ।
होटल सङ्घ नेपाल (हान)ले काठमाडौं, पोखरा, चितवन र लुम्बिनीपछि सर्वाधिक पर्यटक पुग्ने गन्तब्यका रूपमा पहिचान गर्दै चरिकोटलाई ‘नेपालको पाँचौ गन्तब्य’ भनेको छ । काठमाडौंबाट १ सय ३४ किलोमिटर दूरीमा अवस्थित चरिकोट धार्मिक तथा प्राकृतिक सम्पदाको धनी मानिन्छ । नियमित पर्यटक बस सञ्चालनपछि जनकपुरस्थित जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय तथा आन्तरिक पर्यटकलाई चरिकोट हुँदै काठमाडौंसम्म ल्याउन समेत सहज हुने कार्कीले बताए । ‘यसले तीन ओटा पर्यटकीय गन्तब्यलाई सहज रूपमा जोड्ने छ,’ उनले भने । अहिले अरनिको र रोल्वालिङ यातायातले काठमाडौंबाट चरिकोटका लागि यातायात सेवा दिइरहेका छन् । हरियो नम्बर प्लेटयुक्त पर्यटक बस सञ्चालनका लागि कुनै समस्या नरहेको कार्कीले जानकारी दिए ।

लगानी बढाउन लविङ
यसैबीच, चरिकोटमा तारे होटल सञ्चालनमा ल्याउन स्थानिय व्यवसायीले आग्रह गरेका छन् । उपयुक्त मौषम तथा राजधानीबाट नजिकको गन्तब्य भएका कारण आन्तरिक र बाह्य पर्यटक आगमन बढेको भन्दै व्यवसायीले चरिकोट होटल व्यवसायका लागि उपयुक्त स्थल बनेको उनीहरूको तर्क छ । होटल सङ्घ नेपालसँग हालै सम्पन्न अन्तरक्रियामा समेत उनीहरूले चरिकोटमा ठूला लगानीकर्ता भित्रनुपर्ने बताएका थिए । होटलमा बैङ्किङ लगानी बढ्ने वातावरण बनाउन माग गर्दै उनीहरूले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडासँग पनि छलफल गरेका छन् ।
चरिकोटमा यसैसाता सम्पन्न छलफलमा गभर्नर खतिवडाले द्वन्द्वकालमा जोखीमपूर्ण लगानीका रूपमा हेरिने होटल व्यवसायमा बैङ्कहरूले अब लगानी बढाउन सक्ने र त्यसमा राष्ट्र बैङ्कको समेत पहल रहने आश्वासन दिएका थिए । २०३८/३९ सालबाट होटल व्यवसाय प्रारम्भ भएको चरिकोटमा हाल पर्यटकीय स्तरका होटलको सङ्ख्या १ सय नाघेको छ । हान, दोलखाका अनुसार २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि चरिकोटको होटल व्यवसायमा लगानी ह्वात्तै बढेको हो ।

Comments