नेपाल टी–२० विश्वकपमा

November 28, 2013
नेपाली क्रिकेटको ऐतिहासिक सफलता : रेग्मी खेलाडीलाई जनही १० लाख पुरस्कार सिफारिश

मङ्सिर १२, काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेटको १७ वर्षे इतिहासमा नेपाल पहिलोपटक विश्वकप प्रतियोगिताका लागि छानिएको छ । इतिहासकै सर्वाधिक ठूलो उपलब्धि प्राप्त गर्ने क्रममा नेपालले बुधवार टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा हङ्कङविरुद्ध ५ विकेटको महत्वपूर्ण जित दर्ता गर्‍यो । जितसँगै नेपाल सन् २०१४ मार्च १६ देखि बङ्गलादेशमा हुने टी–२० विश्वकपमा एशोसिएट्स सदस्यका रूपमा छानिएको हो । हरेक २ वर्षमा आयोजना हुने सो प्रतियोगिताका लागि यूएईको अबुधाबीमा जारी छनोट प्रतियोगिताको क्वाटर फाइनलमा हङकङविरुद्ध टस जितेर नेपालले पहिले ‘फिल्डिङ’ गर्ने निर्णय गरेको थियो । कप्तानको सो निर्णयलाई युवा बलर जितेन्द्र मुखिया र अविनाश कर्णले सही साबित गरिदिए । तर, नेपालको जितमा भने शरद भेष्वाकर नायक बने ।
शेख जायद क्रिकेट मैदानमा हङ्कङद्वारा प्रस्तुत १ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । कसिलो बलिङ गरेका हसिब अमजादको पहिलो २ बलबाट भेष्वाकरले १० रन जुटाएपछि मात्र नेपाल जिततर्फ उन्मुख भएको हो । भेष्वाकरले अन्तिम बलमा १ रन जोडेर नेपाललाई विश्वकपको टिकट दिलाए । ७ बलको सामना गरेका उनी १३ रन बनाउँदै अविजित रहे । म्यान अफ दि प्लेयर घोषित कप्तान पारस खड्काले ३९ बलमा ४६ रन बनाउँदै ‘इनिङ’लाई सम्हालेका थिए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३०, सागर पुनले २२ तथा सुभाष खकुरेलले १६ रनको योगदान दिए । वसन्त भण्डारीले ७ रन बनाए । प्रदीप ऐरी ३ रनमा अविजित रहे । नेपालले ५ विकेट मात्र गुमायो ।
यसअघि हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि वाकास वर्कात, निजाकत खान र तन्विर अफ्जलले समान २५/२५ रन जोडे । हङकङलाई मध्यम योगफलमा समेट्ने क्रममा मुखियाले ४ ओभरमा ३२ रन खर्चंदै ३ विकेट झारेका थिए । समान ओभरमा २८ रन दिएका कर्णले २ विकेट लिए । कप्तान खड्काको नाममा एक विकेट रह्यो ।
समूह चरणमा ७ खेलबाट ४ जितसँगै तेस्रो स्थानमा रहेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले शुक्रवार अफगानिस्तानसँग खोल्नेछ । जितपछि कप्तान खड्काले नेपाल विश्वका बलिया टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रतिक्रिया दिए । टोलीको मेहनतले ठूलो उपलब्धि हासिल भएको उनको भनाइ छ ।   
नेपालको विश्वकप यात्रा
इण्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) र एशियाली क्रिकेट काउन्सिल (एसीसी)बाट पहिलोपटक सन् १९९६ मा मान्यता पाएको नेपाल १७ वर्षकै यात्रामा आईसीसीको सर्वोच्च प्रतियोगितामध्ये एक आईसीसी टी–ट्वाण्टी विश्वकप खेल्न योग्य बनेको छ । सोही वर्ष मलेसियामा सम्पन्न ‘एसीसी ट्रफी’ क्रिकेट प्रतियोगिताबाट नेपाल अन्तरराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको हो । त्यसयता नेपालले एसीसी ट्रफी, एसीसी ट्वाण्टी–२० कप, आईसीसी ट्रफी, आईसीसी इण्टरनेशनल कपलगायत प्रतियोगितामा भाग लिइसकेको छ । सन् २०१३ मा वल्र्ड क्रिकेट लीग डिभिजन ३ को विजेता बन्दै डिभिजन २ मा उक्लिएको नेपालले दुवै संरचनाको विश्ककप छनोट खेल्ने बाटो निर्माण गरेको थियो । त्यसमध्ये एउटा उद्देश्य पूरा गरिसकेको छ । एक दिवसीय विश्वकप प्रतियोगितामा सहभागिताका लागि भने आगामी वर्ष जनवरीमा न्यूजिल्याण्डमा आयोजना हुने छनोट प्रतियोगिता खेल्दै छ ।
आईसीसीको नयाँ नियमअनुसार विश्वकप प्रतियोगितामा उपाधिका लागि १६ राष्ट्र भिड्नेछन् । तर, त्यसअघि टी–२० विश्वकप छनोट प्रतियोगिताबाट छानिएका ६ ओटा एशोसिएट राष्ट्रले आयोजक बङ्गलादेश र जिम्बाबेसँग दुई समूहमा ‘प्रि–क्वालिफाइङ’ प्रतिस्पर्धा गर्नुपर्नेछ । ४/४ टोली संलग्न ती समूहको शीर्षस्थानमा रहने एक/एक टोलीले टेष्ट मान्यताप्राप्त ८ टोली सम्मिलित समूहका सदस्यसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
निजीक्षेत्रबाट पुरस्कार
राष्ट्रिय खेलकुद परिषद्ले विश्वकपमा छनोट हुन सफल नेपाली टोलीका हरेक सदस्यलाई जनही १०/१० लाख रुपैयाँ पुरस्कार प्रदान गर्न सरकारसमक्ष सिफारिश गरेको छ । उता, नेपाली टोलीका हरेक सदस्यलाई निजीक्षेत्रका आठओटा कम्पनीले व्यक्तिगत प्रायोजन गर्ने सुनिश्चित भएको छ । सोअनुसार हरेक खेलाडीले २ वर्षसम्म प्रतिमहीना १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, छनोट प्रतियोगिताका लागि प्रस्थान गर्नुअघि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले छनोट भए टोलीको उत्कृष्ट खेलाडीलाई कार उपहार दिने घोषणा गरेका थिए । पञ्चकन्या समूहका प्रदीपकुमार श्रेष्ठले पनि छनोट भए पुरस्कार दिने घोषणा गरिसकेका छन् । मोडल भिसा कन्सल्टेन्सीले समूह चरणमा ‘म्यान अफ दि म्याच’ घोषित हुने सदस्यलाई रू. २५ हजार दिने घोषणा गरिसकेको छ । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाली टोलीका हरेक सदस्यलाई जनही १०/१० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

