पर्यटन व्यवसायीको सीएसआर ‘भिटोफ’मार्फत

July 31, 2014
साउन १४, काठमाडौं । टुर तथा ट्रेकिङ व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि गाउँ पर्यटनतर्फ आकर्षित हुन थालेका छन् । उनीहरू गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)मा आबद्ध भई ग्रामीण पर्यटन प्रवर्द्धनमा अग्रसर भइरहेको मञ्चले जानकारी दिएको छ । सरोकारवाला निकाय सरकार तथा नेपाल पर्यटन बोर्डको सहयोगविना पनि पर्यटन व्यवसायीको सहयोगमार्फत भिटोफले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान गरिरहेको मञ्चका अध्यक्ष शिव लामिछानेले बताए । १९ वर्षअघि स्थापना भएको यस संस्थामा हाल ३ सय ६० जना पर्यटन व्यवसायी आबद्ध छन् । भिटोफले विभिन्न जिल्लाका दुई दर्जन गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिसकेको बताइएको छ । ‘यो पर्यटन व्यवसायीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लगानी गरेको संस्था हो,’ अध्यक्ष लामिछानेले भने, ‘यसले बढीभन्दा बढी गन्तव्य विस्तारलाई प्रमुख उद्देश्य बनाएको छ ।’

भिटोफ नेपालमार्फत हालसम्म विभिन्न जिल्लाका दुई दर्जन गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ । उपत्यका आसपासबाहेक गोर्खा, लमजुङ, सिन्धुपाल्चोक, मकवानपुर, कास्की, तनहुँ, रसुवा, नुवाकोटलगायत जिल्लाका गाउँलाई भिटोफको अग्रसरतामा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराइएको छ । शहरी क्षेत्रमा बसोवास गर्ने तथा ग्रामीण परिवेश मन पराउने आन्तरिक पर्यटक गाउँ पर्यटनतर्फ आकर्षित भइरहेको लामिछानेले बताए । उनका अनुसार पछिल्लोपटक विदेशी पर्यटक पनि होमस्टेतर्फ आकर्षित हुन थालेको देखिएको छ ।

स्थानीय निकायसँग सहकार्य गर्ने तयारी

हालसम्म आफै गन्तव्य पहिचान गर्दै प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको मञ्चले आफ्नो क्षेत्रको प्रस्ताव ल्याउने स्थानीय व्यवसायी तथा सरोकारवालासँग पनि सहकार्य गर्ने भएको छ । यसले सो क्षेत्रको दिगो विकाससँगै नियमित पर्यटक आकर्षित गर्न सहयोग पुग्ने भिटोफको अपेक्षा छ । ‘स्थानीय पर्यटन विकास समितिहरूबाट प्राप्त प्रस्तावका आधारमा सो गन्तव्यको प्रवद्र्धन हुनेछ,’ लामिछानेले भने ।

‘लिभ टुरिजम’मा जाने गाउँ पुगेनन्

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुरू गरेको लिभ टुरिजममा जाने कर्मचारी सदरमुकाम तथा सुगम स्थानमा पुगेर बिल पेश गर्ने गरेको पाइएको भिटोफको भनाइ छ । यसबाट वास्तविक गाउँ पर्यटन तथा होमस्टे अभियान सफल नहुने भन्दै मञ्चले कर्मचारीले होमस्टेमा बसेको बिल पेश गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्ने भएको छ । गाउँ पर्यटनका रूपमा विकास भएका क्षेत्रमा पुगेको प्रमाण देखिने गरी बिल बुझाउने व्यवस्थाको माग गर्ने भिटोफको तयारी छ । यसैबीच, मञ्चले बिहीवार १८औं साधारणसभा तथा गाउँ पर्यटन दिवस मनाउँदै छ । सो सभाले मञ्चको नयाँ नेतृत्व चयन गर्दै छ । अध्यक्षमा व्यवसायी चित्रबहादुर गुरुङ र रामप्रसाद सापकोटा भिड्दै छन् ।

Comments