आरोहण शुरू नभएका हिमालको प्रवद्र्धनमा निजी लगानी आह्वान

निजीक्षेत्रका स्वदेशी तथा विदेशी लगानीकर्ताले प्रस्ताव पेश गर्न सक्ने 
March 18, 2014
 
चैत ३, काठमाडौं । पर्यटकीय गतिविधि विस्तारका लागि नयाँ गन्तव्यको खोजी थालेको सरकारले ती क्षेत्रमा निजी लगानी आकर्षित गर्ने भएको छ । सोही योजनाअन्तर्गत अहिले प्रयोगमा नरहेका सयौं हिमाल तथा चुचुरोको विकासमा निजी लगानी खुला गर्नेबारे छलफल तथा प्रस्ताव आह्वान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

हाल आरोहण शुरू भइनसकेका हिमालमा पर्यटन प्रर्वद्धनका गतिविधिसम्बन्धी प्रस्ताव पेश गर्न निजीक्षेत्रलाई आह्वान गरिएको मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । नयाँ गन्तव्यमा निजीक्षेत्र आकर्षित हुन सक्ने सम्भावनापछि यस प्रकारको प्रस्ताव माग गरिएको उनले बताए । सरकारले आरोहण खुला भइसकेका तर पर्यटकीय गतिविधि शुरू नभएका हिमालको विकासमा निजीक्षेत्रसँग सहकार्य गर्ने योजना बनाएको हो ।

सम्भावित क्षेत्रमा पर्यटकका लागि आवश्यक सुविधाका लागि होटल, रिसोर्टलगायत ‘हस्पिटालिटी व्यवसाय’मा निजीक्षेत्र आकर्षित हुनसक्ने सरकारको अपेक्षा छ । यसैगरी टूर तथा ट्रेकिङ कम्पनी, यातायात तथा हवाई सेवा, साहसिक पर्यटकीय गतिविधिजस्ता व्यवसायले पनि नयाँ गन्तव्यमा सेवा विस्तारबारे प्रस्ताव पेश गर्न सक्नेछन् । सापकोटाका अनुसार ती स्थानमा निजीक्षेत्रका स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । ‘निजी लगानी खुला गर्ने गरी प्रस्ताव आह्वानपछि एक प्रकारको वातावरण बन्नेछ,’ उनले भने, ‘यसले नयाँ गन्तव्य विस्तारका लागि अवधारणा निर्माण गर्न सहयोग पुग्नेछ ।’ प्रारम्भिक चरणको छलफलपछि आगामी रणनीति तय गर्ने सरकारी योजना छ । सरकारले केही समयअघि आरोहण खुला गरेका ३ सयभन्दा बढी हिमालमध्ये अधिकांशमा अझै पनि पर्यटकीय गतिविधि प्रारम्भ हुन सकेका छैनन् । ती स्थानमा पर्यटक पुर्‍याउँदै थप पर्यटक आकर्षित गर्ने योजना सरकारको छ ।

सरकारले पछिल्लो समय हिमाल आरोहणमा सर्वसाधारण नेपालीको सहज पहुँचका लागि भन्दै आरोहण दस्तुरबापत लाग्ने शुल्कमा अत्यधिक कटौती गरेको छ । नयाँ गन्तव्यमा समेत बढीभन्दा बढी निजीक्षेत्रलाई सहभागी गराउँदै आन्तरिक पर्यटक आकर्षित गर्ने योजनासहित लगानीका लागि प्रस्ताव आह्वान गरिएको मन्त्रालयको भनाइ छ ।

सगरमाथालगायत चर्चित र आकर्षक हिमालमा आरोहीको चाप निरन्तर बढ्दै गएको तर, नयाँ गन्तव्यमा पर्यटक शून्य प्रायः भएपछि सरकारले ती स्थानमा निजीक्षेत्रलाई आकर्षित गर्ने सोच बनाइएको बताइएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले सरकारले हाल मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका कुनै पनि हिमाल आरोहणमा दस्तुर लिँदैन ।

Comments