फूटबल’ मा कप्तानी‘गोल्फ’बाट स्टार

July 5, 2013

खेलाडीका रुपमा श्रेष्ठ
प्रदीपकुमार श्रेष्ठ
उपाध्यक्ष
कन्फिडेरेशन अफ एशिया प्यासिफिक चेम्बर्स
अफ कमर्श एण्ड इण्डष्ट्री (क्यासी)

केही महीनाअघि काठमाडौंमा सम्पन्न ‘कन्फिडेरेशन अफ एशिया प्यासिफिक चेम्बर्स अफ कमर्श एण्ड इण्डष्ट्री (क्यासी)’ सम्मेलनको नेतृत्व गरेका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले सम्मेलनको समापनका अवसरमा गोल्फ प्रतियोगिता आयोजना गरे । सहभागीबीच आपसी सम्बन्ध विस्तार तथा सम्मेलनमा सहभागीहरूको भ्रमण अविस्मरणीय गराउन प्रतियोगिता आयोजना गरेको श्रेष्ठ बताउँछन् । प्रतियोगितामा १५ देशका ८० व्यवसायी सहभागी थिए । हरेक व्यावसायिक जमघटमा केही न केही रचनात्मक कार्य गर्न रुचाउने श्रेष्ठ आफूलाई एक व्यावसायिक व्यक्तिभन्दा पहिला खेलाडीका रूपमा चिनाउन मन पराउँछन् । नेपाल गोल्फ एशोसिएशनका पूर्वअध्यक्ष उनी बाल्यकालदेखि नै विभिन्न खेलकुद गतिविधिमा सक्रिय छन् ।

विद्यालयस्तरदेखि क्षेत्रीय टोलीको सदस्यसमेत बनी खेलिसकेका श्रेष्ठ फूटबलमा समेत राम्रो दक्षता राख्छन् । विद्यालय, क्षेत्रस्तर तथा विश्वविद्यालयमा पनि लामो समय फूटबल टोलीको कप्तानको जिम्मेवारी सम्हालेका छन् उनले । किशोर तथा युवावस्थामा राम्रो खेलाडीका रूपमा परिचित श्रेष्ठको पढाइ मध्यमस्तरको थियो ।‘म विशुद्ध अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा बढी संलग्न हुन्थेँ,’अध्ययनकालीन समयको स्मरण गर्दै उनी भन्छन् । दाजुहरूको प्रेरणा र साथीभाइको सङ्गतले उनी खेलकुदतर्फ आकर्षित भए ।

‘खेलले हारजितलाई सहर्ष स्वीकार गर्नेमात्र होइन, मैदानमा उत्रनुको अर्थ जित्नकै लागि हो भन्ने भावनाको पनि विकास गराउँछ,’उनी भन्छन् ।‘व्यावसायिक मैदानमा उत्रन पनि आँट चाहिन्छ । कुनै प्रतियोगितामा भाग लिइसकेको मान्छे व्यवसायमा आउँदा सजिलै जोखीमको सामना गर्न सक्छ,’उनले अनुभव बाँडे, ‘खेलले एकपटकको असफलतामै हार खानु हुँदैन भन्ने भावनाको विकास पनि गराउँछ ।’

१० वर्षको उमेरदेखि विभिन्न खेलकुद प्रतियोगितामा भाग लिँदै आएका श्रेष्ठ अहिले पनि उही जोशका साथ मैदानमा उत्रन्छन् । तर, हाल उनको विधा फेरिएको छ । फूटबलबाट शुरू भएको उनको खेलकुद यात्रा हाल गोल्फमा आएर अघि बढ्दै छ । उनले पढेको विद्यालयमा क्षमताअनुसार हरेकले कुनै न कुनै क्रियाकलापमा भाग लिनैपर्थ्यो । यस बाध्यकारी व्यवस्थाले राम्रो खेलाडीका रूपमा आफूलाई विकास गर्न सहयोग गरेको उनी बताउँछन् । खेललाई ‘नसा’का रूपमा व्याख्या गर्ने श्रेष्ठ कैयौंपटक विद्यालय तथा कलेजबाट भागेर प्रतियोगितामा सहभागी भएका छन् । घर तथा विद्यालयमा कसैलाई थाहा नदिई खेल्न गई जितेर आउँदाका क्षण अझै पनि ताजै रहेको उनी सम्झन्छन् ।

