March 30, 2014
- अब सबै ‘होम–स्टे’ वेबसाइटमा
- नेपाली गाउँसम्म पुग्ने विदेशी घटे
ग्रामीण पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट बोर्ड तथा सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग नगरेको आरोप लागिरहेका बेला मञ्चले आन्तरिक बजारमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । ‘पछिल्लो समय ग्रामीण पर्यटन भनेकै ‘होम–स्टे’ हो भन्ने अवधारणा विकास भएको छ,’ लामिछानेले भने, ‘तर, हस्पिटालिटी सेवा (होटल, रिसोर्ट) नपुगेका ग्रामीण इलाकामा पर्यटकको सुविधाका लागि अत्यावश्यक बन्दै गएको ‘होम–स्टे’ पर्यटक आकर्षित गर्ने एक माध्यम हो भन्ने प्रमाणित गर्न यसको प्रचार–प्रसार बढाउन लागेका हौं ।’ यो संस्था विभिन्न ट्राभल एण्ड टूर व्यवसायमा संलग्न व्यवसायीबाट सञ्चालित छ ।
मन्त्रालयअन्तर्गत पर्यटन उद्योग महाशाखाका अनुसार हालसम्म नेपालमा १ सय ९४ ओटा होम–स्टे दर्ता प्रक्रियामा आइसकेका छन् । २०६७ सालबाट नेपालमा होम–स्टे दर्ता शुरू भएको हो । व्यवसायीहरूले भने ग्रामीण पर्यटनको प्रवद्र्धन नहुँदा होम–स्टेप्रति आकर्षण घट्दै गएको बताएका छन् । ग्रामीण पर्यटन विकास महासङ्घका अध्यक्ष पदमबहादुर केसीका अनुसार पर्यटकीय गाउँ घोषित कतिपय स्थानमा पर्यटक पुग्न नसक्दा कतिपयले पेशा परिवर्तन गर्न थालिसकेका छन् । ‘एकातिर स्थानीय संस्कृति, रीतिरिवाज र सम्पदा लोप हुँदै जानु र अर्कोतिर भएका सम्पदाको पनि प्रचारप्रसार नहुँदा गाउँसम्म पर्यटक पुग्न छाडेका छन्,’ केसीले भने ।
सरकारी निकाय, बोर्ड तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले नेपाली पर्यटनको प्रमुख आधार ग्रामीण भेगलाई माने पनि पछिल्लो समय ग्रामीण भेगमा विदेशी पर्यटकको आगमन भने घटेको छ । महासङ्घका अनुसार अहिले पर्यटकीय गतिविधिका लागि ग्रामीण इलाकामा पुग्नेमध्ये ७५ प्रतिशत स्वदेशी छन् । ‘सन् १९९७ पछिको केही वर्ष ग्रामीण पर्यटन प्रारम्भ भएका सिरुबारीलगायत केही स्थानमा ७५ प्रतिशतभन्दा बढी विदेशी पुग्थे,’ अध्यक्ष केसीले भने, ‘आज परिस्थिति ठीक उल्टो भएको छ ।’ अन्तरराष्ट्रियस्तरमा नेपाली पर्यटन प्रवद्र्धनको जिम्मा पाएका निकायहरूले ग्रामीण क्षेत्रको महत्व विदेशीसामु प्रस्ट्याउन नसक्दा सो भेगमा विदेशी पर्यटक आकर्षित हुन नसकेको सरोकारवालाहरू बताउँछन् । नेपालका २४ जिल्लामा विस्तार ग्रामीण पर्यटन कार्यक्रमअन्तर्गत हाल झण्डै ९ सयओटा होम–स्टे सञ्चालनमा रहेको अनुमान छ ।
Comments
Post a Comment