क्रिकेट टोलीलाई बधाईको ओइरो
मङ्सिर १२, काठमाडौं (अस) । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले क्रिकेटको सबैभन्दा सानो संरचनाको विश्वकपका लागि छनोट नेपाली टोलीका सदस्यलाई बधाई दिएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै उनले यो नेपाली क्रिकेटका लागि ऐतिहासिक सफलता भएको बताए । विश्वसामु नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा बढेको भन्दै उनले आगामी दिनमा क्रिकेट टोलीको सफलताको कामना पनि गरेका छन् ।
उता, एमाले अध्यक्ष झलनाथ खनालले पनि खेलकुदमार्फत मुलुकको शिर उँचो बनाउने काम गरेको भन्दै नेपाली टोलीका सदस्यलाई बधाई दिएका छन् । ‘पारस खड्काको कप्तानीले दिएको सुखद जितले आमनेपालीलाई खुशी बनाएको छ । आगामी वर्ष हुने विश्वकपमा पनि यो खुशीले निरन्तरता पाउने विश्वास लिएको छु,’ खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै नेपाली खेलकुदमा नयाँ अध्याय शुरू भएको बताएका छन् । उनले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, शुभचिन्तक तथा खेलप्रेमीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
यस प्रतियोगिताबाट अझ बढी सफलता पाउन सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, युवानेता गगन थापा, अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापालगायतले पनि नेपाली टोलीको सफलतामा बधाई दिएका छन् ।

Comments