दार्जिलिङस्थित नर्थ प्वाइण्ट कलेजबाट स्नातकसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ आफू पढ्ने कलेजमा ‘फूटबल कप्तान’को भूमिकामा थिए । उनका अनुसार सन् १९८१ ताका दार्जिलिङमा फूटबल लोकप्रिय थियो । त्यस समय हरेक साल ‘अर्ली कप’ र ‘जशोधरा कप’ गरी दुईओटा प्रतियोगिता आयोजना हुन्थे । भारतका प्रतिष्ठित क्लब सहभागी खेलमा ती दुवै कप सो वर्ष श्रेष्ठको नेतृत्वमा नर्थ प्वाइण्टले जितेको थियो । उक्त उपाधिलाई उनी आफ्नो खेलजीवनको सबैभन्दा गौरवशाली सफलताका रूपमा व्याख्या गर्छन् । झापाको शनिश्चरेमा ‘डाइनामाइट ११’ क्लब खडा गरी लामो समय फूटबल खेलेका श्रेष्ठले सो टोलीको पनि नेतृत्व गरे । करीब ३/४ वर्षको अवधिमा डाइनामाइट ११ ले झण्डै एक दर्जन उपाधि जितेको उनी बताउँछन् । 

पञ्चकन्या समूहका प्रबन्ध निर्देशक श्रेष्ठ व्यवसायमा बढी व्यस्त हुन थालेपछि भने फूटबल खेलबाट क्रमशः टाढा हुँदै गए ।‘एक त समय दिन नपाइने अर्कोतर्फ, शारीरिक रूपमा पनि बढी कसरत गर्नुपर्ने भएकाले फूटबल खेल्न कम गरेँ,’उनले भने । त्यसपछि भने ‘इण्डोर गेम’का रूपमा परिचित ‘स्क्वास’तर्फ उनको आकर्षण बढ्यो । पछिल्लो समय मात्र नेपाल भित्रिएको नौलो खेलबारे कौतूहलता मेटाउन स्क्वास खेल्न थालेको उनले बताए ।

पछिल्लो डेढ दशकयता भने श्रेष्ठ हरेक बिहान निरन्तर गोल्फ कोर्समा पुग्छन् । गोल्फले श्रेष्ठलाई सबैभन्दा लोकप्रिय र सफल खेलाडीका रूपमा प्रमाणित गरिदियो । श्रेष्ठले गोल्फमा दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय उपाधि हात पारिसकेका छन् । रोटरी क्लब अफ काष्ठमण्डपको पूर्वसभापति श्रेष्ठले अन्तरराष्ट्रिय रोटरीद्वारा आयोजित अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा भाग लिई उपाधि पनि जितेका छन् ।

सामान्यतया ‘बिजनेश म्यान गेम’का रूपमा परिचित गोल्फले व्यावसायिक जीवनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको अनुभव छ । कुनै न कुनै पेशा–व्यवसायमा संलग्न व्यक्तित्वको जमघट र अनुभव साटासाटाको बहानाका रूपमा गोल्फ खेल परिणत हुँदै गएको उनी बताउँछन् । हरियो स्थानमा खेलिने गोल्फ स्वास्थ्यका दृष्टिबाट पनि उत्कृष्ट रहेको उनको विश्लेषण छ ।

हरेक व्यवसायी कुनै न कुनै खेलमा संलग्न हुनुपर्ने उनको सुझाव छ । श्रेष्ठ आफ्ना कर्मचारी तथा परिवारका सदस्यलाई पनि खेलकुद गतिविधिमा अग्रसर हुन प्रोत्साहन गर्छन् । थुप्रै व्यावसायिक संस्थाको नेतृत्व सम्हालिरहेका उनी भन्छन्, ‘खेलले मानिसलाई चौतर्फी फाइदा पुर्‍याउँछ ।’

Comments