होटल थपिँदै, बेड घट्दै

July 24, 2014
    होटलले यथार्थ विवरण नदिन सक्छन् : सरकारी अधिकारी
- तथ्याङ्क सङ्कलनमा त्रुटि हुन सक्छ : व्यवसायी
साउन ७, काठमाडौं । सामान्यतया नयाँ होटल खुल्दा होटलको कोठा र बेड सङ्ख्या स्वतः विस्तार हुन्छ । तर, नेपालको सन्दर्भमा यो विपरीत पाइएको छ । विगत १० वर्षयताको तथ्याङ्कअनुसार नेपालमा सबै प्रकारको होटल सङ्ख्या केही बढे पनि बेड सङ्ख्यामा भने निकै कमी देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त तथ्याङ्कका आधारमा सरकारद्वारा हालै सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार २०६० सालमा नेपालमा तारे र तारेबाहेकका होटलको कूल सङ्ख्या ९ सय ६६ ओटा थियो । ती होटलमा कूल ३८ हजार २ सय ७० ओटा बेड थिए । त्यसको ठीक १० वर्षपछि (२०७० पुस) होटल सङ्ख्या बढेर १ हजार २६ पुगेको छ । तर, बेड सङ्ख्यामा झण्डै ४ हजारले कमी आएको छ । सो वर्ष बेड सङ्ख्या ३४ हजार ५ सय २३ रहेको छ । १ दशकयता तारे होटलको सङ्ख्यामा केही वृद्धि भए पनि बेड घटेको तथ्याङ्कले देखाउँछ । ठूलो क्षमताका होटल बन्द भएको अवस्थामा बाहेक यस्तो परिस्थिति उत्पन्न नहुनुपर्ने व्यवसायीहरूको प्रतिक्रिया छ ।

२०६२ सालमा नेपालका होटलमा समीक्षा अवधिमा सबैभन्दा बढी अर्थात् ३९ हजार ३ सय ८४ ओटा बेड थिए । त्यसबेला कुल होटल सङ्ख्या १ हजार ६ ओटा मात्र थियो । त्यसको १ वर्षमै होटल सङ्ख्यामा ठूलो कमी आएको देखिएको छ ।

२०६३ सालमा होटल सङ्ख्या ६ सय ७ ओटा र बेड सङ्ख्या २४ हजार २ सय ६० मा सीमित भएको देखिन्छ । त्यसयता होटल सङ्ख्या पुनः उकालो लागे पनि सो अनुपातमा बेड विस्तार भने भएको छैन ।

वातावरण संरक्षण नियमावली २०५४ अनुसार १ सय बेडभन्दा माथिका होटलले ‘वनक्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)’ र ५० देखि १ सय बेडसम्मका होटलले ‘प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)’ प्रक्रिया पूरा गर्नुपर्छ । नयाँ खुलेका होटलले सो प्रक्रियाबाट बच्न यथार्थ विवरण उपलब्ध नगराएको हुन सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका एक अधिकारीको आशङ्का छ ।

तारे होटलको सन्दर्भमा विगत २ वर्षयताको तथ्याङ्क सबैभन्दा रोचक छ । तथ्याङ्कअनुसार यस अवधिमा १० ओटा तारे होटल बढ्दा बेड सङ्ख्या १ सय ३५ ओटा मात्र बढेको छ । २०६९ साल पुससम्ममा तारे होटलको सङ्ख्या १ सय ७ र बेड सङ्ख्या ९ हजार ३ सय ७१ रहेकामा २०७० पुसमा आइपुग्दा होटल सङ्ख्या १ सय १७ ओटा र बेड सङ्ख्या ९ हजार ५ सय ६ मात्र रहेको छ । १० वर्षयता ब्लुस्टार, शेर्पाजस्ता केही होटल बन्द भए पनि मोफसलमा होटल खुल्ने क्रम बढेसँगै बेडमा पनि विस्तार हुनुपर्ने होटल एशोसिएशन अफ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । तथ्याङ्क सङ्कलनमा त्रुटि हुनुबाहेक होटल सङ्ख्या बढ्दा बेड घट्नु नपर्ने उनको तर्क छ । मन्त्रालयका अधिकारी भने होटलबाट प्राप्त विवरणका आधारमा नै मन्त्रालयले तथ्याङ्क अद्यावधिक गर्दै आएको बताउँछन् ।

Comments