ठमेल आसपास क्षेत्रलाई ‘बृहत् पर्यटकीय नगरी’को प्रस्ताव

March 19, 2014
 
 
  • पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्देश्य
  • पूर्वाधार निर्माणमा स्थानीयलाई सहभागी गराइने
चैत ४, काठमाडौं । काठमाडौं उपत्यकास्थित प्रमुख पर्यटकीय स्थललाई समेटी एकीकृत रूपमा विकास गर्ने उद्देश्यले निजीक्षेत्रको सक्रियतामा ‘बृहत् पर्यटकीय नगरी’को प्रस्ताव अघि सारिएको छ । ठमेललाई ‘पर्यटन नगरी’ घोषणा गर्दै त्यस आसपासका क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले सो प्रस्ताव गरिएको ठमेल पर्यटन विकास समितिले जानकारी दिएको छ । दीर्घकालमा पर्यटक आगमन बढ्दै जाने र ती पर्यटकलाई ठमेल क्षेत्रले मात्र थेग्न नसक्ने निष्कर्ष निकाल्दै सो प्रस्ताव गरिएको समितिका अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । हाल ठमेलको ५ किलोमिटरमात्र ‘पर्यटकीय क्षेत्र’ (टुरिष्ट हब) का रूपमा चिनिन्छ ।। त्यस क्षेत्रभित्र झण्डै १४ सय प्रकारका विभिन्न व्यवसाय सञ्चालनमा छन् । व्यवसाय विस्तारका साथै अन्य क्षेत्रको समेत समानान्तर विकासका लागि सो प्रस्ताव गरिएको थपलियाले बताए ।

पछिल्लो समय ठमेल क्षेत्रमा मात्र विभिन्न तारे होटलदेखि ठूला व्यापारिक भवन निर्माणाधीन अवस्थामा छन् । पर्यटकको अत्यधिक चाप हुने भएकाले त्यस क्षेत्रमा लगानी विस्तार गर्ने क्रम बढेको समितिको निष्कर्ष छ । ठमेल आसपासको क्षेत्रलाई समेटेर बृहत् पर्यटकीय नगरी घोषणा गर्न सके अन्य स्थानमा समेत व्यवसाय विस्तार हुने र पर्यटक आगमन बढाउन सकिने योजनासहित सो प्रस्ताव गरिएको बताइएको छ । समितिले सो प्रस्ताव नेपाल सरकारलाई समेत बुझाइसकेको छ । सोही प्रयोजनका लागि समितिले सम्बन्धित क्षेत्रका स्थानीय अगुवा तथा व्यवसायीसँग छलफल गरिरहेको बताएको छ । पर्यटकीय नगरी घोषणा तथा ठमेल क्षेत्रको समग्र विकासका लागि नवगठित सरकारको ध्यानाकर्षण गराउन सरोकारवालाबीच बृहत् छलफलको समेत तयारी भइरहेको अध्यक्ष थपलियाले जानकारी दिए ।

हबमा गल्कोपाखा, नयाँ बसपार्क, बालाजु, स्वयम्भूसहित पुराना, भित्री शहरी क्षेत्र समेट्न सक्ने प्रस्ताव गरिएको छ । समितिले ती क्षेत्रमा रहेका धार्मिक सम्पदाले धार्मिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ । स्थानीय उपभोक्ताका लागि पर्याप्त होटल तथा लजको सुविधा उपलब्ध ती क्षेत्रमा स्तरीय होटल तथा अन्य संरचना निर्माण हुँदै जाने निजीक्षेत्रको अपेक्षा छ । पर्यटकीय नगरीका रूपमा विकास गर्दै ती क्षेत्रको मौलिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्य राखिएको समितिले बताएको छ । समितिद्वारा पर्यटकीय नगरीका रूपमा प्रस्तावित कमलपोखरी, दरबारमार्ग, लैनचौरजस्ता स्थानमा यसअघि नै ठूला होटल र व्यापारिक भवन निर्माण भई सञ्चालनमा छन् । एकीकृत विकास गर्दा ती क्षेत्रबाट स्थानीय कर सङ्कलन, विकास निर्माणजस्ता पक्षमा स्थानीयलाई प्रत्यक्ष सहभागी गराउन सकिने समितिले बताएको छ । स्थानीय प्रशासनले ठमेल क्षेत्रबाट मात्र हाल वार्षिक रू. २२ करोड ५० लाख कर सङ्कलन गर्दै आएको छ । हबका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ७० प्रतिशत सहयोग गरे बाँकी स्थानीयबाट सङ्कलन गर्न सकिने समितिको भनाइ छ ।

Comments