नेपाललाई ‘टी–२० अन्तरराष्ट्रिय’ मान्यता प्राप्त

अच्युत पुरी 
असार १४, काठमाडौं । नेपाल क्रिकेटको सबैभन्दा कान्छो संरचना (टी–२०) मा अन्तरराष्ट्रिय मान्यता प्राप्त मुलुक बनेको छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मूख्यालय अष्ट्रेलियाको मेलवर्नमा शनिवार सम्पन्न बोर्ड बैठकले नेपाललाई टी–२० अन्तरराष्ट्रियको मान्यता दिने निर्णय गरेको हो । नेपालसँगै नेदरल्याण्डलाई समेत टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रको मान्यता दिइएको छ ।
गत चैतमा बङ्गलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाल र नेदरल्याण्डले सो मान्यता पाएका हुन् । प्रतियोगिताको पहिलो चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त बङ्गलादेशसँग प्रतिस्पर्धी खेल पस्किएको थियो । 
आइसीसीको नयाँ निर्णयसँगै टी–२० अन्तरराष्ट्रिय मान्यता प्राप्त मुलुकको सङ्ख्या १८ पुगेको छ । टेष्ट खेल्ने १० मुलुकसहित ८ ओटा एशोसिएट राष्ट्रले सो मान्यता पाएका छन् । विश्वमा टी–२० संरचनाको क्रिकेटलाई प्राथमिकता दिने उद्देश्यसहित आइसीसीले नेपाल तथा नेदरल्याण्डलाई टी–२० अन्तरराष्ट्रियको मान्यता दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले बताए ।
‘यो एउटा राम्रो अबसर हो, उनले भने, ‘यसबाट कति फाइदा लिन सक्छौंं, नेपाली क्रिकेटको भविश्य त्यसमै निर्भर रहनेछ ।’ आजसम्म खेलाडीको एक्लो मिहेनतले धेरै उपलब्धी प्राप्त भइसकेको भन्दै उनले सो उपलब्धीको रक्षा गर्न सरोकारवाला सचेत हुनुपर्ने बताए ।
सन् १९८८ मा आइसीसीको सदस्यता प्राप्त गरेपछि नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको हो । तर, पछिल्लो दुई वर्षयता नेपाली क्रिकेटले प्राप्त गर्नुपर्ने अझ धेरै कुरा आन्तरिक विवादका कारण गुमाइसकेको सरोकारवालाहरू बताउँछन् ।
‘अन्तरराष्ट्रिय सङ्घसंस्था आफैले केही पनि दिँदैनन्, त्यसका लागि हाम्रो पहल चाहिन्छ,’ क्यानका पूर्व अध्यक्ष पाण्डेले भने, ‘हामी अबसरलाई उपयोग गर्न चुकिरहेका छौं ।’ यसअघि क्यानको आन्तरिक विवाद तथा अनियमितताका खबरसँगै आइसीसीले नेपाललाई कारवाही गर्न सक्ने सम्मको चेतावनी दिएको थियो । तर, मेलवर्न बैठकले सोबारे कुनै पनि निर्णय गरेको छैन । 
यसैबीच, आइसीसीले टी–२० अन्तरराष्ट्रिय खेलमा एक इनिङको समयलाई ८० मिनेटबाट बढाएर ८५ मिनेट कायम गर्ने निर्णय गरेको छ । सो निर्णय आगामी अक्टोवरबाट लागू हुने बताएको छ । नारायणस्वामी श्रीनिवास अध्यक्षमा नियुक्त भएपछि पहिलो उनको अध्यक्षतामा क्षतामा बोर्ड बैठक बसको थियो । 

Comments