वातावरणमैत्री होटललाई ‘ग्रीन सर्टिफिकेट’

July 28, 2014
 पहिलो अभियान चितवनबाट
 साउन ११, काठमाडौं । स्थानीय उत्पादनको खपत, वातावरण संरक्षणमा योगदान तथा अग्र्यानिक कच्चा पदार्थको प्रयोग गर्ने होटलले अब ‘ग्रीन सर्टिफिकेट’ पाउने भएका छन् । बढीभन्दा बढी स्थानीय उत्पादन खपत गर्ने, वातावरण प्रदूषण कम गर्ने र ताजा मासु तथा तरकारी प्रयोगको मापदण्ड पूरा गर्ने होटलले त्यस्तो प्रमाणपत्र पाउनेछन् । होटल एशोसिएशन अफ नेपाल (हान) र सस्टेनेबल एण्ड इफिसिएण्ट इण्डष्ट्रियल डेभलपमेण्ट प्रोजेक्ट(सेइड)बीच वातावरण संरक्षणमा सहकार्य गर्ने सम्झौता भएबमोजिम सो प्रमाणपत्र दिइने भएको हो । पहिलो चरणमा चितवनस्थित होटलबाट यस अभियानको प्रारम्भ गरिने हानका महासचिव विनायक शाहले जानकारी दिए ।

प्राकृतिक वातावरणका बीचमा पर्याप्त होटल रहेको तथा कृषिजन्य उत्पादनका दृष्टिबाट आत्मनिर्भर भएकाले चितवनमा सञ्चालित होटलहरूबाट वातावरण संरक्षणसहित स्थानीय उत्पादन खपतको अभियान प्रारम्भ गरिने उनको भनाइ छ । चितवन क्षेत्र जङ्गल सफारीका लागि विश्वमै प्रख्यात मानिन्छ । जङ्गल, नदीनाला, मौलिक संस्कृति तथा वन्यजन्तुको संरक्षणसँगै पर्यटकलाई सेवा दिनुपर्ने चुनौतीमा रहेका होटलबाट अभियानको थाल्ने हानको योजना छ । ‘चितवनमा प्राप्त नतीजापछि यसलाई देशभर विस्तार गरिनेछ,’ महासचिव शाहले भने ।

पछिल्लो समय उद्योग तथा उद्योग व्यवसाय वातावरणमैत्री हुनुपर्ने आवाज विश्वव्यापी रूपमा उठ्न थालेको छ ।

पर्यटक पनि हरियाली तथा स्वच्छ र स्वस्थ वातावरणमा बढी रमाउने भएकाले नेपालमा यसको शुरूआत गर्न लागिएको बताइएको छ । दशैं–तिहारपछि ‘ग्रीन सर्टिफिकेट’ वितरण शुरू गर्ने हानको योजना छ । त्यसअघि कम प्रदूषण, स्थानीय उत्पादनको खपतलगायतको मापदण्ड निर्माण हुने बताइएको छ । सो मापदण्ड पूरा गर्ने होटलले ग्रीन सर्टिफिकेट प्राप्त गर्नेछन् । वातावरण संरक्षण, स्थानीय जनताको जीवनस्तर वृद्धि र होटलले प्रदान गर्ने सेवाको स्तर वृद्धिका लागि यस्तो अभियान फलदायी हुने शाहले बताए ।

होटलबाट निस्कने फोहोरबाट वातावरण प्रदूषित नहोस् तथा होटलहरूले स्थानीय उत्पादनको खपत गर्दै कृषकको आयआर्जनमा योगदान गर्न सकून् भन्ने उद्देश्यले सेइडसँग सहकार्य गर्न लागिएको शाहको भनाइ छ । चेतनामूलक कार्यक्रम आयोजना गर्दै होटलहरूलाई वातावरण संरक्षणप्रति प्रोत्साहन गर्ने यी दुई संस्थाको योजना छ । सेइड यूरोपेली युनियनको फण्डबाट नेपालमा सञ्चालित गैरसरकारी संस्था हो । यसले वातावरण संरक्षणका विविध गतिविधि गर्दै आएको छ ।

Comments