स्पोर्ट्स साइन्सको उच्च शिक्षा नेपालबाटै

August 28, 2013

भारतीय क्रिकेटर सचिन तेन्दुलकर आफ्नो स्पोटर्स करीअरको प्रारम्भिक दिनमा ‘तेज बलर’ बन्न चाहन्थे । र, उनी त्यसैअनुसार अभ्यास पनि गर्थे । तर,  अष्ट्रेलियाली तेज बलर डेनिस लीको प्रशिक्षणपछि उनको यात्रा मोडियो । लीले तेन्दुलकरले ब्याटिङमा राम्रो गर्न सक्ने भएकाले त्यसमै ध्यान केन्द्रित गर्न सल्लाह दिए । नभन्दै आज तेन्दुलकर विश्वकै महान ब्याट्सम्यान बन्न सफल भए । खेलकुदमा लाग्ने व्यक्तिले पढ्नुपर्दैन, नियमित अभ्यासले नै उसलाई अभ्यस्त गराउँछ भन्ने मान्यता अद्यापि छ । त्यसैले, विशेषगरी नेपालमा व्यक्तिले जुन खेलमा इच्छा गर्‍यो, त्यसमै लाग्ने गरेको पाइन्छ । तर, विदेशको अभ्यासमा व्यक्तिले चाहेर मात्र ऊ कुनै पनि खेलमा लाग्न पाउँदैन । उसले खेल विज्ञान पढेको र जानकार व्यक्तिको रोहवरमा केही समय बिताउनुपर्छ । खेल विज्ञान पढेको व्यक्तिले सिफारिश गरेपछि मात्र खेलाडीले सम्बन्धित खेलबाट आफ्नो करीअर प्रारम्भ गर्न सक्छ । पछिल्लो समय नेपालमा पनि खेलकुद गतिविधिमा वृद्धि हुँदै गएपछि त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा खेल विज्ञान विषय भित्र्याउन लागेको छ ।
स्नातकोत्तर तहमा नयाँ विषयका रूपमा स्पोटर्स साइन्स थप गर्न लागिएको त्रिविअन्तर्गतको मानविकी तथा समाजशास्त्र सङ्कायका डीन डा.चिन्तामणि पोख्रेलले जानकारी दिए । ‘यस विषयले व्यक्तिको शारीरिक तथा मानसिक क्षमताको जाँच गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ,’ उनले भने । खेल विज्ञान अध्ययन गरेका व्यक्तिले विद्यालयस्तरदेखि नै विद्यार्थीको शारीरिक तथा मानसिक क्षमताको जाँच र पहिचान गर्न सक्छन् । विद्यार्थीको शारीरिक बनोटले कुन खेललाई बढी सहयोग गर्छ भन्ने जान्न पनि स्पोटर्स साइन्स पढ्नुपर्छ । रहरले मात्र खेलाडी बन्ने परिपाटीलाई परिवर्तन गर्दै अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्न यस विषयले सहयोग गर्ने विश्वविद्यालयको विश्वास छ ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हालै ‘राष्ट्रिय स्पोटर्स साइन्स अफ नेपाल’ गठन गरिएको छ । यस संस्थामा विदेशका विभिन्न विश्वविद्यालयबाट स्पोर्ट्स साइन्समा उच्च अध्ययन गरेका व्यक्ति नियुक्त भएका छन् । डीन डा. पोख्रेलका अनुसार नेपालमा पछिल्लो समय स्पोटर्स साइन्स अध्ययन गरेका जनशक्तिको माग बढ्दो छ । तर, यसको उच्च शिक्षा अध्ययन गर्न विदेशमै जानुपर्ने बाध्यता छ । सोही बाध्यता हटाउन त्रिविले नयाँ विषयका रूपमा खेल विज्ञान थप गरेको उनको भनाइ छ । यो विषय विदेशको तुलनामा सस्तो शुल्कमा अध्ययन गर्न सकिन्छ । तर, त्रिविद्वारा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गतका अन्य विषयका तुलनामा भने यो केही महँगो छ । त्रिविका अनुसार यस विषयको अध्ययनका लागि रू. १ लाखभन्दा बढी शुल्क लाग्नेछ ।
कीर्तिपुरमा छुट्टै विभाग गठन गरेर सञ्चालनमा ल्याउन लागिएको खेलविज्ञान स्नातकोत्तर तहको दुईवर्षे कार्यक्रम हो । सेमेष्टर प्रणालीमा सञ्चालन हुने  यस विषयलाई स्वास्थ्य विज्ञान, मनोविज्ञानलगायत विषयका दक्ष प्राध्यापकमार्फत अध्यापन गराउने त्रिविको योजना छ । मानसिक र शारीरिक विज्ञान खेल विज्ञानका महत्वपूर्ण अङ्ग हुन् । यस विषयले ‘बायोमेकानिक्स (खेलाडीको हरेक शारीरिक मूभको अध्ययन गर्ने)’ मनोविज्ञान (मानसिक अवस्थितिबारे अध्ययन गर्ने)’जस्ता पक्षमा जोड दिन्छ । यस विषयले स्वास्थ्य, शारीरिक शिक्षा, व्यायाम विज्ञान र खेल प्रशासनबारे जानकार गराउँछ । यो विषय अध्ययन गरेका जनशक्तिले स्वास्थ्य समस्या, शारीरिक गतिविधि र खेलकुदलगायत क्षेत्रमा ‘रिसर्च पर्सन’का रूपमा काम गर्न सक्छन् । खेल विज्ञान विषय समावेश विद्यालय तथा कलेजका लागि सम्बन्धित विषय अध्ययन गरेका जनशक्ति नै आवश्यक पर्छ । विभिन्न खेलसँग सम्बन्धित एकेडेमीमा पनि प्रशिक्षकका रूपमा यो विषय अध्ययन गरेका जनशक्तिले काम गर्न सक्छन् । खेल विज्ञान अध्ययन गरेका जनशक्तिले विभिन्न स्तरका टोलीको प्रशिक्षक सदस्यका रूपमा पनि काम गर्न सक्ने त्रिविको भनाइ छ ।
त्रिविले तयार पारिरहेको पाठ्यक्रमअनुसार स्पोर्ट्स साइन्समा प्रयोगात्मक र सैद्धान्तिक दुवै अध्ययन हुनेछ । यस विषयको प्रयोगात्मक तथा सैद्धान्तिक कार्यक्रमलाई ५०/५० प्रतिशत पूर्णाङ्क कायम गर्ने तयारी भइरहेको बताइएको छ । यस विषयको अध्ययनका लागि आवश्यक न्यूनतम योग्यता र कोटा निर्धारणको काम जारी रहेको डीन डा.पोख्रेलले बताए । नेपालमा उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तहमा खेल विज्ञानको शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।

Comments