July 8, 2014
असार २३, काठमाडौं । नेपालमा पर्वतारोहणसम्बन्धी औपचारिक प्रशिक्षण
प्राप्त गरी दक्ष जनशक्ति उत्पादन हुन थाले पनि विदेशी आरोहीले भने
परम्परागत रूपमा यस पेशामा संलग्न जनशक्ति मन पराउने गरेका छन् ।
पर्वतारोहणका लागि ‘अफ सिजन’ मानिने यस समय विभिन्न सङ्घसंस्थाले
पर्वतारोहणसम्बन्धी औपचारिक तालीम कार्यक्रम शुरू गरेका छन् । तर, विदेशी
आरोहीले भने अन्तरराष्ट्रियस्तरको तालीम लिएर लाइसेन्सप्राप्त जनशक्तिभन्दा
परम्परागत पेशा अँगालेका अनुभवी ‘माउण्टेन गाइड’लाई बढी प्राथमिकता दिने
गरेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाले बताए ।
काममा इमानदार, सोझा र बलिया हुने यस्ता गाइड अधिकांश अनपढ हुन्छन् ।
विदेशी आरोहीसँग छलकपट नगर्ने, अनावश्यक दुःख र दबाब नदिने भएकाले
परम्परागत रूपमा यस पेशामा लागेका शेर्पालाई माउण्टेन गाइडका रूपमा बढी मन
पराइने गरेको बताइन्छ ।
नेपालमा नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत सङ्घसंस्थाले पर्वतारोहणसम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्छन् । ती संस्थाले अन्तरराष्ट्रिय मापदण्डअनुसारको प्रशिक्षण दिई तालीम लिनेलाई लाइसेन्स प्रदान गर्छन् । तर, व्यवहारमा लाइसेन्स प्राप्तभन्दा परम्परागत रूपमा यस पेशामा लागेका शेर्पा तथा गाइडले बढी काम पाउने गरेको पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए । तालीमप्राप्त गाइडहरू पढेलेखेका हुने र परम्परागत गाइडसरह काममा खटिन अल्छी मान्ने गरेको बताइन्छ । बढी पारिश्रमिकका लागि अनावश्यक बार्गेनिङ, बन्दहडताललगायत गतिविधिमा संलग्नताको कारण देखाउँदै विदेशी आरोहीले ‘लाइसेन्स होल्डर’लाई लिन नमान्ने जानकारहरूको गुनासो छ ।
सगरमाथामा हिमपहिरो आएपछि गत वसन्त ऋतुमा सगरमाथा आरोहण अवरुद्ध भएको थियो । सो समय शेर्पाहरूले आरोहण गर्न नमानेको र झगडा गरेकोसम्मका खबर सार्वजनिक भएका थिए । शेर्पाहरूले सो खबरको खण्डन गरे पनि यसप्रकारका गतिविधिमा लाइसेन्सप्राप्त माउण्टेन गाइडको संलग्नता बढी देखिने गरेको पूर्वअध्यक्ष शेर्पाले बताए । अन्तरराष्ट्रिय मान्यताप्राप्त लाइसेन्स होल्डर भए पनि सामान्य मर्यादा ख्याल नगर्दा विदेशमा नेपाली शेर्पाबारे नकारात्मक सन्देश पैmलिरहेको उनको गुनासो छ ।
तर, पछिल्लो समय पर्वतारोहणसम्बन्धी प्रशिक्षणमा युवाको आकर्षण भने बढिरहेको सम्बन्धित संस्थाहरूको भनाइ छ । नेपाली गाइडको माग नेपाल मात्र नभई विदेशी हिमालमा समेत उच्च रहेको प्रतिष्ठानका प्रशासनिक प्रमुख उत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले १÷२ वर्षभित्रै पर्वतारोहणसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । हाल नेपालमा शैक्षिकभन्दा बढी प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपालमा अहिले बढीमा १० लाख रुपैयाँसम्म खर्च गर्दा मात्र दक्ष माउण्टेन गाइड उत्पादन हुन सक्ने बताइएको छ ।
Comments
Post a Comment